हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ट्राफिक द्वारा २७ लाख बढी राजश्व संकलन

दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आर्थिक बर्ष २०७०/७१ मा २७ लाख बढी राजश्व संकलन गरेको छ ।
सो अबधिमा सबै भन्दा बढी मोटरसाइकलबाट १३ लाख ५ हजार ४ सय रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ट्रकबाट ५ लाख २० हजार ३ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्याक्टरबाट ४ लाख ३९ हजार ७ सय, कारजिपबाट ३ लाख ३४ हजार, बसबाट एक लाख ४३ हजार ७ सय, टेक्पोबाट ७ सय रुपैयाँ संकलन गरिएको कार्यालयका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
सो अबधिमा ८ हजार २ सय १५ वटा सवारी साधनहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा २२ लाख ६० हजार ३ सय ५० रुपैयाँ संकलन गरिएको र १४ हजार २ सय ३८ वटा सवारीहरु कारवाहीमा परेका थिए । 
ट्राफिक नियम उल्ङ्घन गर्ने सवारी साधानलाई गर्ने  जरिवाना बढेका कारण राजश्व उल्लेख्य संकलन भएको प्रमुख थापाले जानकारी दिए ।  अहिले लाइसेन्स नभएकाहरुबाट १ हजार जरिवाना संकलन गरिएको छ ।

रवि चिसोपानी सडकमा बाह्रै महिना गाडी चल्ने

दमक/दमकबाट रबी सम्म पुग्ने फाल्गुनन्द मार्गमा यस बर्षबाट १२ महिना सवारी चल्ने  सडक बनाइने बताएका छन् । सरकारले बजेट मार्फत बिनियोजन गरेको ८ करोड रुपैयाँबाट सडक निर्माण सम्पन्न गर्ने जनाइएको छ ।
दमक  चिसापानी  सडक उपभोक्ता  समितिले बिहिवार   दमकमा पत्रकार सम्मेलन गर्दै ट्रयाक खोलेर सडक निर्माण  गर्न बाकीँ रहेको ६ किलोमिटरमा सडक निर्माणमा तिब्रता दिने जानकारी दिएको हो । समितिका अध्यक्ष सुरेस सुब्बाले सडक खन्न बाकीँ रहेको धर्ती दोभान देखि ६ किलोमिटर चुरे भागको सडक खनिने जानकारी दिए ।
दमकबाट चिसोपानी सम्म ४१ किलोमिटर र रबी सम्म ४७ किलोमिटर सडक रहेको छ । २०५९ सालमा निर्माण शुरु गरिएको सडक यस पटकको बजेटले निर्माण सम्पन्न हुने दमक चिसोपानी सडक उपभोक्ता समितिका सचिव प्रकाश बुढाथोकीले जानकारी दिए ।
 सडक निमार्ण भए बर्खायाममा बन्द रहने सडक सधै भरी सबारी चल्न योग्य हुने समितिले जनाएको छ । हिउँदका ६ महिना रतुवा नदी पार गर्दै हिड्नु पर्ने बाध्यता रहेको छ । बर्खायाममा भने सडक बन्द हुने गरेको छ ।

२ होटलबाट ८ पक्राउ

विर्तामोड/होटलमा युवतीहरु रोखर यौन कृयाकलाप गराएको आरोपमा झापा विर्तामोडका दुई होटल सञ्चालक सहित ८ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडले दिएको जानकारी अनुसार काठमाडौंको बालाजु स्थायी घर भई विर्तामोड–६ मा तिरुपती होटल सञ्चालन गरेर बसेकी ३५ वर्षीया मिना खातुन र विर्तामाड–७ मा झरना होटल सञ्चालन गरी बसेकी बिनिता लिम्बूलाई
पक्राउ गरिएको हो ।
प्रहरीले ती दुवै होटलहरुबाट तीन–तीन जना युवतीहरुलाई समेत नियन्त्रणमा लिएको हो । उनीहरु धादिङ, नुवाकोट, सुनसरी लगायतका जिल्लाहरुबाट ल्याइएका प्रहरीले जनाएको छ । पक्राउ परेका बारे अनुसन्धान भइरहेको बताइन्छ ।

चुरे र वनक्षेत्र खोतल्न ठेक्का

दमक/ वन र चुरे क्षेत्रलाई मर्का पर्नेगरी जिल्ला विकास समिति झापाले खोलामा ढुंगा–गिट्टी ठेक्का अनुमति स्वीकृत गर्दै ठेकेदार कम्पनीलाई बोलाएको छ । अधिकांश भू–भाग वनले घेरेको तथा चुरेको परिधिभित्र रहेको मावा र रतुवा खोलामा ठेक्को अन्तिम कसरत गर्दै जिविस झापाले ठेकेलारलाई पत्र लेखेको हो ।
विवादित क्षेत्र पर्ने दुबै खोलामा ठेक्का सम्झौता हुन लागेको भन्दै जिल्ला वन कार्यालय झापाले आश्चर्य मानेको छ । तर वन र चुरे दोहन हुनेगरी ढुंगा–गिट्टी ठेक्का दिन सामुदायिक वन उपभोक्ता समिति, प्रशासन र जिविस एकठाउँ उभिएका छन् । 
हम्सेदुम्से सामुदायिक वनको सिमाना पर्ने र इलाम जिल्लाको रानी वनले छुने मावा खोलामा ठेक्का सम्झौतापूर्वै हेभी उपकरण जेसिबी लगाएर ढुंगा–गिट्टी झिक्न थालिएको छ । हम्सेदुम्से सामुदायिक वनले भेट्ने इलाम चुलाचुली गाविसको चुरे फेदस्थित रतुवा खोलामा पनि ढुंगा–गिट्टी निकाल्न जिविसले अनुमति दिन लागेको छ ।
दुबै खोलाको ठेक्का मोरङ उर्लाबारीका ठेकेदार सचिन शाक्यलाई दिन लागिएको छ । दुबै खोलामा एकैजना ठेकेदारले काम गर्ने गरी ठेक्का लगाइने निर्णय भएको छ, झापाका स्थानीय विकास अधिकारी फडिन्द्र दाहालले  भने,‘ठेक्का अनुमतिको अन्तिम कार्यका निमिक्त ठेकेदारलाई पत्र काटिसक्यौँ ।’
 जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले सामुदायिक वन  र चुरे फेदीमा पर्ने रतुवा खोला खोतल्न आफूले अनुमति नदिएको बताए । वन र चुरे फेदी खोतल्न हाम्रो अनुमति छैन, कसरी ठेक्का सम्झौता भयो थाहा भएन, भण्डारीले  भने, ‘हम्सेदुम्से वनले खासै नछोएकोले मावा खोलामा ठेक्का लगाउनेबारे हामी बोलेनौँ, तर त्यो पनि इलामको वनले छोएको ।’ इलामको वन पर्ने भएकाले उतैको वनले जान्नुपर्ने उनले बताए ।
 स्थानीयका अनुसार पश्चिम मोरङ मधुमल्ला गाविस–२, पूर्व दमक नगरपालिका–५ र उत्तर रानीवन पर्ने क्षेत्रभित्र पर्ने मावा खोलामा ठेकेदार शाक्यले वर्ष अघिबाटै ढुंगा–गिट्टी निकाल्ने गर्थे । यहाँ ढुंगा–गिट्टी निकाल्न थालेको एक वर्ष पुग्यो, मावा खोलामा भेटिएका स्थानीय बृद्ध खड्गबहादुर तिम्सिनाले भने ।
हम्सेदुम्से सामुदायिक वनका अध्यक्ष हिमालय दाहालले वन क्षेत्र परिधिभित्र परे पनि स्थानीय वस्ती जोखिममा पर्ने कुरालाई मध्यनजर गरेर जिल्ला विकास समितिले ठेक्का लगाएको बताए । ‘मावा खोलाको माथितिर वन पर्ने भए पनि उँधोतिर पर्दैन, बीचमा बस्ती रहेकाले जोखिममा पर्ने ठानेर ठेक्का लगाउन हामीले मान्यौँ, दाहालले भने ।
स्थानीय विकास अधिकारी दाहालले दुबै क्षेत्र वन र चुरेभित्र नपर्ने भएकाले ढुंगा–गिट्टी निकाल्न अनुमति दिएको बताए । ‘वन र चुरे जोगिने हिसाबले ठेक्का सम्झौता गरिएको हो, दाहालले भने, ‘बस्ती जोखिममा पर्ने कारण दुबैतिर ठेक्का दिने सहमति भयो।’
सिडिओको नेतृत्वमा हुने खोलानाला अनुगमन तथा ढुंगा–गिट्टी ठेक्का प्रभाव मूल्याङ्कन उच्चस्तरीय संयन्त्रले केहीअघि खोलानाला अनुगमनपछि ढुंगा–गिट्टी ठेक्काको प्रक्रिया थालेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले खोलानालाको ढुंगा–गिट्टीबारे जिल्ला विकास समितिलाई थाहा हुने बताए । मावा खोलामा ढुंगा–गिट्टी झिकिरहेका ठेकेदार शाक्यले जिल्ला विकास समिति र प्रशासनको अनुमतिमै खोलामा हेभी मेसिन लगाएर ढुंगा–गिट्टी निकाल्न थालेको बताए ।

साउने संकान्तिसगै मेहेन्दी लगाउन शुरु

दमक/साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा   एक गते साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।
 एक गतेकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल््ने गर्दछन ।
कागती, अम्वा, अनार नास्पाती, आदि फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ । त्यस्तै महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै मेहेन्दी लगाउने र ब्रत बस्ने गरेका छन् ।
एक गतेबाट  महिलाहरुले शिवजीको पुजा गर्दै ब्रत बस्ने  र  मेहेन्दी लगाउन शुरु गर्छन ।  दमक १२ की कबिताकुमारी शाहले पतिको दिर्घायूको कामना गर्दै मेहेन्दी लगाउने प्रचलन रहेको बताइन ।  बिवाह नभएकाहरुले भने सुयोग्य पतिको कामना गर्दै मेहेन्दी लगाउने गर्छन भन्ने भनाई रहेको छ । 
केरि, रिभा, बाइटर लगायतका बुट्टा भएका मेहेन्दीहरु लगाउनेहरु भिड हुने गरेको मोर्डन ब्युटी पार्लर दमककी प्रशिक्षक मुना पौडेलले जानकारी दिइन ।

पत्रकार र साहित्यकार सम्मानित हुने

दमक/ झकास् अन्तराष्ट्रिय युवा समुहले २ जना  पत्रकार तथा साहित्यकारलाई सम्मान गर्ने भएको छ । साउन ३ गते दमकमा एक कार्यक्रमको आयोजना गरी कान्तिपुर एफएमका  पत्रकार हेम भण्डारी र पाँचथरका कवि चन्द्रवीर तुम्वापोलाई सम्मान गर्ने भएको हो ।
 उनीहरुलाई जनही १५ हजार रुपैयाँ नगद राशी सहित सम्मान गरिने समुहका कार्यक्रम संयोजक याम थुलुङले बताए । कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा कार्यक्रम हुने समुहले जनाएको छ ।  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समुहले जनाएको छ ।

माङहिममा विविध कार्यक्रम

दमक/ किरात माङपोक्लुङ माङहिम बेलडागी ३ दमकले बिहिवार  साउने संक्रान्तिको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
 बेलडागी ३ को गुम्वामा भएको कार्यक्रममा हाजिर जवाफ प्रतियोगीता, छलो , हाडी फर्ने र सांस्कृतिक कार्यक्रम गरेको हो । प्रतियोगीतामा एस एपीटी एफ बेलडाँगी प्रथम , युवा मैत्री केन्द द्वितिय र शिविर व्यवस्थापन समिति बेलडाँगीको समुह तृतीय भएका हुन् ।
छलो हान्नेमा सञ्चहाङ सुब्वा प्रथम, पध्रुन थापा दोस्रो भएको माङहिमका सल्लाहकार चिरञ्चीवी राईले जानकारी दिए ।  कार्यक्रममा नृत्य, गायन लगायतका  प्रस्तुती दिएका  थिए ।  किराँत धर्म तथा साहित्य उत्थान संघ दमकका अध्यक्ष डकेन्द्रि सिहं थेगिमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सप्तरङगी एफ एम दमकका अध्यक्ष मेहेरमान लिङदेन , समितिका चम्फासिंह राई लगायतले किरातहरुको पर्व साउने संक्रान्तिका बिषयमा चर्चा गरेका थिए ।

गर्भपतनको सेवा लिनेको संख्यामा वृद्धि

इलाम/विशेषज्ञ डाक्टरबाट सुरक्षित गर्भपतनको सेवा दिन थालिएपछि इलामस्थित नेपाल परिवार नियोजन संघमा गर्भपतन गराउन आउने महिलाको संख्या बढेको छ ।
परिवार नियोजन संघबाट सन् २०१४ को ६ महिनाको अवधिमा ३ सय १० जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । यसअघि सन् २०१३ को अवधिभर संघबाट ३ सय ४४ जनाले यस्तो सेवा लिएका थिए । यस्तै सन् २०१२ मा २ सय ७३ र सन् २०११ मा १ सय ८९ जनाले यस्तो सेवा लिएको संघका वरिष्ठ शाखा प्रबन्धक कुमार गिरीले जानकारी दिएका छन् । औषधीबाट गर्भपतन गराउँदा ९९ प्रतिशत सफलता प्राप्त भएको संघका वरिष्ठ शाखा प्रबन्धक गिरीले जानकारी दिए ।
तालिम प्राप्त नगरेका र अदक्ष स्वास्थ्यकर्मीबाट गर्भपतन गराउँदा समस्या देखिएका महिलाहरू समेत परिवार नियोजन संघमा सेवा र परामर्श लिन आउने गरेको शाखा प्रबन्धक गिरी बताउँछन् । इलामका १० स्थानमा परिवार नियोजन संघका क्लिनिकहरू सञ्चालनमा आएको भएपनि सुरक्षित गर्भपतन सेवा भने विशेषज्ञ डाक्टरबाट सदरमुकाममा मात्र उपलव्ध हुने उनले जानकारी दिए । ९ हप्ताभन्दा कम अवधिको गर्भलाई औषधी मार्फत र ९ हप्तादेखि १२ हप्तासम्मको गर्भलाई सिरिञ्जद्वारा सुरक्षितरुपमा गर्भपतन गराउने गरिएको छ । औषधिमार्फत गर्भपतन गराउँदा ७ सय रुपैयाँ र सिरिञ्जबाट गराउँदा १ हजार २ सय रुपैयाँ सेवा शुल्क लाग्ने शाखा प्रबन्धक गिरीले बताए ।
संघले सन् २०१३ को अवधिमा जिल्लाभरका ६ सय ७८ जना महिलालाई निःशुल्क गर्भावस्था परीक्षण सेवा उपलब्ध गराएको थियो । संघले सेवाग्राहीका लागि दरबन्दी अनुसार डाक्टरको व्यवस्था मिलाएको जानकारी दिएको छ । मातृशिशु सेवा र चिनीरोग विशेषज्ञ डाक्टर महेश्वर यादवले नियमित सेवा उपलव्ध गराउने संघले जनाएको छ । यस अघि दुई वर्षसम्म विशेषज्ञ डाक्टर नहुँदा सुरक्षित गर्भपतन सेवा प्रभावित भएको थियो । सुरक्षित गर्भपतन सेवाका लागि तालिम प्राप्त विशेषज्ञहरूको आवश्यकता हुने गर्दछ ।
यस्तै कथमकदाचित वा असुरक्षित यौनसम्पर्कबाट गर्भ रहेमा प्रयोग गरिने आकस्मिक परिवार नियोजनका साधन एकवर्षको अवधिमा ८१ जनाले प्रयोग गरेको संघले जनाएको छ । यसका लागि असुरक्षित गर्भ रहेको ७२ घण्टा भित्रमा दुईवटा ट्याब्लेट सेवन गर्नुपर्दछ । २० रुपैयाँमै पाइने यस्तो आकस्मिक गर्भ निरोधका साधनबारे कमैलाई मात्र जानकारी हुने गरेको शाखा प्रबन्धक गिरी बताउँछन् । संघले आफ्नो प्रयोगशालामा रक्त परीक्षण सेवा समेत दिइरहेको छ । गत वर्ष ४ सय २८ जनाले प्रयोगशालामा यस्तो परीक्षण गराएका थिए ।
सोही अवधिमा संघमार्फत १ सय ४६ जनाले निःशुल्करुपमा परिवार नियोजनको अस्थायी साधन कपर टी प्रयोग गरेको, १ हजार २ सय ४८ जनाले डिपोप्रोभेरा सुई लिएको, ८२ जनाले नरप्लाण्ट, २ हजार ९ सय १२ जनाले पिल्सको सेवा लिएको, २ हजार २ सय ९८ जनालाई कण्डम वितरण गरिएको समेत शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

