शान्तिनगरमा भ्यू टावर बनाउन सुरु

विर्तामोड । पर्यटकलाई आकर्षण गर्न झापाको शान्तिनगर ६ स्थित धारागोलामा भ्यू टावर निर्माण कार्य थालिएको छ । आन्तरिक तथा पर्यटक भित्राउने उद्देश्यले नमुना भ्यू टावरको निर्माण थालिएको निर्माण समिति अध्यक्ष चक्र शेर्माले बताए । मेची राजमार्गले छोएको उक्त ठाउँमा स्थानीय स्रोत र साधनको पहिचान गर्ने उद्देश्यले टावरको निर्माण शुरु गरिएको हो । क्षेत्र नम्बर १ अन्तर्गत रविन कोइरालामार्फत सांसद विकास कोषबाट १२ लाख रुपंैयाँ बजेट छुट्टिए पछि स्थानीय पनि आफ्नो ठाउँको विकासका लागी जुर्मुराएका छन् । भ्यू टावर बनाउनका लागी जिल्ला विकास समिती तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने भ्यू टावर निर्माण समितीका उपाध्यक्ष निरकुमार सुवेदीले बताए । झापाको उत्तरी गाविस पर्यटकीय हिसावले प्रसिद्ध र सुन्दर ठाउँ हो । यस ठाउँबाट सुन्दर दृष्य कैद गर्ने, पर्यटकको एक गन्तव्य स्थलकै रुपमा नमूना भ्यूटावर बनाउने लक्ष्य राखिएको सुवेदीको भनाइ छ । अहिले चार वटा पिलर उठाउने काम भइरहेको र चाँडै कामले तीव्रता पाउने बताएका छन् । यहाँबाट झापाका बिभिन्न स्थानको अवलोकन गर्न सकिन्छ भने भारतका केही भूभाग पनि देख्न सकिन्छ । सुन्दर र स्वच्छ वातावरण रहेको सो स्थानको विकास गरी पर्यटकीयस्थल बनाउन सकिने स्थानीय कृष्णबहादुर लावती बताउँछन् । इलाममा निर्मित भ्यू टावर जस्तै बनाउने लक्ष्य समितिको छ । करिव १ करोड रुपैयाँ अनुमानित बजेट आवश्यक रहेको समितिका अध्यक्ष शेर्माले जनाए । 

0 प्रतिकृया:

Post a Comment