दमक । दमकको गणतन्त्र चोक पूर्व र पश्चिममा निर्माण हुने आकाशे पुलको ठेक्का सम्झौता साता दिन भित्र हुने भएको छ ।
काठमाण्डौपछि दमकमा निर्माण हुन लागेको आकाशे पुलको निर्माणका लागि ठेक्का प्रकृयाका अरु काम सकिएकाले साता दिन भित्र सम्झौता हुने भएको हो । प्रविण र कन्काई जेभी दमकले २ करोड २८ लाखमा ठेक्का लिएको दमक नगरपालिकाका इन्जीनियर तिर्थ श्रेष्ठले बताए । २५ मिटर लम्वाई र अढाइ मिटर चौडाईको आकाशे पुल आउँदो साउन १ गतेबाट निर्माण हुने भएको छ । काठमाण्डौ पछिको दोस्रो आकाशे पुल दमकमा निर्माण हुने भएपछि दमकबासी उत्साहित बनेका छन् । यो पुलको पिलरहरु आरसीसी गरिने र फलामका सामाग्रीबाट आधुनिक मोडलको आकाशे पुल बन्ने इञ्जिनियर श्रेष्ठले बताए ।
आकाशे पुल निर्माणले सडक आगमनमा सहज हुने र दुर्घटनामा कमी आउने दमक १४ का टिकाराम बयलकोटीले बताए । पुल निर्माणका लागि दमक नगर पालिका, संसद बिकास कोष र एनसेल मोवाइल कम्पनीले लगानी गर्ने भएको छ । सडक पार गर्न सजिलो हुने र सवारी दुर्घटनामा कमी आउने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । निर्माण एक वर्ष भित्र सकिने बताइएको छ ।
0 प्रतिकृया:
Post a Comment