झिलझिलेमा सीसी क्यामेरा

झिलझिले/इलाका प्रहरी कार्यालय झिलझिले र झापाली युवा सरोकार समाज नेपालको संयुक्त पहलमा झिलझिलेमा ५ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
स्थानीय क्षेत्रका दैनिक रुपमा भइरहने आपराधिक घटना लगायत राजमार्गमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सीसी क्यामेरा जडान गरिएको हो । प्रहरी कार्यालय परिसरभित्र ३, मुख्य राजमार्गमा १ र बजार क्षेत्रमा १ वटा गरी ५ वटा क्यामेरा जडान गरिएको झापाली युवा सरोकार समाज नेपालका उपाध्यक्ष समेत रहेका सीसी क्यामेरा जडान समितिका संयोजक सुरज रिङ्कालुङ्ग राईले जानकारी दिए । रिङ्कालुङ्गका अनुसार व्यापारी, वित्तीय कारोबार गर्ने संघसंस्था र शुभेच्छुकहरुको सहयोगमा १ लाख रुपैयाँमा सीसी क्यामेरा जडान गरिएको हो । बिहिबार एक कार्यक्रमको आयोजना गरी सीसी क्यामेराको उद्घाटन गरिएको थियो ।
यसैबीच, झिलझिले प्रहरी कार्यालयका प्रमुख प्रनि चिरञ्जिवी कोइरालालाई विदाई गरिएको छ । १५ महिना अघि झिलझिलेमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रनि कोइराला सुनसरीको दुहवी इलाकामा सरुवा भएर गएका छन् । विदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मुकुन्दराज आचार्य, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख चिरञ्जिवी दाहाल, झिलझिले बजारका अध्यक्ष कालिबहादुर लिम्बू, सतासीधाम सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सुरज रिङ्कालुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रनि कोइरालालाई नेपाली ढाकाटोपी सहित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम दिनेश गजमेरले सञ्चालन गरेका थिए ।

