विपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

पिपुल्स टाइम्स समाचार
दमक/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३३ औँ स्मृतिको अवसरमा झापाको दमक सहित देशै भरि विभिन्न कार्यक्रम गरि मनाईएका छन् । दिवसमा कांग्रेस र उनका भगिनी संघ, संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना  गरि मनाएका समाचार प्राप्त भएको छ ।
नेपाली कांगे्रस क्षेत्र नम्बर ७ झापाले दमकमा अन्तरसंवाद सहित वृक्षारोपण गरेको छ । क्षेत्रीय समितिले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले कांगे्रसले वीपी कोइरालाको चिन्तनलाई भुल्दै गएको गुनासो गरेका थिए । सहभागीहरुले कांग्रेस भित्र एकता बन्न सकेमात्र वीपी को आदर्श पूरा हुने जोड दिएका थिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति पूर्णनन्द दाहालले वीपीको आदर्शको त्यागलाई कांग्रेसका नेता, कार्यकर्ताहरुले अनुशरण गर्नुपर्ने जोड दिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेश सुब्बा, राजन ढुङ्गाना, सरस्वती उच्च माविका प्राचार्य दिलीप श्रेष्ठ, नेविसंघ झापाका सभापति रोशन विष्ट, कांगे्रस दमक सभापति ढुण्डीराज भण्डारी लगायतकाले बोल्दै वीपीको विचारलाई ब्यवहारिक रुपमा मान्न सकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरेका थिए ।
सोही अवसरमा दमक–१४ स्थित  सरस्वती उच्च माविको हातामा विभिन्न जातका विरुवा रोपिएका थिए । सिरीस, टिक, सिसौँ जातका विरुवाहरु रोपिएका क्षेत्रिय सभापति शेर बहादुर भट्टराईले जानकारी दिए ।
यसैगरि इटहरी सहकर्मीका अुसार नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
विराटनगर बरगाछी स्थित गुराँस पुस्तकालयद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यबाहक सभापति पौडेलले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप लगाए ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनका अनुयायीले आफ्नो विवेक प्रयोग गरेर हरेक समस्याको समाधान खोज्नुपर्छ भने । उनले अब शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने बताए ।
कांगे्रस मोरङका सभापति एवम् सभासद् अमृत अर्यालले बिपीको मेलमिलाप नीतिको कारण कांग्रेस जनतामा लोकप्रिय बन्दै गएको हो भने । पुस्तकालयका सभापति दीपक चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, मीनकुमार श्रेष्ठ सीमा आभास, विवश पोखरेल, गोकुल अधिकारी लगायतले बिपीको स्मरणमा कविता वाचन गरेका थिए ।
यसैबीच, विराटनगर स्थित पार्टी कार्यालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कार्यबाहक सभापति पौडेलले बिपीको विचार अनुसार कांग्रेसले नेपालका निम्नमध्यम परिवारलाई मध्यमस्तरमा पु¥याउन चार हजार गाउँमा रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानीको सेवा पु¥याउन लागेको जानकारी दिए ।
बिपीको विचार यात्रा मंगलबारदेखि प्रजातन्त्र
 प्राप्तिका लागि आन्दोलन शुरु भएको विराटनगर रानीको हडताली हाटबाट शुरु भई भदौ २४ गते सुन्दरीजलमा सम्पन्न हुने पनि उनले बताए ।
यसैगरि काँकड्भिट्टा सहकर्मीका अनुसार वि. पि. स्मृति दिवसको अवसरमा वृक्षरोपण तथा अन्तरकृया कार्यक्रम काँकड्भिट्टा स्थित विपी स्मृति  वाटिकामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मेचीनगरको आयोजना र वडा इकाई १० को संयोजनमा भएको  कार्यक्रममा करिब एक सय वटा विभिन्न प्रजातिका बोटबिरुवाहरु  स्मृति  वाटिकामा वृक्षरोपण गरिएको थियो । सोही अवसरमा पार्टीले आयोजना गरेको अन्तकिृया कार्यक्रममा प्रमख अतिथि राम  कट्टेल, क्षेत्रिय सभापति मणि उप्रेती, महासमिति सदस्य प्रेम राई, तमोर राई, हस्त आङ्गदेम्वे, गिरिराज धमला, कान्ता श्रेष्ठ, अर्जुन राई, गोपाल शिवाकोटी, सुरेन्द्र बुढाथोकी लगायतले वि. पि. विचार, आदर्श र समाजबादका बारेमा विचार व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेम सम्वाहाम्फेको सभापतित्व भएको थियो ।
यसैगरि इटहरी सहकर्मीका अनुसार  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहमा अध्ययनरत कम्युनिटी हेल्थ नर्सिङ विद्यार्थीको सक्रियतामा धरान–१७ रेलवे क्षेत्रमा सोमबार एकदिने आँखा शिविर सञ्चालन गरियो ।
सो विभागले यो वर्ष ज्येष्ठ नागरिकको स्वास्थ्य सरोकार भन्ने मूल नाराका साथ प्रतिष्ठानसँगै जोडिएको धरान–१७ को बस्तीलाई अध्ययनको प्रमुख केन्द्र बनाएर ३५० घर परिवारलाई अध्ययन गरेका थिए ।
विशेषगरी आदिवासी जनजाति र दलित समुदायको सघन बसोबास रहेको त्यो वडाका धेरै मानिस बिपी प्रतिष्ठान नजिकै भएर पनि उपचारमा नजाने, धेरै मानिसमा विभिन्न प्रकारका रोगका सङ्क्रमण रहेको तथा धुम्रपान मद्यपान र लागुऔषध सेवनकर्ता अधिक रहेकाले मिर्गौला पीडितको सङ्ख्या पनि अधिक फेला परेको टोली नेत्री सरिता अधिकारीले जानकारी गराईन् ।
उच्च रक्तचाप, मधुमेह, एचआइभी पोजिटिभ तथा आँखा, नाक, कान, घाँटी र मातृ मृत्युदर बढी र घरमा नै सुत्केरी गराउने जस्ता समस्याले ग्रस्त सो वडावासीले स्वास्थ्यमा पहुँच पु¥याउन आँखा शिविर गरिएको टोलीमा संलग्न जमुना भट्टराईले बताईन् ।
निःशुल्क आँखा शिविरमा ६० वर्षमाथिका उमेर समूहका १३० जनाको आँखाको रोगका जाँच गरिएको थियो । तीमध्ये नौजनाको आँखामा लागेको मोतियाबिन्दुका शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरूलाई प्रतिष्ठानमा नै शल्यक्रिया गरिने छ । शिविरमा आएका ५० जनालाई नियमित आँखाको जाँचका लागि राखिएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment