प्यालेस्टाइनसँग नेपाल पराजित – खेल समाचार

एएफसी च्यालेन्ज कप फुटबल
काठमाडौं, फागुन २६/काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रामक खेल खेलेपनि त्यसलाई निरन्तरता दिन सकेन ।
खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।
पहिलो हाफको सुरुमा नै गोल खाएपछि दबाव आएको नेपालले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेनन् । लगातार दबावमा परेको नेपालले खेलमा फर्कन पहिलो हाफमा दुई ओटा मौका गुमाएको थियो । खेलको २५ औं मिनेटमा नेपालका जुमानु राई गोल गर्न चुके । प्यालेस्टाइनका रक्षकलाई कटाएर हानेको बल पोलमा लागेर फर्किएको थियो । त्यसपछि निरन्तर विपक्षीको पोष्टमा धावा बोल्ने प्रयास गरेको नेपालका अनिल गुरुङ गोल गर्न चुके । कप्तान सागर थापाको लामो पास विपक्षीको गोल रक्षकको हातबाट खुस्किएको बलमा अनिलले गोल गर्न सकेनन् ।
पहिलो हापमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक ग्राहम रोवर्टले सन्तोष साहुखललाई मैदान छिराएपछि अनिल, जुमानु र सन्तोष तीन जना फर्वाडलाई खेलाए पनि दोस्रो हाफ नेपालको पक्षमा आएन ।
अब सेमिफाइनल प्रवेश गर्न नेपाललाई बाँकी दुबै खेल जित्नै पर्ने छ । नेपालले शनिबार माल्दिभ्सको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ । यसअघि दशरथ रंगशालामा भएको भब्य समारोहका बीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment