अदालतको फैसलाप्रति एमाओवादीको आपत्ति

बिर्तामोड/पुनरावेदन अदालत इलामले आफ्ना छ जना कार्यकर्तामाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लगाउँदै गरेको कैद सजायको फैसलाप्रति एकीकृत नेकपा माओवादी झापाले आपत्ति प्रकट गरेको छ ।
पुनरावेदन अदालतले झापा बुट्टावारीका निरज गिरीको ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा सञ्जय लामा तामाङ, राजु लिम्बू, इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई पाँच–पाँच बर्षको कैद सजायप्रति एमाओवादीले आपत्ति प्रकट गरेको हो । एमाओवादी झापा उपाध्यक्ष राजु आचार्य अग्नीले मंगलवार विज्ञप्ति जारी गरी अदालतको फैसला त्रुटीपूर्ण रहेको बताए । २०६४ सालको संविधानसभा अघि बुट्टावारी स्थित नविन ट्रेड कन्सर्न(पेट्रोल पम्प) का सञ्चालक कृष्णकुमार गिरीका कान्छा छोरा निरज र वाइसीएल कार्यकर्तावीच भएको कुटपिटलाई
पुनरावेदन अदालतको केही दिन अघिको फैसलाले ज्यान मार्ने उद्योगमा सजाय तोकेको छ । झापा जिल्ला अदालतले कुपपिट भन्दै गरेको फैसलालाई पुनरावेदनले उल्ट्यार ज्यान मार्ने उद्योगको सजाय तोकेको हो । 
तत्कालीन समयमा निरज गिरीले बिर्तामोडमा पेस्तोल देखाउँदै व्यापारीलाई आतंकीत पारेको बिषयमा प्रशासनले सुनुवाई नगरेपछि वाईसीएल नेपालका कार्यकर्ता समक्ष उजुरी गरेका थिए । उजुरीका आधारमा छलफल गर्न जाँदा आफ्ना कार्यकर्तामाथि निरजले पेस्तोल देखाउँदै आक्रमण गरेपछि सुरक्षाका लागि प्रतिरोध गर्दा झडप भएको बिज्ञप्तिमा उल्लेख छ । संक्रमणकालीन राजनीतिक समयमा भएको घटनालाई सत्ता र शक्तिको दुरुपयोग गरी ज्यान मार्नेसम्मको उद्योग गरेको आरोपमा नियोजित रुपमा आफ्ना कार्यकर्ताबिरुद्ध मुद्धा दर्ता भएको विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा उपस्थित नै नभएका इन्द्रबहादुर खवास, गोपाल प्रसाई, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीलाई दोषी भएको आरोप लगाउने कार्यले अदालतको न्यायिक कार्यमा प्रश्न उठेको उल्लेख गरिएको छ । आफुलाई माओवादीले आक्रमण गरेको कागजात पेश गरी निरज घटनाको केही महिनापछि देखि नै शरणार्थीको रुपमा स–परिवार अष्ट्रेलियामा बस्दै आएका छन् । राजनीतिक कारण देखाएर बिदेशमा शरणार्थी हुने गिरीको सत्ता, शक्ति र पैसाको भरमा मुद्धा प्रभावित भएको एमाओवादी झापाको ठहर छ । निरज गिरी र उनका परिवारले चिया बगानमा काम गर्ने मजदुरको हत्या गरी पानीट्यांकीमा फालेको घटनामा सत्ता र शक्तिको भरमा निर्दोष सावित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले आफ्ना कार्यकर्तालाई षड्यन्त्रपूर्वक ढंगले ज्यान मार्ने उद्योगमा फसाउने कार्यबिरुद्ध कानुनी, सामाजिक तथा राजनीतिक लडाईं लड्ने समेत चेतावनी दिएको छ । त्यसका लागि नागरिक समाज, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी लगायत सबैसँग सहयोगको अपिल गरेको छ ।

0 प्रतिकृया:

Post a Comment