नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप सुरू भएको एक महिनामात्र पुगेको थियो । इन्टर्नसिप नसकिँदै घर फर्किन दबाब परेपछि विद्यार्थीहरु आफ्नो भविष्यमा संकट सिर्जना गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 
विद्यार्थी डाक्टरले काठमाडौं विश्वविद्यालयका सहायक डिन डा. राजेन्द्र कोजुलाई आइतबार विहान आफ्ना समस्या सुनाएका छन् । ‘उहाँले भिसी सरसँग कुरा राखिदिउँला भन्नुभएको छ,’ विद्यार्थी गणेश फुलाराले भने, ‘हाम्रो भविष्य यतिखेर भड्खालोमा पर्न आँटेको छ ।’ फुलाराले चार वर्ष लगाएर एमवीवीएस कोर्स सकिएपनि मागेको अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थीलाई दिएसरह पारिश्रमिक मात्र मागेको सुनाए ।  ‘त्यही निहुँमा कलेज प्रशासनले हामीलाई तीन दिनयता होस्टेल छिर्न दिएको छैन,’ उनले भने, ‘हामी बाहिरबाहिरै दिनरात कटाइरहेका छौ ं।’ 
उनका अनुसार नोबेल बाहेक अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थी डाक्टरलाई मासिक ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पारिश्रमिक दिने गरेको छ । नोबेल अस्पतालले ४ हजार रूपैयाँमात्र दिने गरेको छ । त्यसैगरी भर्ना भएको समयमा सेक्युरिटी बापत ५०  हजार रूपैयाँ धरौटी कलेजले लिएको थियो । कानुनतः कोर्स सकिएपछि यो रकम फिर्ता दिनुपर्ने हुन्छ । नोबेल कलेजसँग पारिश्रमिकसँगै धरौटी रकम उनीहरुले फिर्ता मागेका थिए । तर कलेजले फिर्ता गराउनुको सट्टा ‘सर्टिफिकेट’मा ‘ब्याड’ लेखिदिने धम्की दिएको फुलाराले आरोप लगाए । ‘सूचना टाँसेपछि कलेज आफैंले होस्टल छिर्न दिएको छैन, हामी चर्को गर्मीमा होस्टलबाहिर दिनरात काटिरहेका छौं,’ काठमाडौं सुमिना ढकालले भनिन्, ‘बिजोग भएको छ, कलेज प्रशासनले हाम्रो मागप्रति ध्यान दिएको छैन ।’ 
 विद्यार्थी डाक्टरबाट आगामी मंसिर महिनासम्मको लागि छात्राबास खर्चबापत ६४ हजार यसअघि नै कलेज प्रशासनले भुक्तानी लिइसकेको छ । काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय 
सबैले जुन कलेजमा पढेको हो त्यही कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश नेपालले विद्यार्थीहरूले अस्पतालमा अवरोध पुर्याउने गतिविधि गरेकाले उनीहरुलाई कलेजमा राख्न नसक्ने निर्णयमा पुगेको दाबी गरे । प्रबन्धक नारायण दाहालले इन्टर्नसिप विद्यार्थीको माग जायज नभएकाले पूरा गर्न नसकेको बताएका छन् । उनले इन्टर्नसिप विद्यार्थीलाई तलब दिने व्यवस्था नभए पनि दिइरहेको तर विद्यार्थीले आन्दोलन गरेको बताए । यता मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विद्यार्थीमाथि परेको अन्यायबारे ध्यानाकर्षण भएको बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment