षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

दमक । नेपालका शिक्षाका ज्योति तथा महान् समाजसुधारक बालागुरु षडानन्द अधिकारीको १०० औँ स्मृति दिवस आइतबार झापाको दमकमा भव्यताका साथ सम्पन्न गरिएको छ । बालागुरु षडानन्द स्मृति प्रतिष्ठान झापाको आयोजनामा भएको उक्त कार्यक्रम नेपालभरिमा आइतबार झापामा मात्रै मनाइएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बालागुरुको जन्मजयन्ती दिङ्ला, इटहरी, काठमाडौं र झापामा मनाइँदै आइएको  भएतापनि स्मृति दिवस भने नेपालमै यो दोस्रो पटक रहेको संस्थाका सदस्य सचिव विजय एक्स्ट्राले बताए । पूर्वमन्त्री एवं नेकपा (एमाले) का स्थायी समिति सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष श्यामकृष्ण लम्सालको
 सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार कृष्ण अधिकारी, षडानन्द उच्च मा.वि. दिङ्ला, भोजपुरका अध्यक्ष थानेश्वर नेपाल, सहप्राध्यापक मोहन भण्डारी लगायतले षडानन्दको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँलाई राज्यद्वारा राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको थियो ।
वि.सं. २०५१ सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री प्रदिप नेपालले बालागुरु षडानन्दको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने बाहेक षडानन्दप्रति राज्यका तर्फबाट अन्य कुनैपनि प्रकारको सम्मानजनक कार्य नभएको गुनासो पोख्दै उहालाई राज्यले तत्काल राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष लम्साल राखेका थिए । उक्त कार्यक्रममा बालागुरुको सम्झना एवं सम्मानमा १ सय ८ दीप प्रज्वलन गरिनुका साथै बैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण मृत्यु हुनेहरुको चिर शान्तिको कामना गर्दै स्थानीय श्री पशुपति मन्दिर, दमक–११ को परिसरका सम्पूर्ण दीपहरुमा दीपप्रज्वलन गरिएको थियो । वि.सं. १८९२ साल मार्गशुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मिएर नेपालमै जनस्तरबाट पहिलो विद्यालय (वि.सं. १९३२ साल) स्थापना, दास तथा सतीप्रथा जस्ता कुरीतिहरुको अन्त्य, जातीय विभेद विरुद्धको आन्दोलनका अग्रणी योद्धा बालागुरु षडानन्द अधिकारीको वि.सं. १९७३ जेष्ठशुक्ल त्रयोदशीका दिन काठमाडौंको पचलीघाटमा षडानन्दको भौतिक शरीरको अवसान भएको थियो । उक्त कार्यक्रममा कवि ज्ञानोदय सुवेदीद्वारा लिखित ‘योगमाया संयुक्त’ नामक काव्य समेत विमोचन गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment