‘शरणार्थी अधिकारका लागि अभिसन्धि आवश्यक’

दमक, वैशाख ९/ नेपालमा रहेका शरणार्थीहरुका समस्याको दिर्घकालीन समाधानका लागि नेपालले शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धि अनुमोदन गर्न आवश्यक रहको अगुवाहरुले बताएका छन् ।
नेपाल मानव अधिकार संगठन र मानव अधिकार केन्द्र नेपालले शुक्रबार दमकमा आयोजना गरेको भावि संविधान र शरणार्थीको अधिकार विषयक विचार गोष्ठीमा उनीहरुले नेपालमा शरणार्थी सम्बन्धि कुनै पनि कानुन नहुँदा समस्या चर्किएको बताए । कार्यक्रमका मुख्य वक्ता नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष सुदीप पाठकले झण्डै २ दर्जन विभिन्न अन्तर्राष्ट्रिय महासन्धि र सन्धिहरु अनुमोदन गरिसकेको नेपालले शरणार्थी सम्बन्धि अभिसन्धि अनुमोदनमा ढिलाई गर्न नुहुने बताए ।
मानवअधिकार संगठन दमकका कार्यवाहक उपाध्यक्ष देव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिएसन संघीयता संयोजक दिनेश त्रिपाठीले भुटानी शरणार्थीहरुको तेश्रो देश पुनस्र्थापनाका नाममा उनीहरुलाई सौदावाजीको वस्तु बनाइएको आरोप लगाए । शरणार्थी समस्या समाधानका लागि भन्दै तेश्रो देश लगिँदा उनीहरुलाई छनौट गरिन नहुने र इच्छाएका सबैलाई लैजान सक्नुपर्ने बताए ।
यस्तै शरणार्थी अगुवा तथा भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका संयोजक डाक्टर भम्पा राईले भुटानी शरणार्थीहरुको स्वेदेश फिर्तीको अधिकार प्रत्याभूतिका लागि पहल गरिदिन नेपाली अधिकारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रमका बीच उनले ‘मानव अधिकार र भुटानी शरणार्थी’ नामक कार्यपत्र प्रस्तुत गरेका थिए । स्वदेश फिर्ती बाहेकका विकल्प भुटानी शरणार्थी समस्याको स्थायी समाधान हुन नसक्नेमा उनले जोड दिए ।
कार्यक्रममा विभिन्न शिविरका शरणार्थी अगुवाहरुले अब बन्ने संविधानमा शरणार्थीहरुको अधिकारको सुनिश्चितता गराई दिन नेपाली दल तथा अधिकारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, नेपाली कांग्रेसका जिल्ला सदस्य यादवराज सेढाई, नेकपा एमालेका जिल्ला सदस्य केन्द्र प्रसाई लगायतले बोलेका थिए ।
संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक डाक्टर केपी सुवेदीले औचित्य बारे प्रष्ट पारेका थिए ।

0 प्रतिकृया:

Post a Comment