सय जना वृद्धवृद्धा सम्मानित

बिर्तामोड/अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोवर १) को अवसर पारेर विगत वर्ष झैं यस वर्ष पनि नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले ७० वर्ष पार गरेका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाका नौ स्थानमा रहेका संस्थाका विभिन्न कार्यालयहरूमा स्थानीयलाई भेला गरी असोज १६ गतेदेखि यस्तो कार्यक्रम गरिँदै आएको हो ।
तीन वर्षअघिदेखि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न थालेको संस्थाले यस वर्ष संस्थाका छ हजार सात सय १८ जना सदस्यमध्ये ७० वर्ष पूरा गरेका करिब एक सय जनालाई जनही एक हजार नगद सहित उपहार प्रदान गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
यसैबीच शुक्रबार बिर्तामोडमा पाँच जना वृद्धहरूलाई सम्मान गरी नगद उपहार प्रदान गरिएको हो । एनएमसीको निर्माणाधीन भवन परिसरमा आयोजित कार्यक्रममा अनारमनी– ४ का हरिनारायण पूर्वे, तोपगाछी–७ का हरिबहादुर भूजेल, चकचकी–६ का चेतनाथ पोखरेल, अनारमनी–३ का नीलकुमार श्रेष्ठ र अर्जुनधारा–२ का गोपीकृष्ण पोखरेललाई उपहार प्रदान गरिएको हो ।
विर्तामोड कार्यालय समितिका सदस्य गोविन्दबिक्रम गिरीको अध्यक्षता तथा कार्यालय प्रमुख चेतन शर्मा पौड्यालको सञ्चालनमा सम्पन्न सम्मान कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेती, उपाध्यक्ष मोहनप्रकाश उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment