गजुरेलको नेतृत्वमा आन्दोलन

काठमाडौं, चैत ११ / एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ ।

माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार चैत १८ गतेबाट जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा २ सय ४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ गरिने छ भने २० गते विशेष भित्तेलेखन, २२ गते सबै संविधानसभा सदस्य–५९८ जनालाई जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा उभिन अपील गर्दै ज्ञापनपत्र बुझाउने र २४ गते सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्रिय प्रतिरोध दिवस मनाउने रहेको छ ।
यस्तै २७ गते सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने, २९ गते मसाल जुलुस निकाल्ने र ३० गते संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । माओवादी सचिव सीपी गजुरेल संयोजक रहेको राष्ट्रिय जनआन्दोलन समितिमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नागरिक पार्टी लगायतका दल सम्वद्ध छन् ।

0 प्रतिकृया:

Post a Comment