निर्णायक आन्दोलन : लिङ्देन

दमक, वैशाख ९/मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शुक्रबार साँझ पूर्वका विभिन्न ९ जिल्लामा राँके जुलुससहित थालिएको आन्दोलन लिम्बुवान प्राप्तिका लागि निर्णायक भएको बताएका छन् ।
प्रमुख तीन दल र मधेसी मोर्चाले गत आइतबार र सोमबार काठमाडौंको हात्ती वनमा गोप्य बैठक गरी जातीय राज्यका विरुद्धमा सहमति गरेको लिङ्देनले आरोप लगाए । बिहीबार सुनसरीको चतरादेखि संखुवासभाको संखुवा खोलासम्मको  मार्चपासमा सहभागी रहेका लिङदेनले आन्दोलन बारे फोन मार्फत कुरा गर्दै भने –‘आजदेखि  थालिएको लिम्बुवान आन्दोलन एकात्मककवादी र लिम्बुवान विरोधीहरुका लागि चुनौति मात्र होइन, यो कठोर र निर्णायक आन्दोलनको सुरुवात हो । एकात्मक सत्ताको जुनसुकै शक्तिले अब यो आन्दोलनलाई रोक्न सक्दैन ।’
परिषद्का
कार्यकर्ताले पूर्वका विभिन्न नौ जिल्लाका प्रमुख बजार र पहाडी सदरमुकामहरुमा राँकेजुलुससहित विरोध प्रदर्शन गरेको बताइएको छ ।
शुक्रबार साँझ राँके जुलुस सहित विरोध प्रदर्शन गर्दै परिषद्का कार्यकर्ताहरुले दमकको गणतन्त्र चोकमा कोणसभाको आयोजना गरे । सभामा परिषद्का दमक नगर सह–इन्चार्ज सोम ढुङ्गाना, लिम्बुवान महिला परिषद्की झापा अध्यक्ष बबिता राई, संघीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य दिनेश तुम्बापो लगायतले बोल्दै लिम्बुवान राज्य ग्यारेन्टीको माग गरेका थिए । कोणसभामा नगर सह–सचिव सागर आचार्यको सञ्चालन रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment