अग्ला टावरका कारण स्थानीय त्रसित

दमक । विभिन्न सञ्चार संस्थाहरुका दर्जन भन्दा वढी अग्ला टावरहरु  महाभुकम्प र हावाहुरीका कारण ढल्नसक्ने खतरा बढेपछि झापाका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
 महाभुकम्प र हावाहुरीका कारण भौतिक संरचनामा पुगेको क्षतिले मानवीय दुर्घटना हुने सम्भावना भएपछि झापाको दमकमा रहेका अग्ला संरचनावाट स्थानीयहरु त्रसित बनेका हुन् । त्रासकै कारण दुरसञ्चार संस्थानले बनाएको दमकको टावर (आवाघर) घटाइने भएको छ । नेपालको सवैभन्दा अग्लो टावरमध्ये दमकमा अवस्थित नेपाल टेलिकमको टावरलाई  घटाइने भएको हो । दमक–१ मा अवस्थित सो टावर ४२ बर्षअघि बनेका थियो । यो नेपालको दोस्रो अग्लोे टावर हो । यो भन्दा अग्लो सिराहाको दुरसञ्चार टावर (१सय ३१ मिटर) रहेको छ ।
टेलिकम दमकका प्रमुख बिनोद कडुवालका अनुसार बेलायत सरकारको सहयोगमा बनाइएको १ सय २८ मिटर अग्लो गाइड वायर टावरको साटो छेउमा ८० मिटर अग्लो सेल्फ स्ट्याण्ड टावर खडा गरिएको केहि समयभित्रै पुरानो अग्लो टावरमा रहेका मोबाईल, सिडिएमए, रेडियोलिंक र रिपिटर इक्विपमेण्ट होचो टावरमा सारिने भएका छन् । उनले टावर हटाइसक्न भने करिब एकबर्ष लाग्ने बताए ।
त्यसैगरी दमक—११ स्थित सप्तरङ्गी एफ.एम.को आफ्नो निजी टावरका कारण आसपासमा रहेका सर्वसाधरणहरु त्रसित बनेका छन् । मेची सहकारी संस्थाको भवनमा अवस्थित सो एफ.एमको अग्लो टावरले आसपासमा व्यवसाय गरी वस्नेहरुलाई समस्या भएको जनगुनासो छ । पटक पटक आइरहने पराकम्पन र हावाहुरीले अग्लो टावर ढल्नसक्ने अवस्थामा पुगेका छन् । दमक नगरपालिका कार्यालयको प्राविधिक टोलीले दमकक्षेत्रमा रहेका टावर र टावर राखिएको घरको अनुगमन गरिसकेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार नगरवासीहरुले आ–आफ्ना क्षेत्रमा रहेका टावर हटाइनुपर्ने माग राख्दै आएका छन् । ती टावर र टावर राखिएको घरको संरचनाहरु के कस्तो छ भन्ने बारेमा प्राविधिकको टोलीले अनुगमनपछि प्रतिवेदन मार्फत अघि वढ्ने अधिकृत दाहालले जानकारी दिए । भवनहरु अग्ला छन् अनि त्यस माथि अग्लो टावर छ, भुकम्प र हावाहुरीले हल्लाउने गर्दा कहिले लड्छ भन्ने चिन्ता स्थानीयको छ । भूुकम्प र हावाहुरीले अग्ला र पुराना संरचनाहरु भत्काउन थालेपछि त्यस्ता संरचनालाई समयमा मर्मत—संम्भार गरिनुपर्ने स्थानीय व्यावसायीहरु बताउँछन् । त्यसो त दमक—११ मा रहेका वल्र्ड लिङ्क, लुिम्बनी नेट, नेपाल नेट संसारको टावर र टावर राखिएको घरको संरचना समेत कमजोर भएको छ ।  सो टावर भएको घर या अन्य ब्यापारिक भवनमा बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका कारण यी संरचना ढल्दा ठूलो क्षति हुने जानकारहरु बताउँछन् ।

0 प्रतिकृया:

Post a Comment