नेपालको बिजयी यात्रामा धक्का – खेल समाचार

काठमाडौ, चैत्र ३/आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । पपुवा न्युगिनीसँगको खेलमा नेपालले निर्धारित २० ओभरमा १ सय २ रनमात्र बनाउन सकेको हो ।
२० ओभरमा ८ विकेट गुमाउँदै पपुवा न्युगिनीले १३७ रन बनाएको थियो । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा पपुवान्युगिनीले नेपाललाई १३८ रनको चुनौती दिएको थियो । यसअघिका दुवै खेलमा विजयी रहेको नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ । मंगलबार नेपालले हङकङलाई २८ रनले पराजित गरेको थियो भने बुधबार डेनमार्कलाई ९ विकेटले हराएको हो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

0 प्रतिकृया:

Post a Comment