सरकार र शिक्षकबीच सहमति

काठमाडौं, चैत्र ३/निरन्तरको वार्तापछि सरकार र शिक्षकबीच सहमति भएको छ । शिक्षकहरुको मागमा सरकारले सहमति जनाए लगत्तै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले जानकारी दिए ।
बिहीबार शिक्षा मन्त्रालयमा प्रमुख दलका प्रतिनिधिसहितको उपस्थितिमा भएको वार्तामा बुधबार भएको प्रारम्भिक सहमतिलाई अन्तिम रुप दिइएको छ । ‘हिजो भएको सहमतिमा महिला प्रधानाध्यापकलाई विशेष अंक र महिला शिक्षकलाई निजामति कर्मचारी सरह सुत्केरी खर्च दिने बुँदा थपिएको छ’ वार्तामा सहभागी नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले जानकारी दिए ।
वार्तामा शिक्षक तथा विद्यालय कर्मचारीको मागलाई शिक्षा ऐन संशोधन मार्फत सम्बोधन गर्ने सहमति भएको छ । संसदमा गएको शिक्षा ऐन संशोधन विधेयकमा सहमति अनुसारका बुँदा थप्न पहल गर्ने सरकार र दलका प्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिले भएको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले संयुक्त आन्दोलन गरेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो । यसपटकको वार्तामा दलका प्रमुख सचेतक र प्रतिनिधि समेतको सहभागिता रहेकाले सहमति कार्यान्वयन हुनेमा शिक्षकहरु ढुक्क छन् ।

0 प्रतिकृया:

Post a Comment