ओली अध्यक्ष बने पछि गृह जिल्लामा खुसीयाली

दमक/नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पछि झापा क्षेत्र नम्बर ७ मा नयाँ आशा पलाएको छ । आफ्नै क्षेत्रबाट संविधानसभा निर्वाचनमा विजयी नेता पार्टी अध्यक्षमा पनि निर्वाचीत भए पछि एमाले कार्यकर्ता त खुसी हुनेनै भए अन्य दलका कार्यकर्ताहरु पनि स्थानीय विकासले थप गति पाउनेमा आशावादी बनेका छन् । राष्ट्रिय राजनीतिमा प्रभाव बनाएको नेता पार्टी अध्यक्ष भएकाले अन्य दलका लागि समेत महत्व बन्न पुगेको हो । यहाँका क्रियाशिल अन्य दलहरुले पनि ओलीले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा थप प्रभाव बढाउने विश्वासले गर्दा उनको उचाईमा आशा गरेका छन् । ओली सँगै संविधानसभाको दोश्रो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महासमिति सदस्य सुरेश सुव्वा ओलीको बिजयीले एमालेको आन्तरिक जीवनमा पर्ने प्रभाव भन्न नसकिए पनि शान्ति र स्थिरताका लागि उनले समन्वयकारी भुमिका निर्वाह गर्ने आशा व्यक्त गर्छन् । सुब्बा भन्छन्–‘ यस क्षेत्रको हरेक दृष्ट्रिले उनको यो उचाईबाट क्षेत्रबासीले ठुलो अपेक्षा लिएका छन् ।’
उनी संगै प्रतिष्पर्धामा रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य राम थापा भने ओली एमालेमा निर्वाचित भए पछि स्थानीय क्षेत्रको विकाशमा कुनै प्रभाव नपर्ने बताएका छन् । ओली केन्द्रिय राजनीतिमा मात्र केन्द्रित हुने गरेकाले स्थानीय क्षेत्रको विकासमा खासै आशा गर्न नसकिने थापाको भनाई छ । राष्ट्रिय राजनीतिमा भने ओलीले संविधान लेखनलाई प्रभावकारी बनाउन शसक्त भुमिका खेल्ने आशा थापाको छ ।
एमालेका कार्यकर्ताहरुले भने ओली अध्यक्षमा निर्वाचित भए पनि चुनावी प्रतिष्पर्धाको गुटगत प्रभाव नरहने बताएका छन् । एमाले झापा क्षेत्र नम्बर ७ का अध्यक्ष नेत्र दाहाल ओली देशकै आवश्यकता रहेकाले एमाले कार्यकर्ताले अध्यक्षमा छनौट गरेको बताए । चुनावी प्रतिष्पर्धामा अलग अलग प्यानल भए पनि चुनावी परिणाम पछि त्यो मेटिएर जाने उनले बताए ।
 यस्तै एमालेका जिल्ला सदस्य बेनु शिवाकोटीले पनि एमाले अध्यक्षमा केपी ओली निर्वाचित भए पछि कार्यकर्ताले थप सुरक्षित महसुस गर्ने बताएका छन् । माओवादीको शसस्त्र युद्धको समयमा पनि कार्यकर्ताको संरक्षण गर्न ओलीले नै अगुवाई गरेको र पार्टी संरक्षण पनि गर्दै आएको उनको भनाई छ ।
१४ वर्ष कारागारमा कैद ओलीको राजनीति २०४८, २०५१ र २०५६ सालमा तत्कालिन झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधी सभाषदमा निर्वाचित  भएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा भने उनलाई नेकपा माओवादीका उम्मेद्वारले पछि पारेका थिए । तर दोश्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट १९ हजार २ सय ८७ मत ल्याई विजयी भएका हुन् ।

0 प्रतिकृया:

Post a Comment