सृजना अभियानमा स्थानीय रमाए

दमक । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पको पीडा भुलाउन पूर्वमा सञ्चालित साँस्कृतिक अभियानमा स्थानीय रमाएका छन् । बारम्बारको भूकम्पको पराकम्पनले त्रसित बनेकाहरु सो कार्यक्रम हेरेर आनन्द मानेका छन् । बालबालिकाहरु समेत कार्यक्रमबाट आफुहरुलाई त्रासबाट केही हलुका अनभूत गरेका छन् । जस अन्तर्गत मोरङको पथरीशनिश्चरे, इलामको चुलाचुलीपछि आइतबार झापाको दमकमा साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन सहित भूकम्पको सन्देश प्रवाह भएको छ । सो कार्यक्रममा सहभागि १०४ वर्षीया नन्दकुमारी अधिकारीले भूकम्पबाट नआत्तिन अनुरोध गर्दै कार्यक्रममा रमाइन् । उनले ०९० सालयताका भूकम्प भोगेर आएको अनुभव सुनाइन् । दमक पब्लिक लाइब्रेरी लगायतका संस्थाको संयोजनमा सम्पन्न कार्यक्रम, संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, विशिष्ट लोक गायक एलपी जोशी, चन्द्रा गड्तौला, सुदृष्टि राई, रमिला लम्जेल, लक्ष्मी खनालले गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा स्थानीय नाँचेका थिए । विवश बलिभद्र कोइराला, धनकुटे कान्छा, घनश्याम पथिक, राजकुमार सुब्बा, अशोक बस्नेतले रचना वाचन गरेर माहोल रमाइलो बनाए । कार्यक्रममा, चुलाचुली रंगमञ्चका कलाकारहरुले भूकम्प सम्बन्धि नाटक प्रस्तुत गरेर सधैं भूकम्पको त्रासमा नपरी सुरक्षित प्रकारको घर बनाएर बस्न आग्रह गरेका छन् ।
पथरीशनिश्चरेस्थित पथरी बजारमा आयोजित कार्यक्रममा बृष प्रधान, रगुन गुरुङ, विनोद राई, समिर विक, मनि दियाली, सुधाश्रेया दवाडी, पंकज सापकोटा, होमा डाँगी सहितका श्रष्ठाहरुले गीत प्रस्तुत गरेका छन् । स्थानीय विद्यालयका विद्यार्थीका लागि केन्द्रीत गरिएको कार्यक्रममा स्थानीय विद्यालयका पायल तामाङ, योजना आलेमगर, सृष्टिका शेर्मा, एन्सा बोहोरा, क्षितिज राई सहितले नृत्य प्रस्तुत गरे । प्रविण सुवेदीको चोटिलो हाँस्यव्यङ्ग्य प्रस्तुति रहेको थियो । त्यहाँ, राजकुमार सुब्बा, अशोक बस्नेत, ददिराम ढकालले कविता प्रस्तुत गरेको त्यहाँका कार्यक्रम संयोजक भूपेन्द्र तिम्सिनाले जनाए ।
कंचनजंघा नाट्य समूहको ‘दोबाटे’ टेलिश्रृंखला युनिट, प्याव्सन ७ नम्बर क्षेत्रीय समन्वय समिति पथरी, पथरी स्पोर्टिङ क्लब, नर्मदेश्वर शिवालय मन्दिर, दीपज्योति बाल क्लब, रेडियो सिम्रिक, चुलाचुली रंगमञ्च इलाम सहितको स्थानीय आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव एवम् गायक गणेश रसिक, ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशी, प्राज्ञ राम धामी सहितको सहभागिता रहेका थियो । जेठ १५ देखि २४ गतेसम्म पूर्वमा त्यसखाले अभियान सञ्चालन भइरहेको छ । अव विर्तामोड, धुलाबारी, इलाममा कार्यक्रम हुनेछ । पूर्व सहितका भूकम्पबाट कम प्रभावित तर अरुतिरको खबरले बढी त्रसितहरुमध्ये २६ जिल्लामा सो अभियान अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment