हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफल

काठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए ।
‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने भने ।
बैठकमा नेकपा (एकीकृ) नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनमुक्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री भट्टराईले नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङसहित उच्च तहका पदाधिकारीसँग माओवादी लडाकूको समायोजनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा माओवादी लडाकूको रेखदेख, पुनःस्र्थापना र समायोजनसम्बन्धी समितिले गरेको निर्णयबारे छलफल भएको थियो । छलफलमा सेनापति गुरुङ, अर्थमन्त्री वर्षमान पुन, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सेना समायोजनसम्बन्धी सचिवालयका संयोजक बालानन्द शर्मा सहभागी थिए ।
छलफलपछि प्रवक्ता खनालले सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णयलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए । छलफलमा सेनासमायोजनका लागि लाग्ने खर्च र समायोजनका प्रक्रियाका विविध पक्षबारे समेत विस्तृतरुपमा छलफल भएको बुझिएको छ ।
समायोजनका लागि माओवादी लडाकूका कमान्डर तथा नेपाली सेनासँग पनि अनौपचारिक तथा औपचारिक छलफल अगाडि बढाउने बिहीबार सेना समायोजन विशेष समितिमा भएको सहमतिअनुसार प्रधानमन्त्रीले शुक्रबार उनीहरुसँग छलफल गरेको हो ।
सेना समायोजन विशेष समितिको बिहीबारको बैठकले पाँच दिनभित्र सेना समायोजनको ठोस प्रस्ताव पेस गर्न सचिवालयलाई निर्देशन दिनाका साथै राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सहमतिअनुसार समायोजनको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको थियो । पाँच दिनभित्र समायोजन रोजेका नौ हजार ७ सय माओवादी लडाकूलाई पुनःस्र्थापना तथा स्वेच्छिक अवकाश रोज्न दिइने व्यवस्था समेत मिलाइने सचिवालयले जनाएको छ ।

श्रममन्त्री गिरी बर्खास्त, थापा नियुक्त – उपमुख्य समाचार

दुई राज्यमन्त्रीको सरुवा

काठमाण्डौ, चैत ११ /बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेका हुन् ।
गिरीलाई बर्खास्त गरिएपछि उनको स्थानमा शुक्रबार नैै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात ब्यवस्था मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार दिउँसो नै राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सितलनिवासमा नव नियुत्त, श्रम तथा यातायातमन्त्री एमएस थपालाई सपथ खुवाएका छन् ।  यसअघि गिरीले हटाएका महानिर्देशक भट्टराईलाई पुनर्वहाली गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
गिरीले आफूलाई मन्त्रीबाट नहटाउन माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्ने प्रयास गरेपनि त्यो सफल हुनसकेन । प्रचण्डका सहयोगीले भेट नमिलाइदिएपछि पद थमौती गर्ने उनको प्रयास बिफल भएको थियो  । यसैबीच मन्त्री र राज्यमन्त्रीबीच बिवाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भुमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलीप महर्जनलाई भुमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । भुमिसुधारमन्त्री भीमप्रसाद गौतम र राज्यमन्त्री शाहबीच कर्मचारी सरुवाका बिषयमा बिबाद भएपछि राज्यमन्त्री साहलाई प्रधानमन्त्रीले स्पष्टीकरण साधेका थिए ।
यस्तै प्रधानमन्त्री भट्टराईले रिक्त संचार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रयास थालेका छन् । जेपी गुप्ता जेल परेपछि खालीरहेको सो पदमा नयाँ ब्यक्ति पठाउन फोरम गणतान्त्रिकका नेताहरुलाई आग्रह गरेको भएपनि उनीहरुले नाम दिन नसक्दा नियुक्तिमा ढिला
भएको बताइएको छ । यस्तै मदिरा सेवन गरेर बीर अस्पतालका कर्मचारीलाई दुब्र्यबहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादवले कर्मचारीसँग माफी मागेपछि बिवाद मिल्ने भएको छ । दुवै पक्षबीचको छलफलमा एकअर्काका कमीकमजोरी स्वीकार गरिएपछि बिवाद साम्य हुन लागेको बताइएको छ ।

