सुन्तलाबाट २८ करोड आम्दानी

इलाम, १३ पुष/जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन ५ प्रतिशत बढेको छ । उत्पादन बढेसँगै किसान यस वर्ष सुन्तला बिक्रीबाट २८ करोड रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार सुन्तलाखेती किसान बढेपछि उत्पादन विस्तार भएको हो ।
जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार १ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयका वुद्धिराम भट्टराईले जानकारी दिए । सुन्तलाको उत्पादनबाट यस वर्ष जिल्लामा २८ करोड ७० लाख रुपैयाँ भित्रिएको छ । व्यक्तिगत रूपमा किसानले एउटै बगानबाट ३ लाख रुपैयाँसम्ममा सुन्तला बिक्री गरेको बताएका छन् ।
जिल्लामा हाल ७० रुपैयाँ प्रतिकिलोमा सुन्तला किनबेच भइरहेको छ । अघिल्लो वर्ष इलाममा ३८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ । कार्र्यालयले व्यवसायिक सुन्तलाखेती गरिँदै आएका जिर्मले, नामसालिङ, कन्याम, बरबोटे, पशुपतिनगर, सोयाक र गोदक गाविसलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ ।
उत्पादित सुन्तला झापा हुँदै छिमेकी भारतमा समेत निकासी हुने गर्छ । सुन्तला बगानमै भारतीय व्यापारी आई बोटसमेत किन्ने गरेको जिर्मलेका याम अधिकारीले बताए । सुन्तलाबाहेक जिल्लामा ५३ हेक्टरमा ५ सय ५५ मेट्रिकटन जुनार र ६२ हेक्टरमा ६ सय ३० मेट्रिकटन कागती उत्पादन भएको छ ।
बाँसखर्कबाट ३ करोडको सुन्तला बिक्री
पर्वत सुन्तला उत्पादनमा पश्चिमाञ्चलकै उत्कृष्ट सुन्तला पकेट क्षेत्रका रूपमा मानिँदै आएको पर्वतको बाँसखर्क गाविसबाट यस वर्ष गतवर्षको तुलनामा दोब्बर आम्दानी भएको छ । गतवर्षभन्दा यस वर्ष बढी सुन्तला उत्पादन भएपछि किसानले दोब्बर आम्दानी गरेका हुन् ।
गतवर्ष झन्डै डेढ करोडको सुन्तला निर्यात भए पनि यस वर्ष ३ करोडभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने स्थानीय सुन्तला कृषक यामबहादुर पुर्जाले जानकारी दिए । पश्चिमाञ्चलमा नै सबैभन्दा स्वादिलो सुन्तला फल्ने बाँसखर्कका कृषकले बोटमै ४० देखि ८० रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्दै आएका छन् । बाँसखर्कका सुन्तला पोखरा, काठमाडौं, नारायणगढ, भैरहवालगायत स्थानमा पुग्ने गरेका छन् ।
बाँसखर्कका २ सय ५६ घरधुरीका स्थानीयले सुन्तलाखेतीलाई व्यावसायिक रूप दिई प्रमुख आम्दानीको स्रोत बनाउँदै आएका छन् ।

0 प्रतिकृया:

Post a Comment