प्रम विरुद्ध आन्दोलन थाल्ने युवा संघको उद्घोष

काठमाडौं, ७ साउन/नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदच्यूत गर्ने गरी भीषण आन्दोलन थाल्ने बताएको छ ।
शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले युवा संघ अहिले आन्दोलनको आन्तरिक तयारीमा जुटेको जानकारी दिँदै केही दिनभित्रै भीषण आन्दोलन गर्ने घोषणा गरे ।
माओवादी नेताहरु भष्मासुर प्रवृत्तिका भएको आरोप लगाउँदै अध्यक्ष बस्नेतले यस्तालाई पदच्यूत गरेर मुलुकमा लोकतन्त्र सुरक्षित राख्न आन्दोलन अपरिहार्य भएको दावी गरे ।
उनले आन्दोलनको तयारीका लागी संघले आगामी साउन ७ र ८ गते राजधानीमा दोस्रो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी दिए । भेलामा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय लेखा कमिटीका सदस्य, केन्द्रीय विभाग सचिव, अञ्चल कमिटी सचिव, अञ्चल महिला विभाग प्रमुख, जिल्ला कमिटिका अध्यक्षहरुको सहभागी हुने छन् ।
भेलाले परिवर्तित राजनीतिक परिस्थिति, पार्टीले लिएको नीति, आन्दोलन तथा युवा संघको नयाँ कार्ययोजना निर्माण गरिने बस्नेतले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment