नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा ९ जना, दोस्रो श्रेणीमा ३५ जना विद्यार्थी उत्तीर्ण भएको सो विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । 
नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाईँले पढाउँदै आएको धुलाबारी उमाविमा ३९ दशमलव ६८ प्रतिशत विद्यार्थी (प्राविधिक विषयका विद्यार्थी समेत) उत्तीर्ण भएका छन । उनी त्यहाँका सहायक प्रधानाध्यापक हुन् । शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य नारायण गौतमको विद्यालयले २० प्रतिशत नतिजा ल्याएको छ । उनी सहिद धर्मभक्त उच्च मावि केर्खाका शिक्षक हुन् । त्यस विद्यालयमा प्रथम श्रेणीमा २ जना र दोस्रो श्रेणीमा ११ जना पास भएका छन् । शैक्षिक गणतान्त्रिक मञ्च (एन्टो) झापा अध्यक्ष शिवराज राजभण्डारीको विद्यालयबाट २८ प्रतिशत पास भएका छन् । राजभण्डारी  सरस्वती मावि पृथ्वीनगरका प्रधानाध्यापक हुन् । गत वर्ष यो विद्यालयबाट २३ प्रतिशत पास भएका थिए । मधेसी शिक्षक युनियन झापाका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले अध्यापन गराउँदै आएको शनिअर्जुनस्थित लक्ष्मी माविले ६३ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । प्रथम श्रेणीमा १ जना, दोस्रो श्रेणीमा १८ जना र तेस्रो श्रेणीमा २ जना उतिर्ण भएको सो विद्यालयका उनी प्रधानाध्यापक हुन् । लक्ष्मी माविको गत वर्षको एलएलसीको उत्तीर्ण नतिजा १६ प्रतिशत रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment