सम्मान र प्रतियोगिता

दमक, फागुन २६/ १०२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघले दमकमा तीन जना स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सम्मान गरेको छ ।
संघको क्षेत्रीय समिति क्षेत्र नं. ७ झापा र दमक नगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लामो समयदेखि स्वयम्सेविकाका रुपमा कार्यरत पार्वता श्रेष्ठ, शोभा ताम्राकार र लभु तामाङ रहेका नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले जानकारी दिइन् ।
उनीहरुलाई प्रमुख अतिथि संघकी जिल्ला कमिटी सदस्य सुमित्रा प्रसाईले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । संघकी क्षेत्रीय अध्यक्ष भक्ता दाहालको सभापतित्वमा भएको कार्यक्रममा वक्तृत्वकला र कविता प्रतियोगिता समेत गरिएको थियो । वक्तृत्व तर्फ ७ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–६ की सजना दाहाल प्रथम, लखनपुर–८ की भावना भण्डारी द्वितीय र दमक–१ की देवीमाया अधिकारी तृतीय तथा कविता तर्फ ११ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लखनपुर–८ की
जेनिसा भण्डारी प्रथम, दमक–१४ की प्रतिमा पौडेल द्वितीय र १२ की रश्मी कटुवाल तृतीय भएका क्षेत्रीय समन्वय कमिटी सचिव चन्द्रकला भण्डारीले जानकारी दिइन् ।
सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य रोमनाथ ओली, महिला संघकी जिल्ला सदस्य हरिमाया मैनाली लगायतले पनि महिला अधिकार र सो दिवसको सान्दर्भिकता बारे बोलेका थिए ।
क्षेत्रीय कमिटी सदस्य यमुना पोख्रेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगर सचिव लिला ढुङ्गेल (दाहाल) ले गरेकी थिइन् ।

0 प्रतिकृया:

Post a Comment