दलितले लगाए पुराण

पथरी/ दलित समुदायले हिन्दु धर्मका आधारमा सबै संस्कार गर्दै आए पनि कथित उच्च जातकाले मात्र सप्ताह पुराण लगाउने चलन भने पछ्याउन सकेका थिएनन् । परिवारमा दिवंगतको आत्मा शान्तिका लागि गरिने यो अनुष्ठान अब दलितले पनि आफ्नै समुदायका पण्डितबाट गराउन थालेका छन् ।
छुवाछूत मान्ने हिन्दु धर्मबाट दीक्षित पण्डित, पुरोहितले दलितको घरमा कर्मकाण्ड नगर्ने भएकाले दर्नाल समुदायले नयाँ अभियान चलाएका हुन् । दर्नाल विश्वकर्मा जातिको एक थर हो । यसको सुरुवात आइतबार मोरङको पथरी ७ नितिपुरका दलित दर्नाल समुदायले गरेका छन् ।
आफ्नो बंशावली तयारीमा समेत क्रियाशील रहेका उनीहरूले मोरङ जिल्लाका आफ्नो समुदायलाई ३ दिने श्रीमद्भागवत ज्ञान महायज्ञमा सहभागी गराएका छन् । महायज्ञमा प्रमुख वाचक थिए दलित पण्डित मानप्रसाद रसाइली । उनले वाचन गरेको पुराणका कथा ‘उच्चजाति’ का पण्डितको भन्दा कम श्रवणयोग्य थिएन ।
विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गोविन्द दर्नालले भने, ‘भागवत श्रवण गर्न आएका उत्तिकै ध्यानमग्न थिए र भजनकीर्तनमा त्यत्तिकै उत्साहित ।’ उनका अनुसार दलित समुदायले हिन्दु परम्परा मान्दै आए पनि कर्मकाण्ड गर्न ब्राम्हण पुरोहित नपाइने भएकाले आफ्नै जात र समुदायका अगुवा विद्वत वर्गलाई अघि सारिएको बताए । मोरङको पथरी, नीतिपुरमा भागवतका प्रमुख पण्डित रसाइलीका अनुसार पूर्वमा दलित समुदायमा पनि हिन्दु धार्मिक परम्पराअनुसार जन्म, विवाह र मृत्यु संस्कार गराउन ०५५ देखि अभियान थालिएको हो । त्यही बेला पण्डित नेत्रप्रसाद दाहालको अध्यक्षतामा वैदिक सनातन कर्मकाण्ड महासंघ गठन भएको थियो ।

0 प्रतिकृया:

Post a Comment