दमक/अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष ०७१÷०७२ का लागि प्रस्तुत गरेको बजेट प्रति पूर्वका उद्यमी, ब्यवसायीहरुले स्वागत गरेका छन् । पूर्वका उद्यमी, व्यवसायीहरुले आईतबार सार्वजनिक गरिएको बजेट निजी क्षेत्र मैत्री भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रसाईले सवै क्षेत्रलाई समेट्न बजेट प्रयासरत भएको प्रतिकृया दिएका छन् । उनले बजेट पृथक र सकरात्मक भएको भन्दै त्यसको सही कार्यान्वयन गर्नुपर्ने बताए । दमक उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका प्रसाईले भने–‘बजेटले शिक्षा, स्वास्थ्य, कृषि, उर्जा लगायतका आवश्यकीय पक्षमा केन्द्रित छ, यो सकरात्मक हो ।’ अध्यक्ष प्रसाईले यो बजेटले सवैलाई प्राथमिकता दिएको बताए । प्रसाईले पूर्वको औधोगिक करिडोर स्थापना गर्न प्राथमिकता दिन सक्नु पर्ने सुझाव दिए ।
झापा उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीले बजेट समग्रमा सन्तुलित रहेको बताए । बजेटलाई कार्यान्वयन गर्न चुनौती रहेको भन्दै कार्कीले नत्र बजेट आउने, जाने मात्र बन्न सक्ने टिप्पणी गरे । उनको भनाई छ –‘अहिलेको बजेटले मानिसको जनजीवनलाई उकास्न जोड दिएको छ ।’
नेपाल अलैँची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र घिमीरेले बजेट चुनौतीपूर्ण खालको आएको जनाए । उनले भने –‘बजेटले सवै महत्वकांक्षी योजनालाई समावेश गरिएको छ , यो कार्यान्वयन गर्न कठिन हुने छ ।’ बजेट झट्ट हेर्दा राम्रो देखिए पनि किसान लक्षित सम्म पुग्न नसकेको उनको भनाई छ । देशका ७० देखि ७८ प्रतिशत सम्म मानिस कृषि पेशामा निर्भर रहेको भएपनि अहिलेसम्मका अधिकांश बजेट ‘प्राईमेरी प्रोडक्ट’ गर्ने सम्म पुग्न नसकेको अध्यक्ष घिमीरे बताँउछन् । उनले यो बजेटले पनि कृषकहरुको निम्ती खासै कुनै योजनाहरु नल्याएको बताए । धेरै योजनाहरु आउँदो तीन बर्ष भित्रमा पूरा गर्ने बजेटमा उल्लेख गरिएको भए पनि कार्यान्वयनको चरणमा राजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता आउनु पर्ने उनको जोड छ । ‘हामीले पाएका धेरै बजेटको हालत यस्तै अवस्थाले कार्यान्वयन हुन सकेनन्’ अध्यक्ष घिमीरे भन्छन् ।
दमक बहुमुखी क्याम्पसकी अर्थशास्त्र प्राध्यापक राधिका अधिकारीले बजेट परम्परागत ढंगबाट आएको बताईन् । ‘बजेटले देश निर्माणको क्षेत्रमा केहि गर्न खोजिएको छ ।’ बजेटका बारे आफना धारणा राख्दै प्राध्यापक अधिकारीले भनिन् –‘आर्थिक विकासका मूलभूत आधार उर्जा, कृर्षि तथा पर्यटनमा जोड दिनु राम्रो पक्ष हो ।’ उनले यो वजेटले स्वास्थ्य क्षेत्रमा अघिल्लो बर्ष भन्दा रकम कटौती गर्दा सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन समस्यामा पर्नेे बताईन् ।
सरकारले ब्यापार घाटा कम गर्दै गरिवी निवारण र युवा स्वरोजगारका क्षेत्रमा प्रोत्साहीत गर्ने कार्यक्रमहरु आउन नसकेको बताईन् । उनले बजेटले सवै क्षेत्रलाई समेट्न खोजिए पनि कार्यान्वयन गर्न चुनौती रहेको बताईन् । उनले थपिन् –‘बजेटलाई सहि कार्यान्वन गर्न सकिए त्यसले सवैको हित गर्छ ।’
मोरङ व्यापार संघका अध्यक्ष अविनास बोहराले बजेट निजी क्षेत्रले खोजेको जस्तो वजेट आएको बताउँदै ऊर्जा सङ्कट तीन वर्षमा हटाउने कुरा सराहनीय भएको, कृषि पशुपालनमा ६ प्रतिशतमा ऋण लगानी, भौतिक पूर्वाधार निर्माण गर्ने कार्य राम्रो भएको बताए ।
उनले स्वास्थ्य, शिक्षा, विराटनगर विमानस्थल चक्रपथ निर्माण, दु्रत राजमार्ग निर्माणमा रकमको विनियोजन हुनु सवल पक्ष भएकाले वजेट लगानी मैत्री रहेको स्पष्ट पारे ।
उद्योगपति नवीन रिजालले वजेटमा वृद्ध क्लब स्थापना चेपाङ, दलित, डोम एवम दलित समुदायका चिकित्सक, इन्जिनियरिङ शिक्षा आर्जनमा निःशुल्क गर्नु राम्रो रहेको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिव शङ्कर अग्रवालले चिनी उद्योगबाट खेर गइरहेको
इथानोल १० प्रतिशत सरकारी गाडीमा प्रयोग गर्ने राम्रो घोषणा भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन दिन १५ प्रतिशत उच्च मूल्य राखी सामग्री विक्री गर्ने कार्यबाट उद्योग व्यवसाय वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे । महिला व्यवसायी एवं गृहणी विजया दाहालले महिला सशक्तीकरणका लागि मंगला–साहना महिला पुर्नस्थापना निर्माण गर्नु सराहनीय कार्य भएको बताउँदै ७० वर्ष उमेर माथिका वृद्धवृद्धालाई वार्षिक २ हजार स्वास्थ्य उपचार रकम दिनु स्वागत योग्य रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मी कुमोद अधिकारीले बजेटमा विराटनगरबाट गोरखापत्र प्रकाशन गर्ने कुरा आउनु स्वागत योग्य भएको बताउँदै रेडियो नेपालका संस्थापक स्व.तारणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चार केन्द्र स्थापना सञ्चारमा नयाँ आयाम थपिने बताए ।
0 प्रतिकृया:
Post a Comment