जनआन्दोलन उपलब्धी व्यवस्थापन र नेतृत्व प्रवृत्ति – पहिलो लेख

राम प्रधान
आज भन्दा ठीक ६ वर्ष पहिले अर्थात २०६३ साल वैशाख ९ गतेका दिन नेपालमा दोस्रो जनआन्दोलनको १७ औँ दिन थियो । नेपालका सबै वर्ग, तह, तप्का, भाषा भाषी, जातजाति, पेशाकर्मी लगायत नेता, कार्यकर्ता, मजदुर, किसान, प्राध्यापक, कर्मचारी, शिक्षक वकिल, डाक्टर, विद्यार्थी, महिला, युवा, केटाकेटी, लेखक, कलाकार, पत्रकार, वुद्धिजिवी सबै जनआन्दोलनको सफलताको लागि भोक, तिर्खा, निन्द्रा छोडेर सडकमा उत्रिएका थिए । प्रत्येक नेपाली नागरिकहरुको नाडीमा जनआन्दोलनको तातो रगत भलभली उम्लिरहेको थियो । क्रमिक रुपमा जनआन्दोलनप्रति ऐक्यबद्धता, समर्थन र सहयोगका ताती लागिरहेको थियो । नेपाली नागरिकहरुलाई पेशा, व्यवसाय, काम दाम भन्दा पनि जनआन्दोलन प्रतिको जिम्मेवारी र दायित्व थपिएको महसुस गर्दै सडक आन्दोलनलाई थप सशक्त पारिँदै थियो । नेपालको हरेक शहर, सडक र गल्लीहरुमा जनआन्दोलनकारीहरुको सागर उर्लिएको थियो । नेपालमा लोकतन्त्त स्थापनार्थ गरिएको जनआन्दोलन थियो । आन्दोलनको १७ औँ दिन सम्मा दर्जनौँ नेपाली सपुतहरुले जीवन आहुती दिइसकेका थिए । कैयौँ आमाबुबाको काख रित्तियो, कैयौँ टुहुरा भए, कैयौँको सिन्दुर पुछियो । अथक त्याग र बलिदानको कारण १९ दिने दोस्रो जनआन्दोलनको चक्कर पूरा भएको थियो । त्यो क्षण सबै नेपालीहरुको भावना एकतृत भएर जनआन्दोलन सफलताको मात्रै चिन्तन थियो ।
तत्कालीन अवस्थामा नेकपा माओवादी सशस्त्र युद्धमा भएकोले प्रत्यक्ष खुलेर जनआन्दोलनमा सहभागिता नभए पनि अप्रत्यक्ष रुपमा सहयोग र सहभागिता रह्यो । विघटित संसद् पुनस्थापना गरी स्वयं माओवादीहरुले संसद्को स्वाद लिनलाई क. कृष्णबहादुर महरा लगायत नेकपा एमाले बराबरको संख्या प्राप्त गरी नेकपा माओवादीको नामबाट सञ्चालित सशस्त्र युद्धलाई किनारा लगाउने कामको शुरुआत गरियो । थुप्रै पटक विवाद, छलफल, सहमति, असहमति सम्झौता गरेर आन्तरिक संविधान तय गरी घोषणा गरियो । अन्तरिम संविधान घोषणा गरेकै दिन सो संविधान जलाएको कारण मधेशवादी दलहरुले उठाएको मधेश आन्दोलबाट राज्यले धेरै कुराहरु त्याग गर्नुप¥यो । त्यो मधेशवादी आन्दोलन फाइदा उठाउन नेपाली कांग्रेस, नेकपा एमाले, स्वयं माओवादीका हस्तीहरु पार्टी र विचार तयार गरी मधेसवादी पार्टीहरुमा समाहित बन्न पुगे । अन्ततः मधेशवादीहरुलाई सम्वोधन गर्न पहिलो पटक अन्तरिम संविधान संशोधन गर्न दलहरु बाध्य भए । संविधानसभाको निर्वाचन गर्न पनि पटक–पटक मिति परिवर्तन गर्न दलहरुलाई कर लाग्यो । थुप्रै चोटीको प्रयास सहमति र सम्झौताबाट २०६४ साल चैत्र महिनामा संविधानसभाको निर्वाचन गरियो । निर्वाचनको परिणामले नेपाली कांग्रेस र नेकपा एमालेको आकार घटाइदियो भने नेकपा माओवादी प्रमुख शक्तिको रुपमा उदायो । यसपछि २०६५ जेठ १४ गते पहिलो पटक संविधानसभाको पहिलो बैठकबाट २३८ वर्ष सम्म लगातार रुपमा राज्यसत्ता सम्हालेका शाहवंशीय राजतन्त्र उन्मुलन गरी गणतन्त्र नेपालको घोषणा गर्दै २ वर्षभित्र गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान बनाउने कबुल नेताहरुले जनताहरु सामु घोषणा पनि गरे ।
तर सम्झौता र सहमति अनुसारको समयमा संविधान निर्माण प्रकृतिहरुभन्दा पनि गैर जिम्मेवारी ढङ्गबाट नेताहरु प्रस्तुत हुन पुगे । शान्ति प्रक्रिया व्यवस्थापन र संविधान निर्माणको आधारभूत विषयवस्तुहरुमाथि छलफल, बहस, तर्क, सहमति र समझदारीहरु गर्नु भन्दा दलहरु खिचातानी, अहमता र अहंकारले ग्रस्त बनेर अरुलाई सिध्याउने खेलमा दलका नेताहरुले २ वर्षको समय वर्वादी गरे । प्रायः सबै दलहरुमा अन्तरद्वन्द्व र अन्तरघातको विषयले शान्ति प्रक्रिया र संविधान निर्माण भन्दा पनि प्रमुख विषय वस्तुको रुपमा रुपान्तरित भए । संविधानसभा, संविधानसभा सदस्यहरु, नेपालका राजनीतिक दलहरु, दलका प्रमुख नेताहरु तथा परिवर्तनका वहावहरु “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” लागे । त्यसकारणले नेपालका राजनीतिक दलहरु र ती दलहरुलाई नेतृत्व गर्ने नेताहरुको नैतिकता, चरित्र, अनुशासन, व्यवहार, जिम्मेवारीप्रति कति घटिया रुपले प्रस्तुत भएर आउँछन् भन्ने कल्पना पनि थिएन । नेपालको परिवर्तनहरुमा अर्थात नेपाली क्रान्तिबाट प्राप्त उपलब्धीहरु ठेगान लाग्न सकेका छैनन् । हरेक पटकको उपलब्धीहरु व्यर्थ भएको छ । उपलब्धीहरु उचित रुपमा व्यवस्थापन गरेर ठेगाना लगाउनु भन्दा कुनै व्यक्तिको गुटको, अहंकार र व्यक्तिगत सनकबाट, गुटगत निच स्वार्थपूर्तिको लागि अहिले सम्म देशलाई अग्रगमनको गोरेटोमा हिँड्न नदिने काम भइरहेको छ । देशलाई व्यक्तिगत सनकको भरमा विवेकहीन तरिकाले अन्धकार तर्फ धकेल्ने भइरहेको छ ।
अब २०६९ साल जेठ १४ गते नेपालको संविधान निर्माण भएर घोषणा हुन्छ वा हुँदैन ? नेपाल र नेपाली जनताहरुको भाग्य र भविष्यसँग सरोकार राख्ने संविधान बनेर वा बनाएर घोषणा हुन्छ वा हुँदैन । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने कि नपु¥याउने ? नेपाली जनाहरुलाई अब शान्तिसँग बाँच्न दिने कि नदिने ? सशस्त्र युद्धको राप र तापबाट पिल्सिएका, नेपालीहरुको हृदयमा मलमपट्टी लगाउने कि नलगाउने ? आज माता तिर्थ औंशीको दिन आफ्नो गुमेका र बेपत्ता पारिदिएको सन्तानको वियोगमा तड्पिएको आमाको आशु पुछ्ने कि अरु आमाहरुलाई पनि सन्तान वियोगमा तड्पाउने ? यस्तै यस्ता प्रश्नहरु उत्तरको खोजीमा छ । वास्तवमा नेपाली जनताका छोराछोरीहरुलाई काल्पनिक सपना बाँडेर आन्दोलनमा होमिन्छ । ती गरीबका इमान्दार र उर्जाशील युवा युवतीहरुलाई नानाथरी आशा देखाएर सडकमा उतारिन्छ । क्रान्ति गराइन्छ । के–के नै गछौँ भनेर अन्धविश्वासको थुप्रो लगाइन्छ । सोझा, सिधा, इमान्दार, कर्मशील, उर्जाशक्तिहरु युवाशक्तिहरुको उपलब्धीहरु दलाल, ठग, श्रमचोर, विश्वासघाती, निच स्वार्थी लोभी, पापी, देशमारा, जनतामारा, अवसरवादी वैदेशिक दलालहरुको पृष्ठपोषक नेताहरुको कारण नेपाल,नेपालीहरुको भाग्य र भविष्य माथि कुठाराघात नहोस् । नेताजीहरुको वुद्धिमा बिर्को नलागोस् । अहिले सम्मको उपलब्धीहरु रक्षा गरी संविधान घोषणा होस् । फेरि नेपाल आमाको घाटीमा रगतको खोला नबगोस् ।

0 प्रतिकृया:

Post a Comment