तिमीलाई “नियाल्दाका अनुभूतिहरु" – कृति समिक्षा

सुमित्रा बाङ्देल ‘चेली’
११ औँ शताब्दीका चिन्तक, दार्शनिक, स्वतन्त्र विचारक उमर खैयाम रुवाई विधाका प्रतर्वक हुन् । अरबमा जन्मिएर फारसमा हुर्किएको यस विधालाई मलजल गरी फारसी भाषा साहित्यमा महत्वपूर्ण स्थान ओगट्न सफल गराउने कार्य यिनैको हातबाट भएको देखिन्छ । आफ्नो मूलथलोमा रुवाईयात नामले प्रसिद्ध यो विधा कालक्रम अनुसार फैलिँदै नेपालसम्म आइपुग्दा मुक्तक, रुवाई आदि इत्यादि नामकरण भई आएको पाइन्छ । पचासको मध्य दशकबाट नेपाल भित्रिएको यो विधा विभिन्न आरोह अवरोहहरु झेल्दै नेपाली माटोमा आफ्नो मौलिक अस्तित्व बोकेर मौलाउँदै फूल्ने फल्ने उपक्रममा जुटेको छ । नेपाली साहित्यकारमा यस विधाबारे विभिन्न मतमतान्तर रही आएता पनि सरल, सरस, सम्प्रेषणित, चतुस्पदीय संरचनामा आधारित रुवाइको आफ्नो छुट्टै पहिचान, विशेषता र अस्तित्व रही आएको पाइन्छ ।
साहित्यको उर्वरभूमि पूर्वाञ्चलको दमकमा “रुबाइ मञ्च नेपाल मूल समितिको पहलमा २०६७ सालमा राष्ट्रिय रुबाइ महोत्सव सम्पन्न भइसकेको छ । पूर्वाञ्चलबाट प्रकाशित दुई दर्जन बढी रुबाइ काव्य संग्रह विभिन्न पत्रपत्रिकामा प्रकाशित विशेषाङ्क, रचनाहरु, विभिन्न सभा, गोष्ठी, समारोह, भाषण, उद्घोषण कार्यक्रमहरुमा वञ्चित, यो विधाको परिधि असिमित रुपमा फैलदै भुटानी साहित्यकारमा प्रवेश गरी अझ सघन बन्दै गइरहेको छ । तसर्थ, यस रुबाइ विधाको लोकप्रियता बारे बखान गरिरहनु नपर्ने स्थिति जगजाहेर नै छ । वास्तवमा वर्तमान साहित्यिक परिवेशमा धेरै लेखिने धेरै वाचन गरिने विधा नै रुवाइ हो भन्दा दुईमत नहोला । कुनै पनि कार्यक्रममा उत्साहपूर्वक हुने मानौ भान्सामा चटनीको काम रुबाइले गरिरहेको छ । रुबाइ विधाबारे यस पंक्तिकारको गहन अध्ययन र दखल नरहेता पनि यस विधाको मोहक, रुप, छटाको आकर्षण र अनुरागका कारण थोरबहुत लेख्ने, पढ्ने कार्य भइरहेको छ । यसैक्रममा झापा दमकका स्रष्टा अशोक बस्नेतको रुबाइ काव्य “तिमीलाई” सर्सति रुपमा पढेर एउटा सामान्य पाठकको हैसियतले स्वयम्ले अनुभूत गरेका भावहरु शब्दमार्पmत सार्वजनिक गर्ने उपक्रममा जुटेकी छु ः–
रुबाइ काव्य “तिमीलाई” पल्टाउँदा यसभित्र तीन खण्डहरु पाए । जीवन, मान्छे र प्रेम । प्रथम खण्ड जीवन– यसमा ३६ ओटा रुबाइ समेटिएका छन् । दोस्रो खण्ड मान्छे जसमा ३२ ओटा रुबाइहरु समेटिएका छन् । अन्तिम खण्ड प्रेम – यसमा ४२ ओटा रुबाइहरु रहेका छन् । प्रथम जीवनबाट मैले मनपरेको एउटा रुबाइ प्रस्तुत गरेकी छु ः–
फूल्नु भनेको ओइलिनु र मर्नु हो
जन्मनु भनेको बाँच्नु र मर्नु हो
अन्यौलमा किन पर्नु विवेकशील मान्छे
जीवनको सार असल काम गर्नु हो
माथि उल्लेखित स्रष्टाले जीवन बोलेका छन् । वास्तवमा हामी मानव मानवता नबाँचेर फकत ढोंग र आडम्बर बाँचिरहेका छौँ । मानव जीवनको साश्वत सत्यलाई बिर्सेर आडम्बरको खास्टोले मोरिएर अहंकारले फूलेर, स्वार्थको हिलोमा लटपटिएर कुरुपता प्रदर्शन गरिरहेका छौँ । आफ्नो उन्नतिमा रमाउँदछौ, अवनतिमा रुन्छौँ । अरुको उन्नतिमा रुन्छौ, अवनतिमा हाँस्दछौ । सुख, सयल, स्वार्थमा लिप्त हामी मानव परोपकार, परार्थ, परिश्रम त्यागेर मृगतृष्णा बाँचिरहेका छौँ । हामीलाई ज्ञात छ हामी पृथ्वीका सर्वश्रेष्ठ प्राणी हौ । हामी जन्मेपछि मर्दछौ जहाँ जीवन छ त्यहाँ मृत्यु अवश्य छ । तथापि, जानाजान अञ्जान बनेर आँखामा पट्टी कसेर कानमा ठेडी कोचेर गन्धारी राग अलापिरहेछौँ । हामी आँखा भएको अन्धो कान भएको बहिरो सम्वेदनविहीन मुटु बोकेर बुख्याँचामा जीवन बाँचिरहेका छौँ । यस परिप्रेक्ष्यमा स्रष्टाले जीवनको साश्वत सत्यलाई सटीक शब्द शिल्पद्वारा कलात्मक रुपमा जीवन बोलेर मानवलाई मानवतामा बाँच्न उत्प्रेरणा दिएका छन् ।
त्यस्तै, दोस्रो खण्ड मान्छेबाट मैले निम्न रुबाइलाई उठाएकी छु ः–
औशीँको रातमा जून खोज्छौ
यहाँ नुन छैन सुन खोज्छौ
आफ्नो भेष, भाषा, संस्कृति बिर्सिएर
नक्कलल गर्दै विदेशी हुन खोज्छौ

वास्तवमा हाम्रो समाज अनि हामीहरु भौतिकवादी सोचले ग्रस्त भएर रुमल्लिएका छौँ । पुराना पुस्ताका अर्ति उपदेशलाई रुढी वादीको संज्ञा दिई नव पाश्चात्य फेसन र जीवन शैली अपनाउन उद्यत भएका छन् । त्यसैले त सुन फल्नेबारी र टारी बाँझै राखेर अरबको भूमिमा भेडीगोठालो हुन मञ्जुर छन हाम्रा नवपुस्ताहरु । आफ्नो भेष, भाषा, संस्कृति क्रमशः त्याग्दै विदेशी भाषा, भेषमा रमाउन चाहन्छन् नवपुस्ता । यसो हुँदा पुराना पुस्ता र नयाँ पुस्ताको सोच अवधारणामा मेल छैन । आफ्नो मौलिक पहिचान के हो ? अनुसन्धान, संरक्षण र सम्वर्धन गर्ने कसले ? घर समृद्ध भए समाज र राष्ट्र समृद्ध हुन्छ भन्ने कुरा ज्ञात हुँदा हुँदै पनि हाम्रो खोक्रो आडम्बरमा रमाउन लालयित भएका छौँ । वास्तवमा नढाँटी भन्नु हो भने हामी अर्काको प्वाँख टाँसेर नक्कली मयुर बनिरहेका छौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् (मुनामदनमा) हातको मैला सुनको थैलो के गर्नु धनले – साग र सिस्ना खाएको बेस आनन्दी मनले । वास्तवमा हो पनि वर्तमान परिवेशमा लाखौँ युवा धन कमाउने बहानामा घरखेत बन्धक राखी अन्यत्र मुलुकमा रगत पसिना खन्याइरहेका छन् । विदेशी मुलुकमा दुःख गरेर आर्जन गरेको सम्पत्तिको सही सदुपयोग हुन सकिरहेको छैन । बढ्दो विलासिताले पारिवारिक विखण्डनको दर उच्च गतिमा बढिरहेको छ । कैयौँ नेपाली, नेपाली नारीहरुले अमानवीय यातना झेलिरहेका छन् । कैयौँले मृत्युवरण गरिरहेका छन् । यिनै जीवनभोगार्ईहरुलाई स्रष्टाले व्यङ्यात्मक रुपमा सटीक तरिकाले हामी र हाम्रो यथार्थ, रितितिथि र नियतिहरुलाई कलात्मक रुपमा पाठकसामु पस्किएका छन् ।
त्यस्तै अन्तिम खण्ड प्रेमबाट एउटा रुबाइ टिपेकी छु ः–
हिड्दा हिड्दै बाटो मोडियो कसरी
बोल्दा बोल्दै नाता जोडियो कसरी
सँगै मर्ने सँगै बाँच्ने कसम खाएर
अचानक नाता तोडियो कसरी

मैले माथि नै उल्लेख गरिसकेकी छु हामी मानव विशुद्ध मानव भएर बाँच्न सकिरहेका छैनौँ । हामी भित्र स्वार्थ छ । ढोंग छ । आडम्बर छ । अनि छ अन्तत मृगतृष्णा । हामी आफूले आफैलाई ठम्याऔँ । हामी कति विशुद्ध छौँ ? हामी कति स्वार्थरहित परार्थम बाँचिरहेका छौँ । म, मेरो भन्ने भावनाबाट कति पर रहेर हामी हाम्रो भन्ने साझा भावनाको विकास गरेका छौँ । हिजो जो–जो हामीहरु हामीसँग थिए । आज ती हामीसँग छैनन् । कारण हामीमा निहीत स्वार्थ । मृगतृष्णा । वास्तवमा हाम्रो यथार्थ यही हो र यात्रा भन्ने कुरो यस्तै हो । हिड्दा अथवा यात्रा शुरु गर्दा सामुहिक रुपमा पाइला चालेता पनि गन्तव्यमा पुग्ने केही हुन्छन् । हामी जुन अटोठ र उद्देश्य प्राप्तिका निमित्त एकबद्धरुपमा अघि बढेका हुन्छौँ, निर्दिष्ट लक्ष्यमा पुग्नुभन्दा अगावै हामी आ–आफ्ना स्वार्थमा त्यतै कतै अल्मलिन्छौँ, अल्मलिन्छौँ र हराउँछौ पनि । मानौ गतिशील संसारको रीत यही हो । यथार्थमा कोही कसैको साथ हुँदैन । साथको एउटा भ्रम मात्र हो । लड्दै, पछारिँदै, ठोकिँदै, घिस्रदैँ यात्रा त एक्लैले तय गर्नुपर्दछ नै ।
प्रथम खण्ड जीवनमा त्यति सटिक जीवन दर्शन बोल्ने स्रष्टाले अन्तिम खण्ड प्रेममा यस प्रकारको प्रश्नवाचक भावहरु दर्शाउनु त्यति सान्दभिक नदेखिएता पनि यसलाई मैले प्रेम कै परिवेशमा राखेर सान्दर्भिकै ठानेकी छु । भनिन्छ नि प्रेम र युद्धमा सब जायज हुन्छ । वास्तवमा “तिमीलाई” रुबाइ काव्य अधोपान्त पढेर पनि आफूलाई छोएको रुबाइहरु टिपेर एउटा पाठकको अनुभूतिहरु बाँड्ने जमर्को गरेकी छु । समग्रमा रुबाइ “तिमीलाई” पठनीय र समयसापेक्ष छ । यस भित्र स्रष्टाले वैचारिकता, सन्देश, प्रेम, नैराश्यता मानवजन्य सम्पूर्ण भावहरु पस्किएका छन् । वास्तवमा साहित्य साधान हो । आजको यो भौतिकवादी परिवेशमा सबैलाई हतारो छ चटारो छ आनन्दले श्वास लिने सम्म फुर्सद छैन । यस्तो परिस्थितिमा समय चोरेर साहित्य साधनामा रत स्रष्टा अशोक बस्नेत प्रति चेलीको तर्पmबाट निरन्तरताको आग्रह सहित उत्तरोत्तर प्रगतिको आशिर्वाद ।
कृति ः तिमीलाई
विधा ः रुबाइ
प्रति ः ११११
आवरण ः बिरु वनेम
कम्प्युटर ः याम थुलुङ
चित्रकला ः किरण गुरुङ (पेले)
मुद्रण ः स्रष्टा छापाखाना, दमक – ११ , झापा

0 प्रतिकृया:

Post a Comment