सहारा नेपालमा तालाबन्दी

व्यवस्थापन र कर्मचारी संगठनका आ–आफ्नै अडान

कमन देवान
दमक, ७ साउन/कर्मचारी सरुवाको विषयलाई लिएर कर्मचारी संगठनले तालाबन्दी गरेका कारण चार दिन देखि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने–३ झापाको सम्पूर्ण गतिविधि ठप्प बनेको छ ।
सहारा नेपालको व्यवस्थापन पक्षले गत असार २६ गते झापाको विर्तामोड, सुरुङ्गा र मोरङको लेटाङ्ग शाखाका प्रवन्धकहरूलाई सरुवा गरेको विषयमा व्यवस्थापन पक्ष र कार्मचारी संगठनका प्रतिनिधिहरू बीच विवाद बढ्दै जाँदा सहकारीमा तालाबन्दी सहितको आन्दालन चर्किएको हो ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै सहारा नेपालका  सञ्चालक समिति उपाध्यक्ष ताराप्रसाद सञ्जेल ।              फोटो : पिपुल्स टाइम्स

त्यहाँस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन (साकोस) ले साउन २ गते विर्तामोड शाखामा तालाबन्दी गरेको थियो भने ३ गतेदेखि चारपानेस्थित केन्द्रीय कार्यालय लगायत अन्य ३ इलाका कार्यालय र ३१ शाखाहरूमा समेत तालाबन्दी सहितको आन्दोलन सुरु गरेपछि सहारा नेपालको को दैनिक कारोबार समेत बन्द भएको हो । केन्द्रीय कार्यालय सहित सबै शाखाहरू गरी दैनिक २ करोड बढीको कारोबार हुने सहारा नेपालले चार दिनमा ८ करोड बढीको नोक्सानी भएको स्रोतले जनाएको छ ।
यसैबीच शनिबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सहारा नेपालको सञ्चालक समिति र व्यवस्थापन पक्षले संस्थाको कर्मचारी विनियम र श्रम ऐनको अधिनमा रही शाखा प्रवन्धकहरूको सरुवा गरिएको जानकारी दिएको छ । त्यस्तै जारी आन्दालनको नेतृत्व गरिरहेका संगठनका अध्यक्ष मोतिखर सञ्जेलले भने पिपुल्स टाइम्स दैनिकसँगको टेलिफोन कुराकानीमा व्यवस्थापन पक्षले आफ्नो कम्जोरी ढाकछोप गर्न र कर्मचारीहरूलाई भ्रमित पार्न पत्रकार सम्मेलन गर्दै हिँडेको आरोप लगाएका छन् ।
सहारा नेपाल सञ्चालक समितिका उपाध्यक्ष
ताराप्रसाद सञ्जेलले नियम अनुसार कर्मचारी सरुवा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै उनले कर्मचारी संगठनले अधिकार क्षेत्र भन्दा बाहिरको माग र अवैधानिक विरोधको कार्यक्रमहरू बिना शर्त फिर्ता लिएर कामा फर्कन आग्रह गरेका छन् ।
त्यस्तै सो कार्यक्रममा बोल्दै सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत भएकाले फिर्ता नहुने बताए ।
तर, कर्मचारी संगठनका अध्यक्ष सञ्जेलले भने सहारा नेपालको विर्तामोड शाखामा कर्मचारी संगठन समेतको कार्यालय रहेको र सो शाखामा अधिकृत तहका प्रवन्धकको मातहतमा रहेर संगठनका पदाधिकारीले कार्य गर्ने नियम अनुसार विर्तामोड शाखामा अधिकृत तहका प्रवन्धक ल्याउन गरिएको आग्रहलाई नियम विपरित गरिएको आन्दोलन भनी गलत प्रचार गरिएको बताए ।
सुरुङ्गाबाट सरुवा गरी विर्तामोड लगिएका प्रवन्धक अधिकृत स्तरको कर्मचारी नभएको समेत सञ्जेलले आरोप लगाएका छन् । संस्था र कर्मचारीहरूको हितका पक्षमा जारी आन्दोलनलाई गलत सावित गर्न व्यवस्थापन पक्षले अन्य कर्मचारीहरूलाई आन्दोलको विपक्षमा उचालेको उनले आरोप लगाएका छन् ।
उनले भने –‘हामीले श्रम ऐन अनुसार म्याद भाका राखेरै आन्दोलन गर्न खोजेका हौं । तर, हाम्रो आन्तरिक विवादमा व्यवस्थापन पक्षले प्रहरी प्रशासनलाई गुहारेर
 हामीमाथि धरपकड र कुटपिट जस्ता घटना गरेकाले तत्काल तालाबन्दी सहितको आन्दोलनमा उत्रिएका हौं ।’ संगठनका पदाधिकारी सहित आन्दोलनमा उत्रिएका चार जनामाथि प्रहरी लगाएर कुठपिट गरिएको उनको आरोप छ । सञ्जेलले आपूmहरूले वार्ताका लागि सम्पूर्ण विकल्प खुल्ला गरेको भए पनि व्यवस्थापन पक्षले वार्ताबाट समस्या समाधान गर्न नचाहेको बताए । उनले भने –‘कर्मचारी संगठन र व्यवस्थापन पक्षबीचको समस्यालाई वार्ताबाट नसुल्झाएर किन होहल्लामा
 लगिएको हो थाहा छैन ।’
प्रहरी प्रयोग गरी कुटपिट गरिएको भन्ने आरोपको खण्डन गर्दै कार्यकारी अधिकृत गिरीले भने –‘विर्तामोड शाखामा कार्यरत कर्मचारीहरू समेतलाई कार्यालय भित्रै थुनेर तालाबन्दी गर्न खोजियो । हामीले मानवअधिकारकर्मीहरू समेतको रोहबरमा उनीहरूलाई उद्दार गर्दा प्रहरी प्रशासनको मद्दत लिइएको हो ।’
संस्थाको व्यवस्थापन पक्षले गत असार २६ गते झापा विर्तामोडका शाखा प्रवन्धक हेमन्त चौहानलाई मोरङको लेटाङ्ग, लक्ष्मी रिजाललाई लेटाङ्गबाट झापाको सुरुङ्गा र सुरुङ्गाका खेमराज पूरीलाई विर्तामोड शाखामा सरुवा गरेको थियो । व्यवस्थापनको सो सरुवा निर्णयपछि कर्मचारी संगठनले आन्दोलनका कार्यक्रम थालेको हो ।
 लघु वित्त कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्र र महिला समूहहरूमा सहाराले आयमूलक र धितो जमानीमा बचत तथा ऋण कारोबार गर्दछ । २०५२ सालमा स्थापित सहकारीको हाल झापा, मोरङ र इलाममा ३६ ओटा शाखा छन् भने ८० करोड बढी लगानी र १ अर्ब कारोबार रहेको छ । सहारामा १ सय ९१ जना कर्मचारी कार्यारत छन् भने शेयर सदस्य संख्या ५६ हजार रहेको जनाइएको छ ।
संस्था बचाउ अभियान
दमक÷यसैबीच सहारा नेपाल बचत तथा सहकारी संस्था लिमिटेडमा कार्यरत विभिन्न शाखाका प्रबन्धक तथा फिल्ड कर्मचारीहरूले शनिबार झापाको दमकमा संस्था बचाऊ अभियान बारे वृहत् छलफल गरेका छन् ।
सो कार्यक्रममा सहभागी सहारा नेपालका विभागीय प्रमुख दिनेश निरौलाले नियम सङ्गत भएको आन्तरिक कर्मचारी सरुवा निर्णय विरुद्ध संगठनका पदाधिकारीहरू लागेको बताए ।
संस्था रहे मात्र कर्मचारी रहने र कर्मचारीहरू रहेमात्र कर्मचारी संगठनको भूमिका रहने भन्दै सो कार्यक्रममा सहभागी ३१ जना शाखा प्रबन्धक सहित ७० जना सहारा नेपालका कर्मचारीले संस्था बचाउन आपूmहरूले अभियान थालेको बताए ।
झापा बुधबारेका शाखा प्रबन्धक तथा सहभागी घनश्याम रायले सबै शाखाहरूको कारोबार ठप्प भएको र हाल यो विवाद श्रम मन्त्रालयसम्म पुगेको बताए । अर्का सहभागी तथा मोरङ तेतरिया शाखाका प्रबन्धक योगेन्द्रप्रसाद प्रसाईले आन्तरिक सरुवा विरुद्ध आन्दोलन गरेर संगठनले कमजोरी गरेको धारणा राखे ।

0 प्रतिकृया:

Post a Comment