भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण रुपमा क्षति भएको छ भने १० हजार ५ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी, भोजपुरमा १ हजार ४ सय १४, संखुवासभामा १ हजार १ सय १६, इलाममा ३ सय १६, झापामा ६२, ताप्लेजुङमा ५१, पाँचथरमा २५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, धनकुटामा ५ सय ९० घरमा पूर्ण रुपमा भत्किएका छन् भने २ हजार ४ सय ५३ घरमा सामान्य क्षति पुगेको छ ।  सुनसरीमा ४ घर पूर्ण क्षतिग्रस्त छन् भने १ सय ८२ घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुमा २ हजार ५ सय घरमा पूर्ण रुपमा भत्किएका छन् भने ६ हजार १ सय ७६ घरमा सामान्य क्षति क्षति पुगेको छ । खोटाङमा २ हजार १ सय १० घर पूर्ण क्षतिग्रस्त हुँदा ४ हजार ९ सय ८६ घरमा 
आंशिक क्षति पुगेको छ । उदयपुरमा ९५ घर क्षतिग्रस्त हुँदा ७ हजार ४ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सिराहामा ८७, सप्तरीमा १ सय ३ र मोरङमा ५० घरमा आंशिक क्षति पुगेको बताइएको छ । 
 क्षेत्रीय प्रशासन कार्यालयको विवरण अनुसार इलाममा ३४ घरमा पूर्ण क्षति भएको छ भने ४२ घरमा आंशिक क्षति पुगेको छ । संखुवासभामा ८८ घरमा पूर्ण क्षति र २ सय ८ घरमा आंशिक, सोलुखुम्बुमा ७५ मा पूर्ण क्षति र १ सय ४२ मा आंशिक क्षति ओखलढुंगामा १ घरमा पूर्ण क्षति र १ सय ९१ मा आंशिक क्षति, उदयपुरमा ५२ मा पूर्ण क्षति र ४६ घरमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । त्यस्तै, ताप्लेजुङमा ६९, पाँचथरमा ४०, झापामा ४६, भोजपुरमा २१, तेह्रथुममा ६०, धनकुटामा ३९, मोरङमा ५१, सुनसरीमा १ सय १६, सिराहामा ३०, र सप्तरीमा २७ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण पूर्वाञ्चलमा ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८५ चौपाया मरेका छन् । ३ सय ९३ जना घाइते भएका छन् । ज्यान गुमाएका र घर क्षतिग्रस्त भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय, दैवीप्रकोप उद्धार समिति, सामाजिक संघसंस्था मार्फत राहत वितरण भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले बताए ।

0 प्रतिकृया:

Post a Comment