१ सय ५३ बालबालिका द्वन्द्व प्रभावित

धनकुटा, चैत ११ / दशवर्षे सशस्त्र द्वन्द्वमा जिल्लामा १ सय ५३ जना बालबालिकाहरू प्रभावित भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । प्रभावित भएका बालबालिकाहरूमध्ये बाबुआमा गुमाएका र अपहरणमा परेकाको सख्या उल्लेख्य रहेको पाइएको छ ।
जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको धनकुटामा बालबालिकाको स्थिति प्रतिवेदन २०६८ मा सो कुरा उल्लेख छ । जिल्लाका ३५ गाविसमध्ये डाँडाबजार, पाख्रिबास, मुढेबास, कुरुलेतेनुपा, बुढीमोरङ, चानुवा, फाक्सिव र ताङ्खुवा गाविसमा द्वन्द्व प्रभावित बालबालिका रहेका छैनन् भने सबैभन्दा बढी मुगा गाविसमा २४ जना बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिल्लामा ९२ जना बालबालिकाहरू जोखिममा रहेका छन् । जोखिममा परेकाहरूमा अभिभावक तथा सहयोगी भएतापनि आर्थिक, सामाजिक र अन्य कारणबाट जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा रहेका बालबालिकाहरूमध्ये कुल ४ हजार ६ सय ५३ जनाको जन्मदर्ता गराएको पाइएको छ । यसमध्ये बालक २ हजार ५ सय १२ जना र बालिका २ हजार १ सय ४१ जना रहेका छन् । बालकको तुलनामा बालिकाहरूको जन्मदर्ता कम मात्रामा गरिएको पाइएको छ ।
जिल्लामा अपाङ्गता भएका बालबालिकाहरूको संख्या पनि उल्लेख्य रुपमा रहेको पाइएको छ । स्वास्थ्यसम्बन्धी पर्याप्त मात्रामा जानकारी नभएका कारण अपाङ्गता भएका बालबालिकाहरूमध्ये बढी जन्मजात अपाङ्ग रहेको पाइएको छ । हाल जिल्लामा ४ सय ८६ जना अपाङ्ग बालबालिकाहरू रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको संरक्षणबाट बञ्चित गरिने छैन भनिएको भएपनि अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारमा नै विभेद्पूर्ण व्यवहार हुने गरेको जिल्ला बाल अधिकार अधिकृत हरि दाहालले बताए ।

0 प्रतिकृया:

Post a Comment