निकास कांग्रेसले दिन्छ : कोइराला

काठमाडौं, ७ साउन/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बोलाई र गराईमा एकरुपता ल्याएर त्यसलाई व्यवहारमा उतार्न एकीकृत माओवादीलाई आग्रह गरेका छन् । सभापति कोइरालाले एउटा बोल्ने र अर्को काम गर्ने माओवादीको दोधारे प्रवृत्तिले कसैलाई फाइदा नहुने भएकाले त्यस्तो प्रवृत्ति त्याग्न माओवादीलाई आग्रह गरेका हुन् ।

विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडांैले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई मूर्ख बनाउने र धोका दिने काम नर्गन समेत माओवादीका नेताहरुलाई आग्रह गरे । उनले भने –‘अरुलाई मूर्ख बनाउने र धोखा दिने काम छोड्नुस्, मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागू गर्नुस् ।’ एकीकृत माओवादीले सहमति गरेका विषयहरुलाई लत्याउदै गएका कारण दलहरुका बीच सहमति जुट्न नसकेको कोइरालाको भनाई थियो । उनले एकीकृत माओवादीले लिएको हत्या हिंसाको नीतिको कारण पार्टीमा विग्रह र अराजकता बढ्दै गएको र त्यसैको परिणाम स्वरुप पार्टी फुटेको समेत टिप्पणी गरे ।
सभापति कोइरालाले विपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट देशलाई अहिलेको राजनीतिक सङ्कटको निकास कांग्रेसले नै दिने बताए । शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि सबै दल सहमतिमा आउनुको विकल्प नभएकोमा कोइरालाको जोड थियो । उनले कांग्रेसले वार्ता र संघर्षका कार्यक्रमलाई एकसाथ लिएर अघि बढेको बताए ।
कार्यक्रममा महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोणका साथ शान्ति, संविधान र राजनीतिक सङ्कटको निकास छिट्टै दिने बताए । सिटौलाले संविधानसभा भङ्ग गरेर सत्ता लम्ब्याउने अभिप्रायले सरकारले नयाँ निर्वाचनको घोषणागरेको भएपनि अहिले त्यसमा माओवादी आफै फसेको बताए ।

0 प्रतिकृया:

Post a Comment