अग्र्यानिक धान खेतीमा महिला कृषक समूह

सुरुंगा/झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका महिलाहरु अग्र्यानिक धान खेतीमा आकर्षित भएका छन् । डेढ बिगाह जग्गामा संगोल महिला कृषक सहकारी संस्थामार्फत उनीहरुले अग्र्यानिक धान खेती गर्दैआएका हुन् ।
 ५७ जना महिलाहरुलाई संगोल महिला सहकारी संस्था भित्र समाहित गरी उक्त महिला सहकारी संस्थाले विभिन्न कृषिजन्य कार्यहरु गर्दै आएको छ । यही सन्दर्भममा उक्त महिला कृषक सहकारी संस्थामा आवद्ध सम्पूर्ण संस्थाका सदस्यहरुबाट गत शनिबार निःशुल्क श्रमदान गरी धान रोपेर समाजलाई समेत महिलाहरु एकजुट हुँदाको पहुँचका बारेमा दरिलो उदाहरण दिएका छन् । उक्त महिला कृषकहरुको समुहले वार्षिक रुपमा ४० मन धान जग्गा धनीलाई दिने सर्तमा यस वर्षबाट अग्र्यानिक धान खेती गरेका हुन् । कनकाई नगरपालिका वडा नं. ४ मा रोपिएको उक्त धान बालीमा विभिन्न किसिमको किटनासक औषधी एवं रसायनीक विषादी प्रयोग नगर्ने र आवश्यक मात्रामा गोबर मलको प्रयोग गर्ने जनाइएको छ । यसका साथै धानमा लाग्न सक्ने किरा मार्नका निमित्त समेत घरेलु विधि प्रयोग गरेर उक्त संगोल कृषक सहकारी समुहले हाल सुरुङ्गामा नै दरिलो नमुनाको रुपमा फलदायी कार्यको आरम्भ गरेको छ ।
स्थानीय महिलाहरु संगठित भएपश्चात उनीहरुले सहारा नेपाल        (साकोस) बाट अग्र्यानिक धान खेती सम्बन्धी तीन दिने प्रशिक्षण लिएका थिए । अन्ततः उनीहरुले उक्त तालिमलाई व्यवाहारिक रूप दिन उक्त अग्र्यानिक धान खेती सुरु गरेका हुन् । अहिले महिला समुहले गर्दै आएको अग्र्यानिक खेतीलाई निरन्तरता दिन राज्यका तर्फबाट पनि उचित सहयोग भए महिला कृषक समुहलाई अघि बढ्न अझ उत्प्रेरणा मिल्ने समुहकी अध्यक्ष रामजी देवी गौतम बताउँछिन् ।
संगोल महिला कृषक समुहले उत्पान गर्ने अग्र्यानिक धानलाई आगामी वर्षहरुमा विउको रुपमा उत्पादन गरी अन्य समुहहरुलाई समेत वितरण गरिने लक्ष्य रहेको समुहकी सचिव बिन्दा थापाले बताइन् ।
सो महिलाहरुको समूहले अहिले अग्र्यानिक धान खेती मात्र भने गर्दै आएको होइन, समुहले हाल कृषि क्षेत्रकै संर्सगमा रहेका विभिन्न कृषिजन्य वस्तुहरुको विउविजनहरुको उत्पादन एवं विक्री वितरण, रसायनिक मलको वितरण, सामुहिक पशुपालन लगायतको विभिन्न किसिमको कार्य गर्दै आएको छ ।

0 प्रतिकृया:

Post a Comment