सच्चा सम्मानको खाँचो – सम्पादकीय

२००७ सालको क्रान्तिदेखि २०६२÷०६३ को जनआन्दोलनका बीचमा पटक–पटक प्रजातन्त्रको घाँटी निमोठिँदै भए पनि प्रजातन्त्र हुँदै ऐतिहासिक जनआन्दोलनपछिको संविधानसभा मार्पmत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालेको पनि ५ वर्ष पुगिसकेको छ । यसबीचका पटक–पटकका राजनीतिक परिवर्तनहरु त्यत्तिकै सम्भव भएका होइनन् । हजारौँ नेपाली आमाका सपुतहरुको बलिदानी, त्याग, तपस्या र निरन्तर कैयौँ योद्धाहरुको संघर्षबाट मात्रै हामीले अहिलेसम्मको राजनीतिक उपलब्धी हात पारेका हौँ । झापा जिल्ला यस्ता अनेकौँ महत्वपूर्ण राजनीतिक परिवर्तनहरुका निमित्त गौरवान्वित इतिहास बोकेको जिल्ला हो । २०२८ सालको झापा विद्रोहले त झन् देशै भर वामपन्थी आन्दोलनको प्रादुर्भाव गरेको इतिहास हामी सामु ताजै छ । त्यसताका विरगती प्राप्त गर्ने ५ सुखानीका सहिदहरुलाई एक साता अघि मात्रै फूल माला चढाएर र एक मिनेट मौन धारण गरेर सम्झिए, वामपन्थी दलहरुले । शनिबार मात्रै नेपाली कांग्रेसले प्रजातन्त्रका सेनानी परिवार, पुराना कार्यकर्ता, राज्यद्वारा तथा विद्रोह शक्तिहरुबाट मारिएका परिवार, घाइते परिवारहरुलाई र जनआन्दोलनका शहिद परिवार सहित घाइतेहरुलाई विर्तामोडमा एउटा समारोहका बीच सम्मान गरेर सम्झिएको छ । प्रजातन्त्रका सेनानीहरु मुगाधन राई, मच्छिन्द्र केरुङ्ग, तुर्सा हेमरम  सहितका परिवार, ०६२÷०६३ का जनआन्दोलनका शहिद राजन गिरी र सुरज विश्वासका परिवार तथा घाइतेहरु गोपाल श्रेष्ठ र गोविन्द कँडरिया सहित झण्डै २ दर्जन परिवार जसका आफन्तले प्रजातन्त्रका निमित्त र देशमा आमूल परिवर्तनका निमित्त योगदान गरे, उनीहरुलाई कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटनका अवसरमा पार्टी सभापति शुशील कोइरालाले दोसल्ला र फूलमालाले सम्मान गर्नु आफैमा सकरात्मक पक्ष हो । यसबाट पीडित परिवारको घाउमा मलम पट्टी भएको महसुस गर्न सकिन्छ । एक हिसाबबाट हेर्दा सर्वसाधारण जो पीडित परिवार भन्दा बाहिरकाले त्यो महसुस गरे पनि ती परिवारका सदस्यको आत्मामा परेको चोट अर्थात् आफन्त गुमाउँदाको वियोगको क्षणलाई पुनः बल्झाइदिएको महसुस परिवारले गरेका हुन सक्दछन् । यसलाई स्वभाविक रुपमा लिनुको विकल्प छैन, उनीहरुसँग । प्रजातन्त्रका निमित्त लड्दा सर्वश्व हरणमा परेका झापाको महाभाराका १५ राजवंशी परिवारलाई त्यो कार्यक्रममा एकमुष्ट रुपमा प्रस्तुत भएको पार्टीको जिल्ला समितिको प्रतिवेदनमा मात्रै सम्झिने काम भयो । कम्तिमा सर्वश्व हरणमा परेका ती परिवारलाई समेत अन्य पीडितहरु सो सरह सम्मानको कार्यक्रम भइदिएको भए सुनमा सुगन्ध हुनेथियो भन्ने कुराको हेक्का कांग्रेस झापाले लिनुपथ्र्यो । तथापि, कार्यक्रमको मुलभूत उद्देश्यलाई हेर्दा सो कार्यक्रम सफल भएको मान्न सकिन्छ । मुलुकमा भएका राजनीतिक परिवर्तनहरुका निमित्त योगदान पु¥याउने वा परिवर्तनकै निमित्त जीउज्यान र सम्पत्ति गुमाउनेहरुका नाममा वर्षौँ वर्षमा वा हरेक वर्षको एकपटकको तिथीमितिमा औपचारिक कार्यक्रम गरिनु उनीहरुका निमित्त न्यायपूर्ण हुन सक्दैन । उनीहरुले देखाएको र अवलम्बन गरेको बाटोमा अहोरात्र लागिपरिरहनु राज्यको नेतृत्वदायी भूमिकामा रहेका दलहरु र सरकारको मुख्य कर्तव्य हुन आउँछ । शहिदका शालिक, प्रतिमा वा तस्वीरमा फूलमाला चढाउनु र एक मिनेट मौन धारण गर्नु उनीहरु प्रतिको श्रद्धा त हुन सक्ला तर सच्चा श्रद्धाञ्जली हुन सक्दैन । उनीहरुले देखाएको बाटोमा, उनीहरुको भावनामा ठेस नपु¥याई निरन्तर लागि पर्नु स्वार्थरहित राजनीति गर्नु, पीडित परिवारहरुलाई कम्तिमा गाँस, बास, कपास सहित समयानुकूल रोजगार, अवसर र शिक्षा दिक्षाको बन्दोवस्ती मिलाउन सक्नु मात्रै शहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली र पीडितहरु माथिको सच्चा न्याय ठहरिनेछ ।

0 प्रतिकृया:

Post a Comment