निरजसहित नौ जना अग्रस्थानमा–खेल समाचार

दमक, १३ पुष/दोस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय खुला वुद्धिचाल प्रतियोगिताको बिहीबार सम्पन्न दोस्रो र तेस्रो चरणका खेलहरूमा शीर्ष खेलाडीहरूले अग्रता लिएका छन् ।
दमकका निरज निरौला सहित फिडेमास्टर मनिष हमाल, दमकका राजन सुवेदी, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, बिवेक लामा, सर्लाहीका चुडामणि भट्टराई, रबिन्द्र थापा, भारतका राकेश गुरुङ्ग, विवेक विशाल र कुमार गौरवले समान ३ अङ्कका साथ संयुक्तरुपमा अग्रस्थान कायम गरेका हुन् ।
निरजले क्रमशः भारतका तनुज मेसरन र रुकुमका मिलन रोकालाई हराएका थिए भने मनिषले दोस्रो चरणमा गोल्डेनगेट कलेजका हिमाल लामा र तेस्रो खेलमा कान्तिपुर चेस क्लवका रमेश भण्डारीमाथि जित हात पारेका थिए ।
त्यसैगरी मदनकृष्णले काठमाडांैका सनत कुँवर र इनरुवाका राजनकुमार पोख्रेललाई पाखा लगाए । उत्कृष्ठ प्रर्दशन गरेका ११ वर्षीय विशाल कुमारले झापाका विजय मगर र आसामका काव्यनिल तालुकदारलाई हराएका थिए । त्यस्तै अनरेटेड रबिन्द्रले सप्तरीका नविन चौधरी र दमकका प्रकाश नेपाललाई पन्छाए भने विवेकले भारतकै रौनक मण्डल र ललितपुरका हिराकाजी महर्जनलाई निराश पारेका थिए ।
मारवाडी सेवा समिति दमकको सभा हलमा सञ्चालित खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, सप्तरीका सिंहेश्वर दास, धनकुटाका सुमन श्रेष्ठ, भारतका सौरभ आनन्द र आशुतोष कुमारले समान साढे दुई अङ्क प्राप्त गरेका छन् ।
स्वीस लिग नौ चरणको खेल हुने प्रतियोगितामा दुई अङ्क हासिल गर्ने खेलाडीहरूमा बद्रिलाल नेपाली, हेटौडाका कृष्ण थापा, झापाका विश्वविजय घिमिरे, धरानका चुडामणि कुलुङ्ग, पत्थरीका ईश्वर थापा मगर, दमकका देउकुमार निङ्गलेखु, वुद्धिकुमार राई, देवराज गजमेर, बाग्लुङ्गका रबिन्द्र श्रेष्ठ, भारतका थेन्दुप तामाङ्ग, राहुल गुरुङ्ग, रौनक मण्डल लगायत रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment