मोरङमा वृक्षारोपण शुरू

उर्लाबारी, ६ साउन/मोरङमा जंगल अतिक्रमण गरी आवादी गरिएको करिव ५ हजार हेक्टर जमिनमा वन विस्तार गर्न योजनावद्ध वृक्षारोपण सुरु गरिएको छ ।
यस वर्ष एक सय हेक्टर बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने जिल्ला वन कार्यालय मोरङको तयारी छ । जलवायू परिवर्तनको असरबाट बच्न र वातावरण संरक्षणका लागि सरकारले जंगल क्षेत्रलाई २९ प्रतिशतबाट बढाएर ४० प्रतिशत पु¥याउने लक्ष्य अनुसार मोरङमा यस वर्ष वृक्षारोपणलाई व्यापकता दिइएको हो । मोरङ उर्लावारी–४ स्थित सुनझोडा सामुदायिक वनमा अतिक्रमण भएको ८० हेक्टर जमिन मध्ये ४० हेक्टर अर्थात ६० विघा जमिनमा वन महोत्सव नै आयोजना गरी वृक्षारोपण भइरहेको छ ।     स्थानीय सामुदायिक वनको अग्रसरतामा जिल्ला वन कार्यालयले गत वर्ष ४० र यो वर्ष ४० गरी ८० हेक्टरमै वृक्षारोपण भएको छ । यस वर्ष मोरङमा करिव २ लाख नयाँ विरुवा रोप्ने तयारी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । निजी वन र सरकारी वनमा नयाँ विरुवा रोपिने कार्यालयले जानकारी दिएको छ ।     जिल्ला वन कार्यालय मोरङले पहिलो चरणमा अतिक्रमण भएको तर वस्ती नबसेको जंगल क्षेत्रमा वन विस्तार योजना अघि बढाएको हो । सजिलोबाट अप्ठ्यारोमा जाने नीति अनुसार पहिलो चरणमा त्यस्ता स्थानमा वृक्षारोपण गर्ने जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले जानकारी दिए ।
उनले दोस्रो चरणमा खेती लगाएका र साना झुपडी बनाएर बसेकाहरूलाई हटाउने र तेस्रो चरणमा
राजमार्ग र त्यस  परिपरि पक्की भवन बनाएर अतिक्रमण गरेकाहरूलाई हटाएर वन क्षेत्र विस्तार गर्ने योजना रहेको बताए ।
अधिकृत बरालले राजनीतिक दलहरूको सहयोग भएमा जिल्लामा भएको ५ हजार हेक्टर अर्थात करिव ८ हजार बिघा जमिनबाट दुई वर्ष भित्र अतिक्रमण हटाउने बताए ।
मोरङमा करिव ५५ ओटा वन समुदायलाई हस्तान्तरण गरिएको छ । मोरङको कूल ५५ हजार ५ सय हेक्टर वन क्षेत्र मध्ये ५ हजार हेक्टर भन्दा बढी अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment