विद्युत चोरी नियन्त्रणमा सुरक्षाकर्मी - मुख्य समाचार

सशस्त्र र जनपथ परिचालित
पिपुल्स टाइम्स समाचार
दमक, चैत ८/पश्चिमी झापा तथा पूर्वी मोरङ्मा हुने बिद्युत चोरी नियन्त्रणका लागि आजबाट सुरक्षाकर्मी परिचालित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण दमक बितरण केन्द्रसँगको समन्वयमा विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र तथा जनपथ प्रहरी परिचालित भएका हुन् । बितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालले चोरी नियन्त्रणका लागि पुगेका प्राधिकरणका कर्मचारीहरु माथि नैं आक्रमणका घटना हुन थालेपछि सुरक्षाकर्मीसँगको समन्वयमा चुहावट नियन्त्रण अभियान चलाउन लागिएको बताए ।
सशस्त्र प्रहरी र जनपथ प्रहरीसँग यस बिषयमा समन्वय भइसकेको जनाईएको छ । सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति राजेन्द्र शाक्यले विद्युत चोरी नियन्त्रणका लागि सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १३ जना खटिने जानकारी दिए ।  सोसँगै ५ जना जनपथ प्रहरी तथा २० जना सम्म विद्युत प्राधिकरणका कर्मचारी खटिने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत चोरी नियन्त्रणका लागि मंगलबार मोरङको पथरी–६ स्थित सुन्दरी चोकमा स्थानीयवासी र प्राधिकरणका कर्मचारी बीच विवाद भएको छ । विद्युत चोरी गरेर चलाई रहेको अवस्थामा १४ ओटा पानी तान्ने मोटर जफत गरिए पनि विवादका कारण ६ ओटा मात्र वितरण केन्द्रमा ल्याउन सकिएको टोलीमा खटिएका प्राधिकरणका कर्मचारी बुद्धिमान धिमालले बताए ।
आर्थिक वर्ष २०६६÷६७ मा ४२ प्रतिशत भन्दा बढी विद्युत चुहावट रहेको दमक बितरण केन्द्र मातहतमा हाल करिब २४ प्रतिशत चुहावट रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६६÷६७ मा ४२ दशमलब शुन्य ९ प्रतिशत बिद्युत चुहावट हुने गरेको थियो भने २०६७÷६८ मा ३५ दशमल २२ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा बितरण केन्द्र मातहतमा २३ दशमलब ८८ प्रतिशत चुहावट हुने गरेको कार्यालय प्रमुख जैसवालले बताए ।
विद्युत महसुल नतिर्ने र चुहावट नियन्त्रणका लागि कार्यालयले यस वर्ष बिशेष टोली परिचालन गरेको छ । हाल कार्यालयले विद्युत चोरीमा प्रयोग भएको जनाउँदै पानी तान्ने मोटर करिब २ सय
थान नियन्त्रणमा लिएको छ । यस्तै महसुल नतिर्ने ६ सय १५ विद्युत लाईन काटिएको कार्यालयले जनाएको छ । ति मध्ये ४ सय ५३ लाईन पुन ः जोडे बापत कार्यलयले १ करोड २७ लाख १२ हजार रुपैयाँ महसुल तथा जरिवाना संकलन गरेको छ ।
यस्तै लामो समयसम्म विद्युत महसुल नबुझाउने सरकारी कार्यालयहरुको समेत प्राधिकरणले लाइन काटेको छ । कार्यालय प्रमुख जैसवालका अनुसार लाईन काटिएका मध्ये धेरैजसो सरकारी कार्यालयहरुले भने प्रकृया पूरा गरेर पुन ः लाइन जोडिसकेका छन् । दमक बितरण केन्द्रले कन्काई पश्चिमका दमक नगरपालिका सहित १५ गाविस तथा मोरङको उर्लाबारी सहित ८ गाविसमा बिद्युत सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालयको कार्यक्षेत्र भित्रका स्वास्थ्य सेवा प्रदायक निकायहरुले मात्रै करिब १० लाख रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेको जैसवालले बताए ।
विद्युत चोरी गरेर बाल्नेका कारण नियमित महसुल बुझाउने ग्राहकहरु समस्यामा परेको कर्मचारीहरुले बताएका छन् । प्राधिकरण दमक कार्यालयका लेखा फाँटका कर्मचारी केन्द्र प्रसाईँले चोरी नियन्त्रणका लागि प्राधिकरण अन्तर्गतका सबै कर्मचारी संगठनहरु समेत क्रियाशील रहेको बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment