मगर संघको जिल्ला अधिवेशन हुने

दमक, १३ पुष/नेपाल मगर संघ झापाका दशौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी पुष १४–१५ गते दमकमा हुने सो अधिवेशनका सम्पूर्ण तयारी कार्य पूरा भएको आयोजकहरूले जनाएका छन् । अधिवेशनबारे दमकमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका जिल्ला अध्यक्ष पर्शुराम थापा मगरले अधिवेशन सफल बनाउन तयारी सकिएको जानकारी दिए । स्थानीय रेडक्रसको सभाहलमा हुने अधिवेशन  २७ वर्षीय संस्थाको अवधिमा दमकमा पहिलो पटक हुन लागेको उनले बताए ।

अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले गर्नेछन् भने संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगर समेत विशिष्ट अतिथिको उपस्थित हुने जनाइएको छ । सोही अधिवेशनको उद्घाटन सत्रमा मगर समुदायका अग्रज सहित विभिन्न क्षेत्रका ९ जना प्रतिभाहरूलाई समेत सम्मान गरिने संघका जिल्ला सचिव कैलाश थापा मगरले जानकारी दिए । यसरी सम्मान पाउनेहरूमा संघका पूर्व अध्यक्ष शिवशंकर थापा मगर, संस्थापक सदस्य दलबहादुर पुलामी मगर, कलाकार सञ्जोक लाफामगर, चेस खेलाडी निरोज निरौला, बालप्रतिभा सुदृष्टि राई लगायत रहेका छन् ।
सो अधिवेशनमा करिब २ लाख खर्च हुने र बन्द सत्रले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन हुने बताइएको छ । ‘समानुपातिक प्रतिनिधित्वबाट पहिचान सहितको संघीयता, स्वायत्तताका लागि सम्पूर्ण मगरहरूको सांगठानिक एकता’ भन्ने नाराका साथ सो अधिवेशनमा २ सय ५० बढी प्रतिनिधि, पर्यवेक्षकहरूको सहभागिता रहने छन् ।
पत्रकार भेटघाटमा संघका नगर अध्यक्ष वेद थापामगर, सदस्य रमेश थापामगर, मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार थापा मगर लगायतको उपस्थिति थियो ।

0 प्रतिकृया:

Post a Comment