चीन सक्दो सहयोग गर्न तयार छ: चिनियाँ उपराष्ट्रपति

कुनमिङ । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र धरोहरहरूलाई पुरानै ठाउँमा मौलिक स्वरूपमा पुनर्निर्माण गर्नसमेत चीन तयार रहेको बताए । कुनमिङमा शुक्रबारदेखि आरम्भ भएको पाँचदिने तेस्रो चीन दक्षिण एसिया व्यापार मेला र २३ औ कुनमिङ निर्यात तथा आयात मेलाको उद्घाटनपछि वाणिज्य तथा आपुर्ति मन्त्री सुनीलबहादुर थापासँगको दुईपक्षिय साइडलाइन भेटवार्ताका क्रममा उपराष्ट्रपतिले नेपालको पुनर्निर्माणमा आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति समेत चासो राखेका उपराष्ट्रपतिले सहमतिमा संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरूबीच भएको सम्झौतालाई आफ्नो देशले सकारात्मक रुपमा हेरेको आफूलाई जानकारी गराएको थापाले बताए । थापाका अनुसार उपराष्ट्रपतिले दलहरूबीचको सहमतिलाई सकारात्मक भन्दै नेपालले आगामी दिनमा विकासमा फडो मार्ने संकेतका रूपमा आफूहरुले यसलाई मूल्यांकन गरेको बताएका थिए । थापाले उपराष्ट्रपति, युनानका गर्भनर तथा अन्य उच्च अधिकारीहरुलाई नेपालको भुकम्प र त्यसपछि सरकारले उद्धार, राहत, पुनःस्थापना 
र पुननिर्माणका लागि गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए । प्रत्युत्तरमा उपराष्ट्रपतिले नेपालको विकासमा चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेपालले चीनबाट के कस्तो सहयोग चाहन्छ, त्यो स्पष्टसँग राख्न आग्रह गरेको जानकारी थापाले दिए ।

0 प्रतिकृया:

Post a Comment