लाङटाङमा हिमपहिरो पग्लिँदै गएपछि शव देखिए

धुन्चे । हिमपहिरो आई छोपिएको लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखा पर्न थालेका छन् । नेपाली सेनाको एनए ०४६ लाइन्सर हेलिकप्टरका चालक प्रमुख सेनानी सुवास थापाले आइतबार बिहान लाङटाङ गाउँमाथि उडान भर्दा थुप्रिएको हिउँका सतह केही घटेको र मानिसका शव देखिन थालेको बताए । माथिबाट हिमपहिरो आउने क्रम पनि थोरबहुत भइरहेकै कारण यकिन गर्ने अवस्था नरहे पनि हवाइमार्गबाट हेर्दा एक दर्जनभन्दा बढी मानिसको शव हुनसक्ने अनुमान छ,ु प्रमुख सेनानी थापाले भने । वैशाख १२ गतेको भूकम्पसँगै समुन्द्री सतहदेखि ७ हजार मिटर माथिबाट आएको हिमपहिरोले लाङटाङ गाउँ पुर्दा ३५० भन्दामाथि बढी मानिस हराएको अनुमान गरिए पनि यसभन्दाअघि १२८ जनाको मात्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । भूकम्पपछि उच्च भागको हिमशृंखला फुटी पहिरो आउन थालेपछि बढ्दो जोखिमलाई ख्याल गर्दै लाङटाङ क्षेत्रमा मानवविहीन तुल्याइएको र सबै लाङटाङवासीलाई हाल काठमाडौँको स्वयम्भूस्थित एलो गुम्बामा आश्रय दिइएको जिल्ला दैवी प्रकोप विपद् व्यवस्थापन समितिले जनाएको छ । हिमपहिरोले पुरिँदा १८२ जना लाङटाङवासी बेपत्ता भएको र नभेटिएका सबैलाई राज्यद्वारा मृत घोषणा गर्नुपर्ने गाउँवासीको माग रहेको लाङटाङ निवासी राप्रपा नेपालका अध्यक्ष ठिले लामाले बताए ।

0 प्रतिकृया:

Post a Comment