‘बोर्ड त भर्ती केन्द्र जस्तो भा’छ’ – सिने सम्वाद

भुवन केसी नेपाली चलचित्र क्षेत्रका सदाबहादर नायक हुन् । उमेरले ५० वर्ष नाघि
सक्दा पनि उनि ‘किशोरी’ नायिकाहरुसँग नायकको अभिनय गरिरहेका छन् । अब्बल नायकसँगै
अब्बल निर्माताको समेत छवि बनाएका उनले सपना, करोडपति, सुपरस्टार लगायतका चलचित्र निर्माण गरिसकेका छन् । उनीद्वारा निर्मित पछिल्लो चलचित्र ‘साथी म तिम्रो’ले पनि शुरुवाति
दिनमा आशा लाग्दो व्यापार गरिरहेको छ । प्रस्तुत छ, उनै नेपाली चलचित्रका
सदाबहादरनायक तथा निर्माता भुवन केसीसँग गरिएको कुराकानी :
नेपाली चलचित्रको अहिलेको व्यवसायिक अवस्था कस्तो छ ?
केही वर्षयता चलचित्र निर्माण हुने क्रम बढेको छ । चलचित्र त बन्छन तर सबैले नाफा कमाउन सक्दैनन् । तर भनिए जस्तो निराशै निराशको अवस्था त छैन । राम्रा चलचित्रले राम्रो व्यापार पनि गरिरहेका छन् । चलचित्र क्षेत्र पहिला बुझ्नु प¥यो । चलचित्र नबुझेका व्यक्तिहरुले रहरै रहरमा निर्माता हुने क्रम बढ्दा पनि अपेक्षाकृत व्यवसायिक अवस्था आउन नसकेको हो ।
नेपाली चलचित्र मौलिक हुन सकेनन् भन्ने गुनासो पनि छ नि ?
यो केही हद सम्म सत्य भए पनि केलाई चाँही मौलिक भन्ने प्रश्न पनि छ । विदेशी चलचित्रका हुबहु नक्कल गर्नु त पक्कै राम्रो होईन तर चलचित्रमा मनोरञ्जनलाई मुख्य आधार बनाईन्छ । यसलेगर्दा पनि केही फर्मुला अन्य भाषाका चलचित्रसँग मिल्नु सामान्य कुरा हो । यदि साँच्चै नै नेपाली चलचित्र क्षेत्रलाई सबल बनाउनु पर्छ भने मौलिकतामा पनि ध्यान दिन चाँहि आवश्यक छ । विदेशका ठूला चलचित्र उद्योगबाट केही राम्रा कुरा त सिक्नु राम्रै पनि हो ।

नेपाली चलचित्रका नाम, विषयवस्तु, प्रस्तुति शैली देखि पोष्टर सम्म विदेशी चलचित्रका नक्कल गरिन्छ नि ?
खास गरी संसार भरि नै चलचित्र केही विषयवस्तुमा आधारित रहेर बनाईन्छ । मनोरञ्जन, प्रेमकथा, राष्ट्रियता, कला–संस्कृति आदि नै चलचित्र निर्माणका मुख्य विषय हुन् । आखिर अमेरिका, भारत वा नेपालको जहाँको भए पनि प्रेम, राष्ट्रियता त उही त हो नि । हामीले खासमा प्रस्तुतिमा चाँहि आफ्नोपन दिन सक्नु पर्छ । अहिलेको अभाव यही हो ।
सरकारबाट चाँहि के अपेक्षा गरेको छ, नेपाली चलचित्र उद्योगले ?
जति सहयोग गर्नु पर्ने हो सरकारले गर्न सकेको छैन । राम्रा र राष्ट्रिय प्रेमका चलचित्रलाई सरकारले अनुदान दिन पनि सक्नु पर्छ । नेपालमा बिदेशी चलचित्र चलाउन साह्रै सजिलो गरि सेन्सर पास गरिन्छ । कम्तिमा सेन्सर पास गर्दा केही कडाई गरियो भने पनि नेपाली चलचित्रलाई सघाउ पुग्छ ।
सरकारी निकाय त चलचित्र विकास बोर्ड छ नि, यसले चाँहि नेपाली चलचित्र क्षेत्रको विकासका लागि कस्ता कार्यहरु गरिरहेको छ ?
बोर्ड त खाली भर्ती केन्द्र जस्तो मात्रै भाछ । चलचित्र बुझेका–नबुझेका जस्ता मान्छे पनि दलीय आडमा बोर्डको नेतृत्वमा पुगेका छन् । सबैलाई त दोष दिन मिल्दैन । तर नेपाली सिनेमाले बोर्डबाट जति अपेक्षा गरेको हो त्यति कार्य पूरा हुन सकेको छैन । बोर्डमा पुग्नकै लागि पनि कलाकारहरु दलीय आडमा लाग्ने गरेका छन् ।
तपाई पनि कुनै दल नजिक पुग्नु भएको छ, प्रवेश पनि गर्नु भएको छ, बोर्डमै पुग्नका लागि हो ?
एउटा सचेत नागरिकलाई राजनीतिबारे चासो हुनु स्वभाविक हो । मलाई त्यस्तो पदिय लालच छैन । आखिर कलाकार पनि यो देशको नागरिक हो । उसलाई पनि राजीतिक स्वतन्त्रता छ । तर म कुनै दलको मात्रै कलकार होईन र म दलकै झण्डा बोकेर पनि कुदेको छैन । बोर्डमा पनि मनै पुग्नु परेको छैन । जो साथी पुगे पनि नेपाली चलचित्र क्षेत्र राम्ररी बुझेको मान्छे पुगोस् भन्ने चाहना हो ।
तपाईका आगामी योजना के छन् ?
सके सम्म त राम्रा चलचित्र बनाउने र अभिनय गर्ने नै हो । अहिले मैले निर्माण तथा अभिनय गरेको चलचित्र ‘साथी म तिम्रो’ को प्रवर्धनमा नै व्यस्त छु । यस पछि आगामी वर्ष आफै निर्देशन समेत गर्ने गरी अर्को चलचित्रको तयारीमा छु । यसबारेमा साथीहरुसँग छलफल भई रहेको छ ।

0 प्रतिकृया:

Post a Comment