एमाले गुटको बिल्ला, अधिवेशन सम्पन्न

टंक पाठक
 नेकपा एमालेको नवौं अधिवेशन सकिएको छ । केन्द्रीय अध्यक्षमा केपी शर्मा ओलीले विजय हात पारे भने अन्य पदका लागि खासै कुनै एक प्यानल नभई मिश्रित रुपमा विजय भएका छन् । अधिवेशनको दुई–तीन महिना अगाडिदेखि नै नीति र नेतृत्वको लागि रातदिन छलफल मात्रै होइन, रस्साकस्सी गर्दै थुतुनो चलाउन कसैले पनि बाँकी राखेनन् । खासमा माधवकुमार नेपाल र केपी शर्मा ओली नै एक अर्कामा गाली गलौजका नराम्रा शब्दहरू शब्दकोषमा भएसम्म शब्दहरू छानी–छानी र चोर औंलो ठाडो पारेर बोल्न बाँकी राखेनन् । यदि छलफल र बहसको उन्नत विधि र प्रणाली स्थापित गर्नु थियो भने अलग–अलग भेला गरेर भेला गरेर हिलो छ्यापाछ्याप गर्नु कथाचित राम्रो पक्ष होइनथ्यो । औपचारिक बहस र छलफलका लागि कार्य विधि र उन्नत प्रकारको लोकतान्त्रिक संस्कृति चाहिन्छ । त्यस्तो हुन नसकि उन्नत गुट तयार गरी मतपत्रमा समेत गुटको व्यवस्था गरी अधिवेशनमा होमियो । शुरूकै दिन अधिवेशन हलमा मात्रै नभए काठमाडौं गल्ली–गल्लीमा हुँदै अधिवेशन स्थल बाहिर महाभारतको युद्ध जस्तोबाट शुरू भयो त्यो अधिवेशन । आमन्त्रित स्वदेशी विदेशी पाहुनाले पनि महाभारतबाट तयार पारेका केही लड्डु, पेडाका उपहार पनि पाए । लाखौं लाख खर्च गरेर सजाइएका ब्यानर, तुल, गेट सबै ध्वस्त पारियो । काठमाडौंका प्रहरीले राम्रो काम पाए । यो मुलुकमा धेरै पार्टीहरू छन् । तर यस्तो ठूलो र हरेक जनआन्दोलनमा होमिँदै आएको पार्टी नेताले गुटबन्दी गरेर चुनावमा होमिनु र प्रहरीको सुरक्षामा मतदान गराउनु एमालेका लागि आगामी दिनका लागि त्यति राम्रा लक्षण नहुन सक्छ । अर्कोतर्पm हेर्ने हो भने २०४७ सालमा जितेर गएका सभासदहरू भुक्के चप्पल र एकसरो सामान्य पोशाकमा पुगेका यस पार्टीका मान्छेहरू आज पजेरो र महलका मालिक भएका देखिन्छ । अमेरिका र भारतलाई धारे हात पारेर सराप्नेहरू तिनै देशको ताल, चय र सुरमा नाचिरहेका छन् । सदनलाई बुर्जुवाहरूको गफ गर्ने अखडा भन्ने तिनीहरू बुर्जुवाहरूका मालिक बनिसकेका छन् । सर्वहाराको पक्षपाति हौं भन्ने आज अरब पति बनेका छन् । माक्र्सवाद र लेनिनवादका अनुयायी हौं भन्ने यस्तो महान् पर्वमा उनीहरूका फोटा समेत राख्न छाडेका छन् । कम्युनिष्ट हौं भन्नेहरू कमाउनिष्ट भएका उदाहरण झल्किँदै छन् । यो नवौं अधिवेशनलाई हेर्ने हो भने प्रचारबाजीदेखि हरेक क्रियाकलापमा प्रत्येक व्यक्तिले लाखौं लाख रुपैयाँ छुट्याएका छन् । कुनै आचारसंहिताको ख्याल छैन । बोल्ने शैली नकचरोपनको देखिनु, भोज भतेरदेखि सर्ट, टिसर्ट, टोपी वितरण गर्नुले पनि कम्युनिष्टहरू नभएर कमाउनिष्ट रहेछन् भन्ने देखिन्छ । नत्र भने सर्वहाराको नेतृत्व गर्नेसँग त्यस्तो सम्पत्ति कहाँ हुन्छ र ? जब ती सर्वहाराले एक छाक खाना खान धौ–धौ छ, अधिवेशन गराउनमा मात्र मासु भात खान एकदिनको मात्र पच्चिसदेखि तीस लाख खर्च भएको कुरा सार्वजनिक भएको पाइन्छ । त्यस्तै, अधिवेशन सक्दासम्मको खर्च सुने अनुसार साढे छ करोड भएको छ । बसाईमा मात्र एघार लाख खर्च भएको सुनेको छु । एक करोड आवास खर्च । जम्मा नौ दिनको मात्र खर्च करिब तीन करोड खानामा । त्यसबाहेक अन्य खर्च कति हो कति । त्यसपछि प्रत्येक व्यक्तिको लाखौं लाख खर्च । अब भन्नुहोस्, यस्ता खर्चको स्रोत के होला ? यस्तो किसिमको आन्तरिक पार्टीभित्र करोडौं करोड खर्च हुन्छ भने स्थानीय स्तरदेखि संसदीय तहसम्म चुनाव गर्दा के कसैले आर्थिक भार थाम्न सक्छ होला ? कम्युनिष्ट पार्टीभित्र त यस्तो खर्च हुन थाल्यो भने सामन्ती पार्टीहरूले झन् कति खर्च गर्छन् होला ? जुन यो अधिवेशनमा नेकपा एमालेले रङ्गीन पर्दामा यो दृश्यहरू देखायो । हुनसक्छ, माक्र्सवाद र लेनिनवादलाई र त्यस्तो सिद्धान्तलाई छाड्दै गर्दा र मदन भण्डारीबाट प्रतिपादित जबजलाई स्वीकार्दै लोकतान्त्रिक र समाजवादी आउनका लागि उपज परिणाम पनि हुन सक्छ । त्यस्तै, कुनै एक ठुट भारतमुखी भएको देखाउनका लागि पनि यसो हुनुपर्छ । नत्र भुक्के चप्पल लगाएर चिउरा मुरही खाँदै राजनीति गरेको सबैले देखेको छ, कसरी यस्तो दृश्यहरू झल्कियो होला ? मेरो मान्यता अधिवेशन गर्नु हुँदैन भन्ने होइन । खर्च पनि गर्नु हुँदैन भन्ने होइन । झैं–झगडा पनि हुँदैन भन्ने होइन तर प्रगतिशीलहरूले यस्तो तामझाम, महाभारतको लडाई, गुटको देखावाटी बिल्ला, करोडौंको खर्च, नराम्रा आक्षेप र गाली गलौज देख्दा कुरी–कुरी भयो भन्न मात्र खोजेको । बधाई छ, केपी जी र सबै जीत हात पार्ने नेताजीहरूलाई । यहाँहरूको कार्य सफलताको शुभकामना छ । तपाईहरूको विगतका क्रियाकलापहरूले आगामी पार्टीभित्र चुनौति आउन सक्छन्, बेलैमा सचेत हुन जरुरी छ । पुनः एकताको सुत्र बाँधियोस् । कुनै पनि पार्टी फुट्नु भनेको मुलुकले थप चुनौति व्यहोर्नु हो । यस्तो कसैको पनि नहोस् ।

0 प्रतिकृया:

Post a Comment