उधौली चाड, किराती र प्रकृति

आदिम युगदेखि प्रकृतिलाई नै इश्वर मान्ने तथा प्राकृतिक नियमानुसार जीवन शैली निर्वाह गर्ने किरातीहरू प्रकृति पूजक समुदाय हुन् । किराती समुदायका लागि प्रकृतिका अन्तरवस्तुहरू महत्वपूर्ण पक्ष हुन् । किराती समुदायले सभ्यताको विकास क्रमदेखि नै प्रकृतिसँग मिल्दोजुल्दो जुन संस्कृतिलाई आत्मसाथ गरेर आएका छन्, आजको युगमा समेत त्यसले महत्व राखेको छ ।
यतिबेला उठेका ग्लोबल वार्मिङ, कार्बन रिडक्सन, जलवायु र प्रकृति संरक्षण जस्ता विषयहरूलाई सहज समाधान गर्न पनि प्रकृतिपूजक आदिवासीय जीवन पद्धतिले महत्व राख्ने विज्ञहरूले बताइरहेका छन् । यस अवस्थामा किराती समुदायले प्रकृतिसँगको आफ्नो जीवन शैली र गतिविधिलाई जसरी अक्षुण राख्दै आएका छन् । यो उनीहरूको महानता समग्र मानव जगत र सृष्टिका लागि पनि महत्वपूर्ण छ ।
किराती समुदायले मुख्य गरी कृषि युगको सुरुवाती चरणलाई आत्मसाथ गरेर उद्यौली र उभौली चाडहरू मनाउँदै आएका छन् । वर्ष सुरुवातसँगै नदीनालाहरूमा पानीको वहाव बढेसँगै माछाहरू उक्त वहाव चिर्दै ठीक विपरित उभोतर्फ जाने हुँदा तयसलाई उभौली भन्ने चलन छ । यो मिथकिय मान्यताले किराती समुदाय जस्तो सुकै अवस्थामा पनि आफ्नो जीवन पद्धतिप्रति निरनतर संघर्ष गरिरहन्छ भनने अर्थ राख्दछ । उभौलीमा अन्नबाली लगाउनका लागि उपयुक्त मौसमको आशा गर्दै प्रकृतिसँग प्रार्थना गर्दै धुमधामका साथ विभिन्न सांस्कृतिक नृत्य र पूजाआजा समेत गरेर जेठको समयमा मनाउने प्रचलन छ ।
त्यस्तै हिउँदयाम सुरु भएसँगै नदीनालामा पानीको वहाव घट्दै जाने र माछाहरू उधो झर्ने प्राकृतिक नियमका आधारमा यसलाई उधौलीको संज्ञा दिइएको छ । यो पाुषको महिनामा पर्दछ । यसबेला अन्न बाली उमारेर, फलाएर घरमा भित्र्याइसकेपछि आफूले ग्रहण गर्न अघि उनै सर्वश्रेष्ठ ‘माङ‘ (प्रकृति) लाई चढाएर मात्र आफूले ग्रहण गर्ने प्रचलन छ । सरल भाषामा किरातीहरूले यसलाई ‘न्वाङ्गी‘ पर्व समेत भन्दछन् । किराती समुदायको संस्कार, संस्कृति र वेदीय शास्त्र ‘मुन्धुम‘ का ‘कथ्य‘ वा ‘लेखकीय‘ पक्षले पनि उधौली चाडलाई महत्व प्रदान गरेको छ । मानव जीवन निर्वाहका लागि उत्पादनको स्रोत र यसप्र्रतिको सहकार्य र व्यवस्थित निरन्तरता आवश्यक छ । वास्तवमा प्रकृति भन्दा पर अर्को शक्तिशाली पक्ष छैन । तसर्थ उनै प्रकृतिप्रति गहिरो आस्थाका साथ मनाइने किरातीहरूको उधौली चाड (चासोक तङनाम् ÷ साकेला ÷ चासुवा ÷ फोलषाँदर) प्रकृतिलाई मान्ने तमाम मानव जगतका लागि सामुहिक र सामाजिक चाड हो ।
किराती समुदायका लिम्बू, राई, याक्खा र सुनुवार जातिले आजसम्म पनि प्रकृतिप्रतिको आस्था, प्रेम, जिम्मेवारी र दायित्वलाई भूलेका छैनन् । त्यस्तै आदिवासी जनजाति समुदायले प्रकृतिलाई नै आफ्नो परमपूज्य शक्तिका रुपमा मान्दै आएको अवस्था छ । प्रकृतिसँग सम्बन्ध रहेका, आर्थिक, सामाजिक र सांस्कृतिक जीवन पद्धति जोडिएका किरानी समुदाय र समग्र आदिवासी जनजाति समुदायप्रति राज्यले न्यायोचित र सौहार्दताको व्यवहार गर्न जरुरी छ । आजसम्म प्रकृतिलाई संरक्षण गर्ने कुरामा उनीहरूको योगदान, सीप, क्षमता र जैविक पद्धतिहरूलाई राज्यले मूल प्रवाहमा ल्याउन सके मात्र उनीहरूमाथिको वास्तविक सम्मान झल्कने छ । अन्यथा क्रमशः यी जाति र उनीहरूले आदिम कालदेखि विकास गर्दै ल्याएको प्रकृतिलाई संरक्षण मिल्ने किसिमका कार्यहरू लोप हुँदै नजालान् भन्न सकिन्न ।

0 प्रतिकृया:

Post a Comment