एफएममा बिस्फोट

पाल्पा, चैत्र ३/रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बुधबार दिउँसो ३ बजे शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
बम बिस्फोट भवनको बीच तलामा भएको हो । यसबाट भवनको बीच तल्ला ध्वस्त भएको छ । भवनको पहिलो तलामा माओवादी कार्यकर्ताको भान्छाकोठा साथै दोस्रोमा माओवादी जिल्ला नेताको निवास र तेस्रो तल्ला रेडियो पश्चिमाञ्चल रहेको छ ।
बिस्फोटका बेला माओवादी जिल्ला इन्चार्ज बसन्त शर्मा सोही तलामा रहेका थिए । उनलाई भने केही भएको छैन । बिस्फोट भएको स्थानमा ब्याट्री र तार भेटिएको छ । बिस्फोटबाट छिमेकमा रहेको पत्रकार जगदीश भट्टराईको कैलाशनगर पब्लिकेशनमा समेत क्षति पुगेको छ । भट्टराईको घरका सबै सिसा फुटेका छन् । बिस्फोट भएको भवनसँगको रामप्रसाद श्रेष्ठको घरमा समेत सामान्य क्षति पुगेको छ । बिस्फोटको ४५ मिनेटपछि पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । डेटोनेटरको तार र गोलीका छर्रा भेटिएको प्रहरी नायब उपरीक्षक मीरा चौधरीले बताइन् । बुटवलबाट अनुसन्धान टोली झिकाइसकिएको चौधरीले बताइन् ।

0 प्रतिकृया:

Post a Comment