सतासीधाम प्लाष्टिकमुक्त

दुधे, चैत ११ /झापाको सतासीधामलाई आगामी बैशाख १ गतेबाट प्लाष्टिकका झोला मुक्त घोषणा गरिने भएको छ ।
शुक्रबार दुधेमा भएको सर्वपक्षीय भेलामा सो सहमति भएको हो । झापा उद्योग वाणिज्य संघ सतासीधाम शाखाको आयोजना भएको भेलामा सातामा एक दिन बजार बन्द गर्ने समेत सहमति भएको छ । सो सम्बन्धी निर्णय भने बजार व्यवस्थापन समितिले गर्ने जनाइएको छ । बन्द मुक्त क्षेत्र घोषणा गर्न भने स्थानीय राजनीतिक दलहरु सहमत हुन सकेनन् ।
संघ शाखाका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका दुर्गेश योङ्हाङ्, नेपाली कांग्रेसका गाउँ सभापति पर्शुराम ढुङ्गाना, नेकपा एमालेका गाउँ अध्यक्ष धनबहादु थेवे, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का भीमप्रसाद शेर्मा लगायतले बोलेका थिए । कोषाध्यक्ष कमलबहादुर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तेजु भट्टराईले सञ्चालन गरेका थिए ।
प्लाष्टिक झोला मुक्त अभियानको अनुगमनका लागि गाविस सचिव छत्रबाबु ओझाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ  । समितिमा वाणिज्य संघ सतासीधाम शाखाका कार्यवाहक अध्यक्ष अधिकारी, खुद्रा व्यापार संघका तर्फबाट चन्द्रप्रसाद खरेल, डुँडामारी बजार व्यवस्थापन समितिका कमलप्रसाद तामाङ, झिलझिले बजार व्यवस्थापन समितिका कालीबहादुर लिम्बू र माईधार बजार व्यवस्थापन समितिका कुमार गिरी सदस्य रहेका छन्  ।

0 प्रतिकृया:

Post a Comment