हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

चिहानका कारण वनक्षेत्र संकटमा

– विमल लामिछाने   

दमक । वन क्षेत्रमा कंक्रीट चिहान (कपुरथान ) वनाउदा यसले पुरयाउने असरवारे विभिन्न चेतनामुलक कार्यक्रम गरिदै आएपनि यो प्रथा अझै रोकिएको छैन ।
विभिन्न जातीय संस्थाहरुको पहलमा यो प्रथा रोक्न प्रयास गरिएपनि संस्कारलाई परिवर्तन गर्न सकिएको छैन । तराइका विभिन्न स्थानहरुमा रहेका वनक्षेत्र र सार्वजनिक जमिनमा कंकिट चिहान महंगोगरी वनाउने होडवाजीले वन क्षेत्र संकटमा पर्ने गरेको वातावरण विद्हरुको भनाई छ ।
 रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले समुदायमा जनचेतना नभएसम्म क्रंकिट चिहान बनाउने कार्य नरोकिने बताए । वातावरणको हिसावले बनजङ्गलको संरक्षण गर्नुपर्ने भएपनि संस्कार र संस्कृतिको नाममा जथाभावी क्रंकिटद्धारा चिहान बनाउदा बनजङ्गल मरुभूमिकरण हुने सम्भावना छ ।’–उनले भने ।
राई, लिम्बु, सुनुवार, याक्खा, तामाङ्ग, मगर, गुरुङ्ग लगायत विभिन्न जात—जातिहरुले पुरानो आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिने क्रममा मृत शरीरलाई माटोमा जलाएर वा पुरेर त्यसमाथि कंक्रिट चिहान बनाइने गरेको छ ।  यो क्रम पछिल्लो समयमा पनि प्रतिस्पर्धा भइरहेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राईले बताए । उनले आदिवासी समुदायभित्र विभिन्न जातजाती र समुदायमा पक्की चिहान बनाउने प्रतिस्पर्धा भएको बताउदै राज्यस्तरवाट उचित व्यवस्थापनका लागि पहल गरिनुपर्ने र वातावरण स्वच्छ राख्न जनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताए ।
 किरात राई यायोख्खा झापाका सचिव दीपेनवाला राईले उचित व्यवस्थापन नभएको भन्दै पहिचानका नाममा यस्ता कंक्रिट चिहान निर्माणमा ठूलो धनरासी खर्च गरिदै आएको बताए । उनले क्रमिक रुपमा यसलाई सुधार गर्ने आदिवासी जनजाति महासंघमा आवद्ध जातीयसंघसंस्थाले पहल सुरु गरिएको भएपनि त्यो पर्याप्त हुन नसकेको जनाए । जङ्गल र सार्वजनिक क्षेत्रमा मात्र होइन आफ्ना निजी जमिनमा पनि अनावश्यक खर्च गरी क्रंकिट चिहान बनाइनु राम्रो नहुने उनको भनाई छ ।
  मोरङ उर्लावारी ६ का मेहेरमान लिम्वुले प्रतिशपर्धाकै आधारमा यो क्रम रहेका कारण आफन्तहरुलाई सजग गराउँदै यसको स्थानमा धुले चिहान बनाई त्यसको वरीपरी विरुवा रोप्न सल्लाह दिदै आएको वताए ।
 सहप्राध्यापक विना राईले पुरानो संस्कृतीको कारण यो प्रथा वदल्न गाह्रो परिरहेको वताइन् । पारिवारिक सरसफाईको दृष्टिकोणले शौचालय वनाउन नसक्नेहरुले पनि आडम्वरकै लागि कंक्रिट चिहान निर्माण गर्ने काम नरोकिएको हो ।
  जिल्ला वन कार्यालय झापाले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराएको भएपनि यो क्रम रोकिएको छैन । झापाका पूर्वपश्चिम राजमार्गको करिब ४० किलोमिटर लम्वाई र करिव २० हेक्टर क्षेत्रफल कंक्रिट चिहानले ओगटेको छ । चिहानले १ देखि ३ धुर क्षेत्रफल ओगट्ने गरेको र यो क्रम नरोकिने हो भने विस्तारै जंगल चिहानमा परिणत हुने सम्भावना बढ्दै गएको छ । झापाको सितापुरी, केर्खा, धरमपुर, माईधार, झिलझिले, चारआली, धाईजनमा क्रंकिट चिहान निर्माणकार्य व्यापक छ । मोरङको पथरीशनिश्चरे, बयरबन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरान सहितका ठाउँमा कंक्रिट चिहानघारी छन् ।
झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङका अनुसार जनचेतनामूलक कार्यक्रम मार्फत यस्ता चलनलाई न्युनिकरण गर्न सकिन्छ । तर  कंक्रीटका कारण वन क्षेत्रमा नया विरुवा उम्रने उर्वराशक्ति ह्रास आउनेछ ।

हात्ती धपाउन ट्रयाक्टरको प्रयोग

झापा । झापाको उत्तर पूर्वी बाहुनडाँगी गाविसका किसानले जङ्गली हात्ती धपाउन ट्याक्टर प्रयोगको नयाँ जुक्ति निकालेका छन् ।
मेची सीमापारि भारतबाट हरेक साँझ नेपाल पस्ने हात्तीको बथानले खेतमा पाकिसकेको अन्न बाली मकै र धानसहित केरा, सुपारी, कटहरलगायत फलफूल खाएर सखाप पार्ने गरेको छ । यस अवस्थामा साँझमा हात्ती आएको थाहा पाउनासाथ गाउँले ट्याक्टर चलाएर हात्ती तर्साउन निकालिएको नयाँ उपाय प्रभावकारी बन्दै गएको प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले बताए । ट्याक्टरको चर्को आवाज सुनेपछि हात्ती भाग्ने गरेको छ । ट्याक्टरको हेडलाइट बाल्दासमेत हात्ती भाग्ने गरेको छ ।
३० हजार जनसङ्ख्या रहेको बाहुनडाँगी गाविस झापाको सर्वाधिक हात्तीपीडित क्षेत्र हो । भारतको आसामदेखिका हात्ती मेची तरेर बाहुनडाँगी हुँदै नेपालमा पस्ने गरेका छन् ।
जेठ लागेपछि मकै र धान खान दिनहुँ हात्ती आउने गरेकाले स्थानीयवासीले मुख्य गांैडामा ६ वटा ट्याक्टर हात्ती धपाउन प्रयोग गर्दै आएको बाहुनडाँगीका पत्रकार शिशिर चम्लागाईंले जानकारी गराए । हात्ती धपाउन प्रयोग हुने ट्याक्टरका लागि चाहिने इन्धन खर्च स्थानीय गाविसले दिने आश्वासन दिएको स्थानीयवासी बताउँछन् ।
यसअघि बाहुनडाँगीमा हात्ती धपाउन टुङ र सुरुङ बार र विद्युतीय तारको घेराबेरा गरिएको थियो । ती उपायले पनि हात्तीको आतङ्कमा कमी नभएपछि चिन्तित भएका किसानले पछिल्लो समयमा ट्याक्टर प्रयोग गरिरहेका छन् ।

नक्कली चेक प्रकरणका पक्राउ परेनन्

दमक । ढुकुरपानी उच्च मावि दमकको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाताबाट नक्कली चेक प्रयोग गरी ५ लाख रुपैयाँ चोरी भएको १३ दिनसम्म पनि चोरी गर्ने पत्ता लाग्न सकेको छैन ।
दमक र बिर्तामोड बैंकले अध्ययन गरेर प्रतिवेदन बैंकको क्षेत्रीय कार्यालयलाई पठाएर अनुसन्धान भइरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक लिलानाथ खनाल र सेवानिवृत्त भइसकेका पहिलाका खाता सञ्चालक शुरुवीर श्रेष्ठले हस्ताक्षर रहेको  ३ र १३ नम्वरको फर्फी चेक प्रयोग गरी बैंककै बिर्तामोड शाखाबाट दुई पटक रकम चोरी भएको छ ।
बैकको क्षेत्रीय कार्यालयका प्रमुख गोपाल पौडेलसंग टेलिफोन सम्पर्क गर्दा बैंककोतर्फबाट कमजोरी नभएको र अनुसन्धानपछि जसले चोरी गरेको हो त्यसलाई कारवाही हुने बताए । मंगलबार इलाका प्रहरी कार्यालय दमकले बैंकको दमक शाखा प्रवन्धक बासुदेव बराल, बिर्तामोड शाखाका प्रवन्धक किशोर अधिकारी, प्रधानाध्यापक खनाल  र सेवानिवृत्त  शिक्षक शुरवीर श्रेष्ठ  र लेखापाल चुडामणी पोखरेललाई बोलाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भीम सिलवालले बताए ।
बैंकको खाता नम्वर १९०० ÷२१४००००१९००१ बाट गत बैशाख ३ गते १ लाख ५० हजार रुपैया र चैत ३० गते ३ लाख ५० हजार रुपैयाँ फर्जी चेक प्रयोग गरेर चोरी भएको विद्यालयले जनाएको छ । बैंकको चरम लापरवाही रहेको भन्दै प्रधानाध्याक खनालले भने ‘सुरवीर श्रेष्ठ र मेरो हस्ताक्षर नभएर नक्कली हस्ताक्षर गरेर पैसा निकालिएको छ ।’
उता, विर्तामोड शाखाका प्रवन्धक अधिकारीले भनें बैंकको कमजोरी भएको स्वीकार्दै  त्यसको छानविन बैंकको क्षेत्रीय कार्यालय बिराटनगरले गरिरहेको जनाए ।
जेठ ६ गते  शिक्षकहरुको संचयकोष  जम्मा गर्न आउँदा खातामा पैसा नभएको दमक शाखाले  बिर्तामोड शाखाबाट रकम भूक्तानी  भइसकेको जानकारी दिएपछि खैलाबैला मच्चिएको थियो ।

टाइव्रेकरमा युनाइटेड क्लव विजयी

दमक । दमक १२ मा जारी फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा फरेन युनाइटेड क्लव दमक विजयी भएको छ ।
 अन्तिम क्वाटर फाइनल खेलको निर्धारित समयमा र थप १० मिनेट अवधिमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि टाइव्रकेरमा युनाइटेड क्लव बिजयी भएको हो ।  उसले  टाइव्रकेरमा ३–० गोल अन्तरले आकर्षक मेनपावर युनाइटेडलाई हराएको छ । बुधवारबाट शूरु हुने  प्रतियोगिताको सेमीफाइनल  खेल मिलन एफसी बी दमक र आयोजक भिएफसी दमकबीच हुने आयोजकले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारी चौकमा मंगलबार विहान मोटसाइकल र बस जुद्धा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । मोटरसाइकलमै सवार दुई जना घाईते भएका छन् ।
दुर्घटनामा उर्लाबारी—३ सुर्यचौकका १९ बर्षीय सविन पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दक्षिणबाट उत्तर तर्फ गुडिरहेको मे.२ प. ३५९ को मोटरसाईकललाई पश्चिम दिशाबाट गइरहेको ना. ५ ख. ४७८३ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएका पौडेलको उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल लैजादै गर्दा बाटैमै ज्यान गएको हो ।
घाइतेमध्ये मोटरसाइकल चालक इलाम साक्फारा—५ का २६ बर्षीय चित्र राईको न्यूरो हस्पिटल र उर्लाबारी—३ की २८ बर्षीय उमा निरौलाको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी प्रमुख श्रीराम भण्डारीले जानकारी दिए । बस र बसका चालक विराटनगर—२ निवासी ४८ बर्षीय सोमनाथ नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२ तला बढीका घर भत्काइने

मोरङ । मोरङको विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी २ तलाभन्दा माथि बनाइएका घर उपमहानगरपालिकाले भत्काउने भएको छ ।
सरकारी निर्णयअनुसार यसबेला विराटनगर क्षेत्रमा दुई तलाभन्दा माथिको घर निर्माण बन्द गरिएकाले त्यसभन्दा बढी तलाको घर बनाएको भए भत्काइने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जनाए । यसबारे वडा सचिवको भेला चाँडै डाकिने बताए । उपमहानगर क्षेत्रका २२ वटै वडाका सचिवको भेला बोलाई मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिइने रेग्मीले जानकारी दिए ।

भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण रुपमा क्षति भएको छ भने १० हजार ५ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी, भोजपुरमा १ हजार ४ सय १४, संखुवासभामा १ हजार १ सय १६, इलाममा ३ सय १६, झापामा ६२, ताप्लेजुङमा ५१, पाँचथरमा २५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, धनकुटामा ५ सय ९० घरमा पूर्ण रुपमा भत्किएका छन् भने २ हजार ४ सय ५३ घरमा सामान्य क्षति पुगेको छ ।  सुनसरीमा ४ घर पूर्ण क्षतिग्रस्त छन् भने १ सय ८२ घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुमा २ हजार ५ सय घरमा पूर्ण रुपमा भत्किएका छन् भने ६ हजार १ सय ७६ घरमा सामान्य क्षति क्षति पुगेको छ । खोटाङमा २ हजार १ सय १० घर पूर्ण क्षतिग्रस्त हुँदा ४ हजार ९ सय ८६ घरमा 
आंशिक क्षति पुगेको छ । उदयपुरमा ९५ घर क्षतिग्रस्त हुँदा ७ हजार ४ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सिराहामा ८७, सप्तरीमा १ सय ३ र मोरङमा ५० घरमा आंशिक क्षति पुगेको बताइएको छ । 
 क्षेत्रीय प्रशासन कार्यालयको विवरण अनुसार इलाममा ३४ घरमा पूर्ण क्षति भएको छ भने ४२ घरमा आंशिक क्षति पुगेको छ । संखुवासभामा ८८ घरमा पूर्ण क्षति र २ सय ८ घरमा आंशिक, सोलुखुम्बुमा ७५ मा पूर्ण क्षति र १ सय ४२ मा आंशिक क्षति ओखलढुंगामा १ घरमा पूर्ण क्षति र १ सय ९१ मा आंशिक क्षति, उदयपुरमा ५२ मा पूर्ण क्षति र ४६ घरमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । त्यस्तै, ताप्लेजुङमा ६९, पाँचथरमा ४०, झापामा ४६, भोजपुरमा २१, तेह्रथुममा ६०, धनकुटामा ३९, मोरङमा ५१, सुनसरीमा १ सय १६, सिराहामा ३०, र सप्तरीमा २७ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण पूर्वाञ्चलमा ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८५ चौपाया मरेका छन् । ३ सय ९३ जना घाइते भएका छन् । ज्यान गुमाएका र घर क्षतिग्रस्त भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय, दैवीप्रकोप उद्धार समिति, सामाजिक संघसंस्था मार्फत राहत वितरण भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले बताए ।

अग्ला टावरका कारण स्थानीय त्रसित

दमक । विभिन्न सञ्चार संस्थाहरुका दर्जन भन्दा वढी अग्ला टावरहरु  महाभुकम्प र हावाहुरीका कारण ढल्नसक्ने खतरा बढेपछि झापाका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
 महाभुकम्प र हावाहुरीका कारण भौतिक संरचनामा पुगेको क्षतिले मानवीय दुर्घटना हुने सम्भावना भएपछि झापाको दमकमा रहेका अग्ला संरचनावाट स्थानीयहरु त्रसित बनेका हुन् । त्रासकै कारण दुरसञ्चार संस्थानले बनाएको दमकको टावर (आवाघर) घटाइने भएको छ । नेपालको सवैभन्दा अग्लो टावरमध्ये दमकमा अवस्थित नेपाल टेलिकमको टावरलाई  घटाइने भएको हो । दमक–१ मा अवस्थित सो टावर ४२ बर्षअघि बनेका थियो । यो नेपालको दोस्रो अग्लोे टावर हो । यो भन्दा अग्लो सिराहाको दुरसञ्चार टावर (१सय ३१ मिटर) रहेको छ ।
टेलिकम दमकका प्रमुख बिनोद कडुवालका अनुसार बेलायत सरकारको सहयोगमा बनाइएको १ सय २८ मिटर अग्लो गाइड वायर टावरको साटो छेउमा ८० मिटर अग्लो सेल्फ स्ट्याण्ड टावर खडा गरिएको केहि समयभित्रै पुरानो अग्लो टावरमा रहेका मोबाईल, सिडिएमए, रेडियोलिंक र रिपिटर इक्विपमेण्ट होचो टावरमा सारिने भएका छन् । उनले टावर हटाइसक्न भने करिब एकबर्ष लाग्ने बताए ।
त्यसैगरी दमक—११ स्थित सप्तरङ्गी एफ.एम.को आफ्नो निजी टावरका कारण आसपासमा रहेका सर्वसाधरणहरु त्रसित बनेका छन् । मेची सहकारी संस्थाको भवनमा अवस्थित सो एफ.एमको अग्लो टावरले आसपासमा व्यवसाय गरी वस्नेहरुलाई समस्या भएको जनगुनासो छ । पटक पटक आइरहने पराकम्पन र हावाहुरीले अग्लो टावर ढल्नसक्ने अवस्थामा पुगेका छन् । दमक नगरपालिका कार्यालयको प्राविधिक टोलीले दमकक्षेत्रमा रहेका टावर र टावर राखिएको घरको अनुगमन गरिसकेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार नगरवासीहरुले आ–आफ्ना क्षेत्रमा रहेका टावर हटाइनुपर्ने माग राख्दै आएका छन् । ती टावर र टावर राखिएको घरको संरचनाहरु के कस्तो छ भन्ने बारेमा प्राविधिकको टोलीले अनुगमनपछि प्रतिवेदन मार्फत अघि वढ्ने अधिकृत दाहालले जानकारी दिए । भवनहरु अग्ला छन् अनि त्यस माथि अग्लो टावर छ, भुकम्प र हावाहुरीले हल्लाउने गर्दा कहिले लड्छ भन्ने चिन्ता स्थानीयको छ । भूुकम्प र हावाहुरीले अग्ला र पुराना संरचनाहरु भत्काउन थालेपछि त्यस्ता संरचनालाई समयमा मर्मत—संम्भार गरिनुपर्ने स्थानीय व्यावसायीहरु बताउँछन् । त्यसो त दमक—११ मा रहेका वल्र्ड लिङ्क, लुिम्बनी नेट, नेपाल नेट संसारको टावर र टावर राखिएको घरको संरचना समेत कमजोर भएको छ ।  सो टावर भएको घर या अन्य ब्यापारिक भवनमा बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका कारण यी संरचना ढल्दा ठूलो क्षति हुने जानकारहरु बताउँछन् ।

वैज्ञानिक वन व्यवस्थापनमा जोड

पथरी । जिल्ला बन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले पुस्ता पुस्तासम्म निरन्तर बन पैदावार उपभोगका लागि बैज्ञानिक बन ब्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन् ।
सोमबार मोरङको पथरीशनिश्चरेमा ‘बैज्ञानिक बन व्यवस्थापनका चुनौती र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले सो कुरा बताएका हुन् । जिल्ला बन कार्यालयको सहयोगमा नेपाल पत्रकार महासंघ मोरङ र पथरी सम्पर्क कार्यालयले आयोजना गरेको सो अन्तरक्रियामा जिल्लामा ६ वटा सामुदायिक बन सहित राष्ट्यि बनमा समेत बैज्ञानिक बन व्यवस्थापनको काम शुरु भएको ज्ञवालीले उल्लेख गरे । ज्ञवालीले बनलाई ब्लक ब्लकमा विभाजन गरेर उमेर पुगेका रुखहरु हटाउने र निरन्तर नयाँ विरुवा हुर्काएर निरन्तर उपभोग गर्न मिल्ने अवस्था सिर्जना गर्ने काम आजको आवश्यकता रहेको चर्चा गरे । सामुदायिक बन क्षेत्रका उपभोक्ता भन्दा टाढा रहेका उपभोक्ताहरुका लागि समेत बन पैदावार उपभोगको वातावरण बनाउँदै सरकार र स्थानीयको साझेदारीमा बन व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे । सुन्दरदुलारीको लाटीझोडा, केराबारीको प्रस्तावित लोहन्द्रा र पथरी शनिश्चरेको उत्तरको बनलाई साझेदारी बनका रुपमा बन व्यवस्थापन कार्यक्रम शुरु भएको छ । सामुदायिक बनतर्फ, नमूना, हरियाली, सिद्धार्थ, दिपज्योति र अहाले सामुदायिक बन क्षेत्रमा पनि बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम शुरु भएको जिल्ला बन कार्यालयले जनाएको छ । कार्यक्रममा, पत्रकार महासंघका जिल्ला अध्यक्ष महेन्द्र विष्ट, सहसचिव मोहन भट्टराई लगायतले पनि बोलेका छन् ।

आगलागीमा ५ घर जले

इलाम । इलामको नयाँबजारमा सोमबार आगलागी हुँदा ५ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो नियन्त्रणमा लिन अर्को एउटा घर भत्काइएको छ । स्थानीय कुमार तामाङ्गको घरबाट करिब १२ बजे बाट सुरु भएको आगलागीको कारण तामाङ्ग सहित धन बहादुर भण्डारी, पदम भण्डारी, देवी भण्डारी र राजु भण्डारीको घर पुर्ण रुपमा नष्ट भएको छ ।  वाङ्गचु शेर्पाको घर घत्काइएको छ । आगो अहिले प्रहरी स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको छ । स्थानीय शिक्षक देवी सुवेदीका अनुसार आगलागि भएको स्थान नजिकै पानी ट्याङ्की रहेकोले आगो नियन्त्रण गर्न सहज भएको हो । आगोले नस्ट भएको घरबाट कुनै सामाग्री निकाल्न नसकिएकाले ठूलो क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म क्षतिको विवरण सङ्कलन भइसकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको स्थानीय पत्रकार राजकुमार दहालले जानकारी दिएका छन् ।