एसएल पत्रकारिता पुरस्कार नेम्बाङलाई

बिर्तामोड, ७ साउन/नेपाल पत्रकार महासङघद्वारा प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार भीम नेम्बाङलाई प्रदान गर्ने निर्णय भएको छ ।
नेम्बाङ २०५० सालदेखि नेपाल टेलिभिजनको झापा संवाददाताका रुपमा निरन्तर क्रियाशील छन् ।
त्यस्तै प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष पत्रकार अमृतलाल श्रेष्ठकी धर्मपत्नी नीलु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशी क्रमशः ११ हजार रुपैयाँ र ताम्रपत्र तथा ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेलको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले शनिबार सो निर्णय गरेको हो ।
समितिमा शर्मा परिवारको तर्फबाट
भाष्कर शर्मा र अघिल्लो पटक पुरस्कृत व्यक्तित्व पत्रकार गोपाल गड्तौला सदस्य छन् । त्यस्तै पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार छनोट समितिको सदस्यमा अघिल्लो पटक पुरस्कृत व्यक्तित्व पत्रकार माधव विद्रोहीकी धर्मपत्नी साजु अधिकारी छन् ।
त्यस्तै प्रत्येक वर्ष प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार यस वर्ष मोरङको उर्लाबारीबाट प्रकाशित हुँदै आएको राष्ट्रिय समाचार पत्र साप्ताहिकका प्रधानसम्पादक केदार चौहानलाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी मोरङका अध्यक्ष विक्रम लुइटेलका अनुसार चौहानलाई आज (आईतबार) एक समारोहका बीच पुरस्कृत गरिने छ ।
पथरीबाट प्रकाशित हुँदै आएको मोफसल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनी हाल राष्ट्रिय समाचार पत्र साप्ताहिकका प्रधानसम्पादक छन् ।

0 प्रतिकृया:

Post a Comment