गजुरेलको नेतृत्वमा आन्दोलन

काठमाडौं, चैत ११ / एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ ।

माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार चैत १८ गतेबाट जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा २ सय ४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ गरिने छ भने २० गते विशेष भित्तेलेखन, २२ गते सबै संविधानसभा सदस्य–५९८ जनालाई जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा उभिन अपील गर्दै ज्ञापनपत्र बुझाउने र २४ गते सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्रिय प्रतिरोध दिवस मनाउने रहेको छ ।
यस्तै २७ गते सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने, २९ गते मसाल जुलुस निकाल्ने र ३० गते संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । माओवादी सचिव सीपी गजुरेल संयोजक रहेको राष्ट्रिय जनआन्दोलन समितिमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नागरिक पार्टी लगायतका दल सम्वद्ध छन् ।

दुर्घटनामा मृत्यु

सुरुङ्गा, चैत ११ /पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुरुङ्गा–२ मा मे.१ प १४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोरङको टाँडी बस्ने ५२ वर्षीय किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा कन्काई अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यस्तै शुक्रबार धाईजन–६ स्थित मेचीराजमार्गमा भे.३प ३१७१ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय ९ वर्षीया रितु तामाङ घाइते भएकी छन् । उनको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीद्वारा ‘सेप’ अगुगमन

दमक, चैत ११ /दमकस्थित दमक बहुमुखी क्याम्पसमा सञ्चालित दोश्रो उच्च शिक्षा परियोजना–सेपको शुक्रबार उच्च सरकारी टोलीेले अनुगमन गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.भोलानाथ पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, शिक्षा मन्त्रालयका सचिव किशोर थापा लगायतको टोलीले परियोजनाका गतिविधिबारे अनुगमन गरेको हो । सो क्रममा टोलीले क्याम्पसको पुस्तकालय, प्रयोगशाला, बिभागीय कक्षाहरुको अनुगमन, परियोजनाका अवस्थाबारे जानकारी लिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सेप संयोजक राम थापाले परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । यस्तै सेप सचिवालय प्रमुख डिल्ली भट्टराईले श्रव्य–दृश्य सामाग्री मार्फत परियोजनाका उपलब्धीबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख सन्तकुमार भगतले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याम्पसको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाउन सन् २०१४ जनवरीसम्ममा सकिने गरी परियोजना सञ्चालित छ । क्याम्पसले परियोजना सञ्चालनपछि ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ प्रमाण पत्र पाइसकेको छ ।

१ सय ५३ बालबालिका द्वन्द्व प्रभावित

धनकुटा, चैत ११ / दशवर्षे सशस्त्र द्वन्द्वमा जिल्लामा १ सय ५३ जना बालबालिकाहरू प्रभावित भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । प्रभावित भएका बालबालिकाहरूमध्ये बाबुआमा गुमाएका र अपहरणमा परेकाको सख्या उल्लेख्य रहेको पाइएको छ ।
जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको धनकुटामा बालबालिकाको स्थिति प्रतिवेदन २०६८ मा सो कुरा उल्लेख छ । जिल्लाका ३५ गाविसमध्ये डाँडाबजार, पाख्रिबास, मुढेबास, कुरुलेतेनुपा, बुढीमोरङ, चानुवा, फाक्सिव र ताङ्खुवा गाविसमा द्वन्द्व प्रभावित बालबालिका रहेका छैनन् भने सबैभन्दा बढी मुगा गाविसमा २४ जना बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिल्लामा ९२ जना बालबालिकाहरू जोखिममा रहेका छन् । जोखिममा परेकाहरूमा अभिभावक तथा सहयोगी भएतापनि आर्थिक, सामाजिक र अन्य कारणबाट जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा रहेका बालबालिकाहरूमध्ये कुल ४ हजार ६ सय ५३ जनाको जन्मदर्ता गराएको पाइएको छ । यसमध्ये बालक २ हजार ५ सय १२ जना र बालिका २ हजार १ सय ४१ जना रहेका छन् । बालकको तुलनामा बालिकाहरूको जन्मदर्ता कम मात्रामा गरिएको पाइएको छ ।
जिल्लामा अपाङ्गता भएका बालबालिकाहरूको संख्या पनि उल्लेख्य रुपमा रहेको पाइएको छ । स्वास्थ्यसम्बन्धी पर्याप्त मात्रामा जानकारी नभएका कारण अपाङ्गता भएका बालबालिकाहरूमध्ये बढी जन्मजात अपाङ्ग रहेको पाइएको छ । हाल जिल्लामा ४ सय ८६ जना अपाङ्ग बालबालिकाहरू रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको संरक्षणबाट बञ्चित गरिने छैन भनिएको भएपनि अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारमा नै विभेद्पूर्ण व्यवहार हुने गरेको जिल्ला बाल अधिकार अधिकृत हरि दाहालले बताए ।

अबैध हतियार बरामद

ईटहरी, चैत ११ /सुनसरीको सिमरीयास्थित एक घरबाट प्रहरीले शुक्रबार बिभिन्न हतियार बरामद गरेको छ ।
सिमरीया–८ का सुदान चन्द्रवंशीको घरबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले एक थान ग्क्ब् अटोमेटीक पेस्तोल, एकथान म्याग्जिन र कटुवा पेस्तोल एक थान तथा त्यसको ९ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सर्चका क्रममा सो घरबाट  खैरो रंगको धुलो पाउण्डर काजगमा वेरेको अवस्थामा ५० ग्राम, पहेलो रंगको धुलो
पाउडर १०० ग्राम, सेतो धुलो पाउडर ६० ग्राम, र  कानमा लगाउने सुनको २ थान टप, सुनको औठी २ थान तथा विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद व्यक्तिहरु बसोबास गर्ने गरेको सूचनाका आधारमा सर्च गरिए पनि ति व्यक्तिहरु फेला नपरेको जनाइएको छ । घर धनी चन्द्रवंशीलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँच जनालाई ह्वील चियर

दमक, चैत ११ /लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले शुक्रबार पाँच जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ ।
दमकस्थित होटल गेटवेमा आयोजित कार्यक्रममा तोपागछीका डिल्लीप्रसाद
खतिवडा, देवीप्रसाद चापागाँई, अर्जुन काफ्ले, निरकुमार श्रेष्ठ र सन्दिप श्रेष्ठलाई ति ह्वील चियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी प्रमुख अतिथि रहेका थिए ।
सचिव नेत्र चौलागाँईले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, पदम क्षेत्री लगायतले बोलेका थिए । यस अघि क्लबले २ जनाको मोतिया बिन्दूको निःशुल्क शल्यक्रिया तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

जग्गा नक्सा पास हुन छाड्यो

ताप्लेजुङ, चैत ११ /जिल्ला नापीकार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन छोडेका छन । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल  सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिए ।
एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनुपर्ने हुँदा आउन केही दिन समय लाग्ने बताइएको छ । बुधबारदेखि यस्तो समस्या खेपीरहेका सर्वसाधारणले  नक्सा पाउन अझै केही दिन पर्खनुपर्ने  प्रधानले  जानकारी दिए । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको नक्सा लिन  आउने गरेका छन् ।

खुल्ला कविता प्रतियोगिता

केर्खा, चैत ११ /झापाको धरमपुरमा रहेको नवरङ्ग साहित्य प्रतिष्ठानले शुक्रबार तोपगाछीमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । दिवंगत साहित्यकार एवम् कार्यसमिति तत्कालिन सदस्य “पुनम सुब्बा”को स्मृतिमा कार्यक्रम गरिएको हो । प्रतियोगितामा विजय दंगाल प्रथम, कविता पौड्याल दोश्रो र नवराज दाहाल तृतीय भएका थिए ।
सुब्बाको स्मृतिमा प्रत्येक वर्ष खुल्ला कविता प्रतियोगितामा १० हजारको प्रारम्भिक अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोषलाई ५० हजार रुपैयाँको बनाउने जनाइएको छ । कार्यक्रममा साहित्यकारहरु सेलिङ्ग केसी, राजकुमार अनिश्चित, अशोक बस्नेत, प्रकाश बुढाथोकी, कैलाश थापामगर, उर्मिला तिम्सिना लगायतले रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अनिलदेव राईको सभापतित्वमा भएको कार्यक्रमा लोकगायक एल पी जोशी प्रमुखआतिथि रहेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र घिमिरेको सञ्चालनमा भएको कार्यक्रमको संयोजन एलपी दाहालले गरेका थिए । स्वागत मन्तव्य विष्णु निरौलाले व्यक्त गरेका थिए ।