आदिवासी रंगशाला र सम्भावना

कमन देवान
झापाको लखनपुरस्थित निर्माणाधीन आदिवासी रंगशाला तथा स्मृतिपार्कमा थालिएका पूर्वाधार निर्माणका काममा गुणस्तरीय सुधारका लागि आदिवासी रंगशाला तथा स्मृतिपार्क निर्माण उपभोक्ता समितिले देखाएको चासो स्मरणीय छ । हाल राष्टिूय खेलकुद परिषद्को केन्द्रीय निकाय मातहत ठेक्का लागेर भइरहेको पूर्वाधार निर्माण कार्यमा गुणस्तर नदेखिएको समितिको धारणाका बारेमा नियमन निकायका रुपमा रहेको राखेप कार्यालयले खास चासो दिएको नदेखिए पनि समिति र सो समितिको संरक्षकका रुपमा रहेको निकाय तथा रंगशालाका नाउँमा उपयोग गरिएको जग्गाको समेत स्वामित्व प्राप्त गरेको हकवालाका नाताले सशस्त्र प्रहरी बल पाथिभरा गणले समेत निर्माण कार्य बारे चासो दिएको भए पनि निर्माणको जिम्मा पाएको सिम्लेश्वर बिल्डर्सले गुणस्तरमा सुधार ल्याउन नसकेको टिक्काटिप्पणी हुन थालेको छ ।
आदिवासी जनजाति समुदायले मृत्यु संस्कारका रुपमा समाधिस्थ गर्ने गरेको स्थानमा रंगशाला र स्मृतिपार्क निर्माणको प्रस्ताव आएपछि सुरुका दिनमा त्यहाँ दिवंगतहरुका स्मृतिमा निर्मित चिहानहरु भत्काउन नदिने, सो स्थानको विकल्पमा राज्यबाट समाधिस्थ गर्ने स्थानको वैकल्पिक व्यवस्था गरिनु पर्ने लगायतका मागहरु आदिवासी समुदायबाट उठेका थिए । तर आदिवासी जनजाति अगुवाहरु, स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, सरकारी निकायहरु समेतको पटक(पटकको छलफल र वहसपछि समाधिस्थलका लागि वैकल्पिक स्थानका लागि पहल गर्ने, दिवंगतहरुका स्मृतिलाई चिरस्थायी राख्नलाई रंगशाला परिसरमै स्तम्भ सहितको स्मृतिपार्क निर्माण गर्ने र त्यससँगै रंगशालाका लागि आवश्यक पूर्वाधारका कार्य अघि बढाउने सहमति भएको थियो । तर, कालान्तरमा सरकारी पक्षले आदिवासी जनजाति समुदायको भावना र संस्कृतिसँग जोडिएको पाटो अर्थात स्मृतिपार्क निर्माणका लागि खास चासो दिएको देखिएन । आर्थिक वर्ष २०६७÷०६८ मा रंगशालाका लागि मैदान सम्याउन ९७ लाख रुपैयाँ बजेट विनियोजन भएर काम गरेपछि लगातार दुई आर्थिकवर्ष आदिवासी रंगशाला निर्माणका लागि कुनै बजेट उपलब्ध हुन सकेन भने आर्थिक वर्ष २०७०÷७१ का लागि रंगशाला क्षेत्रको घेराबारा तथा भिआइपी प्यारापिट निर्माणका लागि भनेर राज्यबाट करिब ७५ लाख रुपैयाँ बजेट विनियोज भएको हो । यतिबेला चलिरहेको निर्माण प्रक्रिया राखेप अन्तर्गत ठेक्का लागेको हुनाले पनि कामको गुणस्तर र आवश्यक निरीक्षण गर्ने जिम्मा उसको हो । तर, राखेपले निर्माण कार्य थालनी भएपछि आवश्यक समयमा अनुगमन नगरेको, रंगशालालाई मात्र ध्यान दिएको र स्मृतिपार्क निर्माणलाई भने बेवास्था गरेको लगायतका गुनासा र असन्तुष्टिहरु सुनिन थालेका छन् ।
आदिवासी जनजाति समुदायको संस्कृति र भावनासँग जोडिएको आदिवासी रंगशाला र स्मृतिपार्कको निर्माणको वास्तविकता फेरि पनि आदिवासी जनजाति समुदायलाई बाइपास गरेर अघि बढेको सन्दर्भमा सफल होला भनेर अनुमान गरिनु सतही निष्कर्ष मात्रै हुन सक्छ । यतिबेला आदिवासी रंगशाला तथा स्मृतिपार्क निर्माण उपभोक्ता समितिले पनि उठाउन खोजेको विषय यहि हो कि गुणस्तरीय पूर्वाधारको निर्माण हुनु पर्दछ सँगै स्मृतिपार्क निर्माणको विषयमा पनि राज्यले उल्लेख्य मात्रामा बजेट बिनियोजन गर्नुपर्दछ । राज्यले रंगशाला र स्मृतिपार्क दुवै पक्षलाई उत्तिकै प्राथमिकता दिन सकेको खण्डमा मात्र यो पूर्वाधार निर्माण कार्यले गति लिने विश्वास गर्न सकिन्छ ।
प¥याप्त क्षेत्रफल सहित अन्तर्राष्टिूय स्तरको खेल मैदान तथा खेल अभ्यास प्रतिष्ठानका रुपमा आदिवासी रंगशालालाई विकास गर्ने गुरुयोजनालाई साकार पार्ने हो भने यसतर्फ राज्यले लगानी गर्न कञ्जुस्याई गर्नु हुँदैन । राजमार्गसँग जोडिएको हरेक दृष्टिकोणले उपयुक्त यस रंगशालाको निर्माणलाई सरोकारवालाहरुले गम्भीर भएर सोच्न आवश्यक छ । यो रंगशालाको निर्माणसँगै यस क्षेत्रको खेलकुद गतिविधिलाई टेवा पुग्ने विषय त छँदैछ । सँगै यो पूर्वाधार निर्माणले स्थानीय खेलाडीहरुको लागि गतिलो अवसर सृजना गर्ने समेत सम्भावनालाई बिर्सनु हुँदैन ।