‘२०४७ सालको संविधान ल्याऔँ’

बिराटनगर, फागुन २९/नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले जेठ १४ भित्रमा संविधान नबने २०४७  सालको संविधानलाई राजसंस्था हटाएर लागू गर्नुपर्ने धारणा अघि सारेका छन् ।
आइतबार सञ्चारकर्मीसँग उनले वर्तमान सरकारको नेतृत्वमा संविधान लेखन कार्य हुन नसक्ने ठोकुवा गर्दै २०४७ सालको संविधानमा, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र राजसंस्थाको ठाउँमा राष्ट्रपति थपेर लागू गरे समस्याको समाधान हुने बताए ।

माओवादीले शान्ति प्रकृयालाई लम्ब्याएर संविधान निर्माणमा ढिलाई गरेको उल्लेख गर्दै देउवाले २०४७ सालको संविधान लागू गर्नुपर्ने बताएका हुन् । तपाईको भनाई राजालाई सकृय बनाउनुपर्ने संकेत हो, भन्ने जिज्ञासामा उनले राजा कुनै पनि हालतमा पुन सकृय हुन नसक्ने बताए । ‘नेताहरु आउने जाने हुन्छ । तर, राजा आउने र जाने कहिल्यै हुँदैन ।’ उनले भने –‘राजसंस्थाको भविष्य सकिसक्यो ।’
डा. बाबुराम भट्टराई नेतृत्व सरकारले शान्ति प्रकृया टुङ्ग्याएर संविधान जारी गर्न नसक्ने दाबी गर्दै उनले
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि २०४७ सालको संविधानलाई परिमार्जित गरेर लागू गरेर देशलाई निकास दिन आफूले सुझाव दिएको बताए ।
‘यो सरकार निकम्वा भइसक्यो । तर यसलाई मधेशवादी मोर्चाले सहयोग गरेसम्म कुनैपनि राजनीतिक दलहरुले ढाल्न सक्दैन’ देउवाको भनाई थियो ।
मधेशी मोर्चा सरकार निर्माणको मुख्य शक्ति भएको उल्लेख गर्दै वर्तमान सरकार ढाल्न अरु दललाई मधेशी मोर्चाको सहयोग चाहिने पनि उनको भनाई थियो ।

0 प्रतिकृया:

Post a Comment