आत्मनिर्भरताको रोजाई : कृषि शिक्षा

गोपाल झापाली
लखनपुर, चैत्र ५/झापा धरमपुर–२ का भोलाप्रसाद दाहालको परम्परागत पेशा खेती–किसानी हो । श्रीमती तथा दुई छोरा सहितको उनको परिवार धान्ने मुख्य आधार यहि हो । पुस्तौंदेखि धान रोप्दै र मकै छर्दै आए पनि बल्ल उनलाई थाह भयो, जति मेहनत गरे पनि किन उत्पादन बढाउन सकिएन भनेर ।

उनी अहिले झापा लखपुर–८ को सरस्वती माविमा कृषि विषयको ‘टि एसएलसी’ पढ्दैछन् । महारानीझोडामा डेरा लिएर पढ्दै आएका उनलाई गत वर्ष आफ्ना खेतमा गरेका आलु खेतीको उत्पादन घट्नुको कारण पनि थाह भयो, बिउ–मलको मात्रा पुगेनछ भनेर ।
इलाम बरबोटेका मोहन अधिकारीकी दिदीले पनि यसै विद्यालयबाट ‘टि एसएलसी’ तहको अध्ययन गरिन् । बिषय फलदायी हुने ठानेर मोहन पनि यस वर्ष विद्यालय नजिकैको दिदीको घरमा बसेर आलु गोड्न र काँक्रालाई मल लगाउन सिकिरहेका छन् । इलामबाटै प्रवेशिका पास गरे पनि पुनः कृषि बिषयमा सोहिस्तरको अध्ययन गरिरहेका उनले भने– ‘भेटे त जागिर खाउँला भन्ने हो तर राम्ररी पढियो भने जागिर नै खानु पर्छ भन्ने छैन । खेती गरेर पनि राम्रै आम्दानी लिन सकिन्छ भन्ने लागेको छ ।’
मेची अञ्चलमा नै पहिलो पटक यस विद्यालयले गत वर्षबाट कृषि विषयमा ‘टि एसएलसी’ तहको अध्यापन शुरु गरेको हो । वर्षेनी ४० जनाको दरले पठन–पाठन हुँदै यस तहमा छात्र भन्दा छात्राको संख्या बढिरहेको छ । गत वर्ष समेत छात्राको संख्या बढी रहेकोमा यस वर्ष समेत १४ छात्र र २६ छात्राले अध्ययन गरिरहका शिक्षक एकराज प्याकुरेलले बताए । सैद्धान्तिक र व्यवहारिक रुपमा बराबर शिक्षा दिने गरिएकाले यस तर्फ विद्यार्थीहरुको आकर्षण बढेको उनको भनाइ छ ।
डेरा बसेर अध्ययन गर्दै गरेकी झापा बनियानीकी सुमित्रा भट्टराईले अध्ययनको ६ महिनामा नैं परम्परागत रुपमा र पढेर खेती गर्नुको अन्तर बुझिन् । पढेर जागिर नभेटे पनि परिवार र छिमेकमा भए पनि पढाईको शिक्षा उपयोग गर्न सकिने उनले बताइन् । कृषि पेशालाई व्यवसायीक बनाउन सके
आत्मनिर्भताका लागि अन्य बिकल्पहरु खोजी रहन नपर्ने उनलाई हिम्मत पलाएको छ । यस्तै अन्यत्र उच्च तहको अध्ययन गरेर पनि कृषि बिषयको अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । लखनपुर–४ का प्रेम पोखरेलले १२ कक्षासम्मको अध्ययन पूरा गरेका छन् । तर पनि उनी कृषि बिषयको प्रवेशिका तह अध्ययन गरिरहेका छन् । सैद्धान्तिक मात्र अध्ययन गरेका अन्य व्यक्तिहरु आफू भन्दा बढी पढेर पनि बेरोजगार हुनुपरेको देखेपछि उनी यस तर्फ तानिएका हुन् ।
विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि विद्यालय परिसरको साढे ५ बिगाह क्षेत्रफलमा बिभिन्न खेती गर्ने गरिएको छ । अहिले बिद्यार्थीहरुले शिक्षकहरुको निर्देशन अनुसार टमाटर, प्याज, काँक्रा, घिरौला लगायतका तरकारी खेती गरेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्को प्राविधिक सहयोगमा विद्यालयले यो तहको अध्ययन शुरु गरेको प्रधानाध्यापक दुर्गाप्रसाद सेडाईले बताए । लोकसेवा आयोगमा ‘जेटिए’ परीक्षा उत्तीर्ण गरेर सरकारी जागिर खान, बैदेशीक रोजगारीमा र आत्मनिर्भरताका लागि यो तह उपयुक्त रहेको उनले बताए । ‘टी एसएलसी’ तहको अध्ययनसँगै तरकारी तथा फलफूलको खेतीबाट विद्यालयलाई आर्थिक रुपमा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढलकबहादुर पन्तले बताए ।

0 प्रतिकृया:

Post a Comment