गुणस्तरहिन प्याकेजिङ्गका कारण नुन व्यापारी मारमा

भद्रपुर/साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्रीबितरण गरिँदै आएको आयोडिनयुक्त नुनको प्याकेटलाई गुणस्तरहिन प्याकेजिङ्ग गरेका कारण व्यापारीहरु मारमा परेका छन् ।
व्यापारीहरुले बिक्रीका लागि ल्याइएको आयोनुनको वोराभित्रका अधिकांश प्याकेटहरु फुटेका कारण खुला नुनको मूल्यमा बिक्री गर्नुपर्दा मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् । डिलरले थोक बिक्रेतालाई प्रतिप्याकेट ६ सय ७५ रुपैयाँका दरले दिएको नुनलाई प्याकेट फुटेपश्चात प्रतिकिलो कम मूल्यमा खुला नुनको रुपमा विक्री गर्नुपरेको अग्नि ट्रेड एण्ड सप्लायर्स चन्द्रगढीका व्यापारी भेषराज नेपाल बताउँछन् । उनले फुटेको प्याकेटको थुप्रो देखाउँदै भने ‘कम्पनीको लापरवाहीका कारण आयोडिनरहित नुनलाई घाटा खाएर बिक्री गर्नुपरिहेको छ ।’ फुटेको प्याकेट ग्राहकलाई बेच्न नमिल्ने र फिर्ता पनि नहुने भएकोले घाटै खाएर भएपनि गाईवस्तुले खाने नुनकोरुपमा बेच्न वाध्य भएको उनले वताए ।
फुटेको प्याकेटका कारण नुनको गुणस्तर घट्न गइ सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको भएपनि बजार अनुगमन गर्नुपर्ने जिम्मेवारी लिएका जिल्लास्थित वजार अनुगमन समिति मौन रहनु रहस्यमय भएको उपभोक्ताको गुनासो रहेको छ । वजारमा वेलावेला अनुगमनको झ्याली वजाउने घरेलु तथा साना उद्योग कार्यालय झापाले चासो नदिएकोमा झापाका उपभोक्ता आक्रोस समेत व्यक्त गर्दछन् ।
यस विषयमा उपभोक्ता मञ्च झापाका अध्यक्ष राजेन्द्र घिमिरे दुई वर्षदेखि खानेनुनको अनुगमन नभएको बताउँछन् । यसको बजार अनुगमनका लागि सरोकारवाला निकायलाई अनुरोध र गर्ने र पहल गर्ने काम भइरहेको मञ्चका अध्यक्ष घिमिरे बताउँछन् ।
जिल्ला वजार अनुगमन समितिका सदस्य सचिव रहेको घरेलु तथा साना उद्योग झापाका प्रमुख गोपीप्रसाद घिमिरेले खानेनुनको वजार अनुगमन नभएको स्वीकार गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्रीबितरण गर्दै आएको नुनको गुणस्तर परीक्षण गरेर कारवाही गर्न नसकिए पनि समस्या देखिए यस विषयमा सचेत गराउन सकिने बताउँछन् ।
उता साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल, क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा गुणस्तरहीन प्याकेजिङ्ग नभएको दावी गर्छन् । कर्पोरेशनका क्षेत्रीय प्रमुख झा व्यापारीहरुको लापरवाहीले र लोडअनलोड गर्दा हुकिङको प्रयोगले प्याकेट च्यातिएको हुनसक्ने बताउँछन् । यदि कर्पोरेशनको कारण प्याकेट फुटेको प्रमाण पुगे त्यस्तो सामान व्यापारीले फिर्ता गराउन सक्ने र त्यसको सट्टा भर्ना दिने प्रमुख झाले प्रष्टीकरण दिए ।

0 प्रतिकृया:

Post a Comment