ओलीलाई शुभकामना

कमन देवान
एमाले नवौं महाधिवेशनपछिको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । मंगलबार साँझ सार्वजनिक पधाधिकारीतर्फको मत परिणाम अनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले ३९ मत बढी प्राप्त गरेर अध्यक्ष पदका प्रत्यासी पूर्व पार्टी महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्न सफल भए । अध्यक्ष पदमा विजयी ओली समूहबाट उपाध्यक्षहरुमा बामदेव गौतम र विद्यादेवी भण्डारी, महासचिवमा इश्वर पोखरेल, उप(महासचिवमा विष्णु पौडेल र सचिवहरुमा प्रदीप ज्ञवाली र  पृथ्वी सुब्बा गुरुङ निर्वाचित भए । त्यस्तै नेपाल समूहबाट उपाध्यक्षहरुमा भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उप(महासचिवहरुमा योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम आचार्य निर्वाचित भएका छन् । यतिसम्मको तथ्याङ्कलाई केलाउँदा पार्टीको मूल नेतृत्व र सांगठानिक पहुँचमा ओली पक्षको पकड दर्विलो मान्न सकिन्छ । तथापि पदाधिकारीहरुको संख्यात्मक स्थिति र सामूहिक निर्णय पद्धतिलाई आत्मसाथ गरेर अघि बढेको खण्डमा दुई समूह वा प्यानलमा विभाजित भएर चुनाव लडेका नेपाल(ओली समूह मध्ये ७(७ पदाधिकारीको जीतले एमालेलाई दुवै समूहको स्थिति बराबर भएको जनाउ दिएको छ ।
तथापि केन्द्रीय सदस्यहरुको नतिजा भने ओलीको पक्षमा स्पष्ट बहुमत सहित सार्वजनिक भएको छ । १ सय १४ जना केन्द्रीय सदस्यमा ओली पक्षका ६४ जना र नेपाल पक्षका ४७ जनाले सफलता पाएका छन् । त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यमा समेत ओली पक्षकै अग्रता रहेको हुँदा अबको एमाले केन्द्रीय समितिमा  ओली पक्षले बुहमतका साथ पार्टी गतिविधि गर्न सक्ने स्पष्ट भएको छ । विशेषतः कम्युनिष्ट पार्टी नामधारी राजनीतिक दलहरुमा विचार र नेतृत्वको एकरुपतालाई महत्व दिने प्रचलन पुरानै हो । यस पटकको नवौं एमाले महाधिवेशनमा भने ओली पक्षको स्पष्ट बुहमत आए पनि नीति तथा कार्यक्रम चाँहि नेपाल पक्षको पारीत भएको चर्चा चुलिन थालेको छ । यदि एमालेले आफूलाई कम्युनिष्ट धंधंगीमै अल्मलाउने र विचार एउटा पक्षको र नेतृत्व अर्को पक्षको भन्दै विवादमा रुमलिन खोज्यो भने उसका अन्य अनावश्यक समस्याहरु सृजना भएर जाने खतरालाई नकार्न सकिन्न ।
एमालेका नेताहरुले दुई वटा अलग अलग समूहमा विभाजन भएर चुनाव लड्नुलाई लोकतान्त्रिक अभ्यासको सम्मान हो भन्नु एउटा तर्क हो । तर, त्यसले पार्टी सञ्चालन एवम् पार्टी जीवन र गतिशीलतालाई कतै न कतै खलल पुग्ने नै देखिन्छ । यो वास्तवमै गम्भीर समस्या सृजना हुने स्पष्ट नै विषय हो । अबमा दिनमा समूहमा विभाजन भएका कारण कोरिएका सीमारेखाहरु मेट्ने कार्य गर्नु ओली नेतृत्वको एमाले पार्टीको पहिलो दायित्व हो । एमालेमा विगतदेखि नै गुटगट राजनीतिले स्थान पाउँदै आउनु उसका लागि दुर्भाग्य त हो नै । मुलुकको जिम्मेवार राजनीतिक दल भएका नाताले र सबै भन्दा बढी संगठित सदस्य भएको पार्टी हुनुका नाताले पनि एमालेभित्र गुट राजनीति हावी हुँदा उसका राष्टिूय राजनीतिक निर्णयहरु फितलो बन्ने तथा उसले मुलुकका निम्ति सही समयमा खेल्नु पर्ने रचनात्मक भूमिकाको अभाव हुने स्थिति नौलो होइन ।
ओली पक्षको जीतलाई समग्र एमाले जनको जीतका रुपमा रुपान्तरण गरेर एमालेले मुलुक र जनताका लागि सही नीति तथा कार्यक्रम निर्माण गरेर अघि बढ्न सक्छ कि सक्दैन ? भोलिका दिनमा देख्न सकिने कुरो हो । तर यतिबेला भने एमालेले हौसिएर वा निरास भएर भन्दा पनि गम्भीर बनेर आगामी दिनका लागि रणनीतिक योजनाका साथ काम गर्न आवश्यक छ । एमाले पार्टीलाई नवौं महाधिवेशनले विभाजनको भाषमा पु¥याएको देख्न र सुन्न नपरोस् । अहिलेको परिस्थितिलाई सुधारेर लैजाने र सबै नेता कार्यकर्ता तथा पार्टी पंक्तिलाई चित्त बुझाउने, उचित भूमिका दिने र समेटेर अघि बढ्ने जिम्मा अब ओलीको काँधमा आइपुगेको छ । ओलीलाई सफल पार्टी नेतृत्वका लागि अग्रिम शुभकामना ।

0 प्रतिकृया:

Post a Comment