परामर्श नपाउँदा वैदेशिक रोजगारी असुरक्षित

बिर्तामोड, १३ पुष/वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने नेपाली कामदारले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श नपाउँदा असुरक्षित भएको सरोकारवालाले बताएका छन् ।
सुरक्षित वैदेशिक रोजगार सुचना केन्द्रको प्रभावकारी सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । सुरक्षित वैदेशिक रोजगारका लागि परामर्श, सल्लाह सुझाव दिदै आएको प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने नेपाली कामदारको अवस्थाबारे छलफल भएको थियो । कामदारले तेस्रो मुलुकमा काम गर्न जाँदाको प्रक्रिया पूरा नगर्दा आईपर्ने समस्याले घरेलु हिंसा र मानवीय हिंसा बढाएको उल्लेख गरेका थिए ।
सरकारले असुरक्षित वैदेशिक रोजगारलाई नियन्त्रण गर्न नसकेको र सुरक्षित बनाउन कुनै विकल्प नअपनाएकोले अब सबै क्षेत्रका संघसंस्थाले सचेतना जगाउनुपर्ने समन्वय समितिका सहसचिव सोमप्रसाद लामिछानेले बताए । उनले सुरक्षित वैदेशिक रोजगारका लागि केन्द्रिकृत संरचना भएकोले यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा एकिकृत विकास प्रतिष्ठान नेपाल (आईडीएफ) का मानवअधिकार संयोजक विष्णुप्रसाद खरेल, एमाले नेता ध्रुव शिवाकोटीले सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।
सर्वसाधारणलाई सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभियानसँगसँगै गाउँ, टोलसम्म रहने संरचनालाई सँगै सहकार्य गर्नुपर्ने समेत सहभागीको भनाइ थियो । कार्यक्रममा इन्सेक, सुरक्षित वैदेशिक क्षेत्रमा कार्यरत संघसंस्था, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment